[दामाेदर ढकाल “दीपक “]जब मानिस फुर्सदिलाे हुन्छ । मनमा विभिन्न तर्क वितर्क आउँछन् । त्यसैले जुन देशमा वेराेजगार धेरै छन् । त्यहाँ निश्चितरूपमा नेता धेरै छन् । याे हाम्राे देश नेता धेरै भएकाे देश । लकडाउनले म कतै नेता त बन्दिन् , मनमा भय उत्पन्न हुन्छ । जिन्दगीको यात्रा त कतै माेडिन्न याे लकडाउनले । म उदेश्य र लक्ष्य फेर्न चाहन्न । मेराे उदेश्य आफुलाई सधैं क्रियाशील राख्नु नै हाे ।
बिहानै उठें ।सिरक पट्याएँ, कसिङ्गर लगाएर स्नान गरें । त्यसपछि चिया पकाउनकाे लागि दूध किन्न पसलमा गएँ । फर्कदा तल्लाे फ्लाटमा बस्ने ड्राइभर भाइले बाेल्याे, ” दाइ अमेरिकामा एकैदिन २६०० मरे । नेपालकाे काभ्रे , गाेर्खा, धादिङ ,बागलुङ , काठमाडौं , पुर्व पश्चिम जताततै काेराेना भेटियो । अब के हुन्छ ?”
” केही हुन्न, चुपचाप बस्ने खाने । आयुकाे छाेरालाइ वायुले लाँदैन ।” मैले जवाफ दिएँ ।
” दाइ जिन्दगीको कुरा हाे । ठट्टा नगर्नु न ।” उसले बाेल्दै गर्दा घरबेटी अंकल आइपुगे । “यत्रो घरमा बस्ने काेही छैनन् , दुई जना छाै, जाउलाे खाने भए काेठा काेठामा खाओ। ढिडाे खाने भए म कहाँ आओ ।” उनले हाँक दिँदै बाेले ।
” म चाहिँ आउदिन अंकल, बेलुकाकै भात बाँकी छ त्यहीँ खाने । ” ड्राइभर भाइले बाेल्याे ।
” म पनि आज जाउलै खान्छु अंकल , साग बिग्रन्छ मेराे ।” मैले बाेले ।
” अब बाँचिएला मरिएला केटा हाे । धन्न मेराेमा दुईजना तिमीहरू र म गएर तीन जना मान्छे छाैं । कसैलाई केही हुँदा घाटमा लाने मान्छे त छाै । पल्लाे घरमा विचरी घरवेटी आमै एक्लै छिन् ।भाडामा बस्ने सबै गए । अत्यास लाग्यौं भन्छिन् बुढी माउ ।” अंकलले बाेले ।
” काेराेनामा चाेर , डाका लाग्दैनन्, ढुक्कसँग बाहिर ननिस्कीकन खाने बस्ने नि, घ्युले डकारेर, दुधले कुल्ला गर्ने सम्पत्ति छँदैछ , के पीर भन्दिनु न ।” मैले बाेलें ।
” हेर केटा हाे , गाउँमा लास उठाउने मान्छे पाइँदैन भनेर पहिले समाचारमा पढियाे । अहिले सहरमा लास उठाउने मान्छेकाे अभाव छ । याे पनि समाचारमा पढ्न पाइन्छ ।” घरबेटी बा ले हाँस्दै बाेले ।
” कहिले सासूकाे पालाे, कहिले बुहारीकाे पालाे ।” मैले बताएँ ।
” अब चाहिँ एउटा सानाे घर धादिङमा गएर बनाउने हाे । जिन्दगीमा स्वदेश , विदेश सबै चाहारे तर आफ्ना आफन्त र इष्टमित्र भएकै जन्मभूमिमै मर्ने हाे ।” घरवेटी अंकलले बाेले ।
” म पनि काभ्रेमा बनाउछु । बाँझिएर बसेकाे छ जग्गा ।” ड्राइभर भाइले बाेल्याे ।
” तपाईंहरू घर बनाउने याेजना बनाउँदै गर्नुस् , म चिया बनाउँछु पहिले ।” यति भनेर म काेठामा छिरें ।
लकडाउनले सबैलाई गाउँघर सम्झाइदिएकाे छ ।
एउटा भाइरसले संसार हल्लाइदिएकाे छ । जनयुद्धले सहर राेजे मान्छेले सुरक्षाका लागि । सुरक्षाकर्मी र हतियार कमजोर भए, भाइरस शक्तिशाली बन्याे । स्वास्थ्यकाे लागि ठूला ठूला अस्पताल भएकाे सहरमा मान्छेहरू धेरै बाचिन्छ भनेर सहर छिरे । देश, विदेश जहाँ पनि कामलाग्ने भनेर अंग्रेजी माध्यमका महंगो विद्यालयमा सन्तान पढाउन सहर छिरे मान्छे । तर लकडाउनले याे प्रष्ट पारिदियाे , सबैभन्दा ठूलाे सुरक्षा अनुशासनमा रहेर बस्नु, सबैभन्दा ठूलो अस्पताल एकान्त बसेर राेगै लाग्न नदिनु , सबैभन्दा ठूलो शिक्षा संसारमा प्राकृतिक र दैवीक विपत्तिकाे सामना गर्नसक्नु । यी कुरा काेभिड १९ काेराेना भाइरसले पुष्टि गरिदियो ।
यतिबेला विदेश गएकाले देश सम्झिए । पसलबाट किनेर खानेले ढिकुटी र भकारी सम्झिए । बारीको पाटाकाे साग सम्झिए । विदेशबाट फलफूल नआएपछि जामुना, काफल र एैसेलु सम्झिए । भाइरसकाे औषधी बनेकै छैन भन्दा गाउँघरकै वैद्य सम्झिए । वनका जराबुटा सम्झिए । लकडाउनले यी सबै कुरा काेठाभित्र बस्दा सम्झिए । हाेटेलकाे मिठाे मसिनाे हाेइन , गाउँकाे दाउरा बाल्ने चुलाे सम्झिए , ओदान सम्झिए । तारे हाेटेलकाे प्राकृतिक कक्षमा बसेर कविता लेख्ने धनाढ्य कविले वेदव्यास सम्झिए, कुटी सम्झिए, अाेडार सम्झिए । म त पि एच डी गरेकाे डा. हुँ भन्नेले अनुवाद गरेका विज्ञान कथा हाेइन, हजुरबाले भनेका भूतका कथा सम्झिए र तीनीहरूमा विज्ञान भेटे । समग्रमा भन्नुपर्दा आफ्नेपन भेटे । एकदिन कार्यालय नआउदा आफ्नाे कर्मचारीलाई दण्ड दिने उद्योगपति र व्यापारीले लामाे समय विदा भेटे तर कर्मचारीकाे उपस्थिति भेटेनन् । यसर्थ याे लकडाउनले जिन्दगीकाे अहँकार मात्र ताेडेन , धैर्यता र सहनशीलताकाे पाठ पनि पढायाे ।

अब केही साहित्यकारहरूका भनाइ समावेश गर्न चाहन्छु । उहाँहरूकाे विचारले अझ हामीलाई जिन्दगी र आफ्नाेपना बुझ्न सहयोगसिद्ध बन्ने छ ।

साहित्यकार एवं संस्कृतिविद् घनश्याम काेइराला लेख्नुहुन्छ ,” हाम्राे संस्कृति परम्पराबाट आएकाे हाे । हाम्रो संस्कृति धर्मसँग जाेडिएकाे छ । धर्म पूजा-आजासँग जाेडिएकाे छ । आजा- पूजा स्वच्छतासँग जाेडिएकाे छ । स्वच्छता प्रकृतिसँग जाेडिएकाे छ । प्रकृति मानव जीवनसँग जाेडिएकाे छ । प्रकृतिमा देवता छन् अर्थात् कल्याणकारी तत्व छ । हाम्रा धर्ममा ईश्वर छन् । ईश्वरका विषयमा अनेकौं मान्यता र अनेकौं धारणा छन् । ईश्वरकाे सारस्वरूपका विषयमा अनेकौं मतहरू छन् । यश विषयमा मत- मान्यता र धारणा बनाउने स्वतन्त्रता छ । ईश्वरको अस्तित्व का विषयमा द्वेत,अद्वैत ,द्वैताद्वैत, विशिष्टाद्वैत आदि मान्यता छन् । समग्रतामा ईश्वरमा सृष्टि ,स्थिति र लय अर्थात् बनाउने ,बचाउने र नष्ट गर्ने शक्ति छ । यसकाे माध्यम , विधि, प्रक्रिया फरक- फरक छन् । धर्ममा उपासना छ । उपासनाका विधि छन् । उपासनामा सिद्धि छ, सफलता छ । धर्ममा यज्ञ छन् । यज्ञ अनेक छन् । यज्ञमा कर्मशीलता छ । कर्मशीलतामा अन्तर्निभरता छ । अन्तर्निभरतामा जिम्मेवारी छन् । जिम्मेवारीकाे लागि कर्तव्य निर्धारित हुन्छ ।” हामीले माथीका पंक्तिलाई एकपटक अझ बुझ्ने प्रयास गराै । यसबाट हाम्राे जीवन पद्धति कसरी चलेको छ र जिन्दगी कसरी सफल बन्छ स्पष्ट हुन जान्छ । अब लमजुङमा बसेर साहित्य साधनामा अनवरत लाग्नु भएका, सुमधुर स्वरका धनी कवि श्री लक्ष्मीप्रसाद मिश्रकाे याे सवाइलाई हेराैं : “कर्कलाकाे पानी रैछ जिन्दगानी भनम् रित्तै आई रित्तै जाने प्रकृतिको नियम भष्टाचार , कमिसन त्याे धनकाे के काम बाँचुन्जेल बाडी खाउँ मरेपछि राम राम ! बाँचुन्जेल तेराे र मेराे, मरेपछि ढुङ्गाकाे चाैघेराे । आखिर हामी प्रकृतिमा पैदा भयौं र याे जिन्दगीलाई प्रकृतिमा बुझाएर जानै पर्छ । ब्यवहार चलाउन्जेल न हाे, तेराे र मेराे मरेपछि राम नाम सत्य हाे ।

यसैगरी एकान्तवासमा बसिरहँदा साहित्यकार आदरणीय गुरु वामदेम ओझा भन्नुहुन्छ ,” लकडाउनले एकातिर हरेकलाई असजिलो छ । राेग, भाेक र शाेक भए पनि एकान्तमा रहनु बाध्यता देखिन्छ । अर्को कुरा छाडा प्रवृत्ति हक्की खेल्ने , जिउराे चुस्नेहरूलाई सतर्कता हाेउ भन्ने शिक्षा दिएकाे छ । प्रकृतिसँग खेलवाड नगर भनी मानवलाई अल्टिमेटम दिएकाे छ ।”
वास्तवमा हामी प्रकृति विराेधी हुँदा नै याे अवस्था सिर्जना भएकाे कुरा यी तीनैजना साहित्यकारहरूकाे भनाइले पुष्टि गरेकाे छ ।
अझ हामी अगाडि बडाै , गीतकार, गायक एवं वरिष्ठ साहित्यकार नरबहादुर वि.सी. भन्नुहुन्छ ,” थुप्रैपटक त जेलमा बसिएकै हाे नि । तर एक्लै बस्थें , यसपटक त परिवारसँगै गृहजेलमा बस्न दिएकाेमा तत्कालीन सरकार भन्दा यसपालिको सरकारलाई धन्यवाद दिएर चित्त बुझाएकाे छु । आखिर जिन्दगी दुई दिने घामछाँया न हाे ।
समस्या आउँछन् जान्छन् । जसरी हुन्छ खुसी हुनुनै जीवनकाे सार हाे ।

यसै मेसाेमा आधुनिक साहित्य परिषद् का अध्यक्ष मुरलीप्रसाद ढकाल, ” शिखरनाथ कवि” भन्नुहुन्छ :-
” सृष्टिमा रैछ नासकै निम्ति जिवाणु रचना
नासकै निम्ति भाेजन हाे कि बाँचेर हाँसन्।”
कविजीले यदि भाेजनमा अनियमितता भयाे , जे पायो साेही खाएमा जिवाणुले आफैंलाई खान सक्छ । सात्विक भाेजन खाएर बाँचेर हाँस्नु नै बुद्धिमता हुन्छ भनेर सायद दर्शाउनु भएकाे हुनसक्छ ।

यसैगरी चलचित्र निर्माता, निर्देशक, प्रसिद्ध नायिका एवं लेखिका शुभेच्छा थापा भन्नुहुन्छ :-“अहिले आएर लाग्दैछ, जिन्दगी भगवानले दिनुभएको सुन्दर आत्मा हाे । हरेक दिन म, म भनेर हिँड्ने हामी आज आत्मा भन्न गर्व गरिरहेका छाैं । बल्ल पाे अदृश्य शक्तिको आभाष हुँदै छ र विश्वास पनि । नत्र त मै भनाउँदा ठूला ठूला वैज्ञानिकहरूकाे शक्ति पनि काम लागेन् । हिजाे हामी बाँच्नका लागि घर बाहिर जानुपर्थ्याे तर आज बाँच्न घर भित्र छाैं । जति हामीसँग छ , धेरै छ । अब याे शक्तिको आस्थामा विश्वास गराैं । म त पूर्णरूपमा अगाडि बडिसकेकी छु ।”
नायीका शुभेच्छा थापाले रङ्गिन दुनियाँ भन्दा प्राकृतिक जीवनशैली र हाम्रो परम्परागत नियम र आस्थालाई अगाडि बढाए मात्र मानव जीवनको कल्याण छ भन्दै आफ्नाे धारणा माथिल्ला पंक्ति मार्फत राख्नुहुन्छ ।

यसैगरी पूर्व शिक्षक एवं साहित्यकार वासुदेव ठकुरी भन्नुहुन्छ :-“जिन्दगी  – जिन्दगी एउटा यात्रा हो ।जिन्दगी एउटा विश्वास हो।जिन्दगी आशा र निराशाको दोभान हो।जिन्दगी भरोसाको स्तम्भ हो।जिन्दगी हार जीत हुने खेल हो।जिन्दगी खडेरी हो,जिन्दगी भेल हो।
जिन्दगी एउटा वरदान हो।जिन्दगी एउटा आभिशाप हो। जिन्दगी एउटा खाली पन्ना हो ।सबैभन्दा ठूलो कुरा जिन्दगी एउटा कला हो।जिन्दगीलाई बुझ्ने आफ्नो आफ्नो बुझाइ हेर्ने आफ्नो आफ्नो हेराइ सबैको फरक फरक होला! ऐलेकाे लक डाउन (बन्दाबन्दी)ले सबैलाई एउटा गतिलो शिक्षा दिएको हुनु पर्छ! आखिर जिन्दगी केही हैन !जिन्दगीको हिसाब किताब केही छैन! मात्रै मृत्युसँग लड्दै समय बिताउँने खेल रहेछ जिन्दगी! किन कि ऐले मान्छेलाई सबैभन्दा गाह्रो भइरहेको छ समय बिताउँन र मृत्युसँग लड्न! मेरो अनुभवमा कला र साहित्यसँग खेल्ने मान्छेलाई अलि सहज र सजिलो हुदोरहेछ समय बिताउँन!”
जिन्दगीका परिभाषाहरू दिँदै अन्तिममा सिर्जनामा मस्त हुने मान्छेकाे समय र समयसँगै जिन्दगी सहज बित्ने धारणा उहाँको छ ।

यसैगरी आजसम्म निस्केका महाकाब्य भन्दा ठूलाे बृहत् महाकाव्यकाे लेखनमा क्रियाशील तनहुँका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारी” आस्था अविचल मणि” लेख्नुहुन्छ :- ” जन्मेकाे पलबाट मर्नु अघिकाे उत्साह हाे जीवन सेवाको परिपन्च सन्च सजिलो उल्लास हाे जीवन याे नैवेद्ध कला समर्पित खुला साैंन्दर्य हाे जीवन सेवामा सुचिता प्रदर्शन हुने आराेग्य हाे जीवन ”

उहाँकाे जीवनकाे परिभाषाकाे कविता अंश हेर्दै अब हामी युवा लेखक आर.सि . अधिकारीकाे याे भनाइ हेराैं :- “बैशाख महिनाको त्यो वसन्त रितु चारैतिर हरियालीको सम्मोहन, खुलेको नीलो आकाश, आकाशको सौन्दर्य, बनजङलमा फुलिरहेका रङ्गीचङ्गी फूलको मीठो मादकता, आहा ! गाउँ घरतिर कति रमणीय छ यो मौसम त्यसैलाई सम्झिरहेको छु । विडम्बना प्रकृतिको यो मनोहारितालाई कोरिना भाइरसले सबै ती घुम्ने चाहनाको समय बदलिँदियो । चीनको वुहान प्रान्तबाट फैलिएको यो भाइरसले शक्तिशालीहरु देशहरु लाई घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकाइदिएको छ । विश्वका सात अरब मानिस घरभित्रै थुनिएका छन् ।” उहाँको निकै लामाे भनाइ यहाँ समावेश गर्न सकिन् तर पुस्तक लेखेर याे लकडाउनकाे सामना गरिरहनु भएका उहाँको आसय,” सुन्दरतालाई निहाल्न पनि प्रतिबन्ध छन् मान्छे । घर भित्रै सात अरब मानिस थुनिएका छन् ।” यात्रा हाे जिन्दगी भन्ने परिभाषा अहिले एकान्तवास हाे जिन्दगी भन्ने भएकाे छ।

अब चर्चित उपन्यासकार कमल डिभाेर्स पराजुलीका शब्दहरू हेराै:- ” भाेलिबादलाइ बिर्सिएर गर्न पर्ने काम तत्काल गर्न पर्दोरहेछ # कसैको प्रगतिलाई देखेर रिस डाह भन्दा पनि इमानदारीपुर्वक कमाएको सम्पत्तिमा रमाउन पर्छ । आखिर पैसा केहि रहेनछ । आफ्नो पौरखले गरेको उत्पादन छैन भने जतिनै पैसा भएपनी भोकमरीको सामना गर्न पर्ने रैछ । त्येसले पैसा भन्दा पनि कृषि उत्पादन महत्त्वपूर्ण हो भन्ने बुझायो । नोट : सर्वश्रेष्ठ प्राणी मानिस एक महिना आफ्नै घरभित्र बस्दा उकुसमुकुस भएर निस्सासिन्छ भने खुल्ला आकासमुनी रमाउने पक्षिँलाई बर्षौँसम्म पिंजडाभित्र थुन्दा के भयो होला । यति कुरा ज्ञान् पक्कै दिएको हुन पर्छ । ” यी माथि उल्लेख गरिएका साहित्यकारज्युहरूकाे भनाइ , मेराे, घरबेटी अंकलकाे र ड्राइभर भाइ बीचकाे संवाद सबैकाे सारमा बुझ्दा जिन्दगीलाई सहज बनाउने हाे भने :-

१, प्राकृतिक जीवनशैली अपनाउनु पर्ने
२, अँहंकार र मपाइत्वलाई त्याग्नु पर्ने
३, अनैतिक र अव्यावहारिक कार्य गर्न नहुने
४,आस्था र विश्वासलाई दर्विलाे बनाउनु पर्ने
५,हाम्रा चलिआएका संस्कृति र परम्परा विज्ञान हुन् भनेर पुष्टि गर्नुपर्ने
६, सिर्जनात्मक वा सिर्जनशील बन्नु पर्ने
७, पराेपकारकाे भाव जागृत हुनुपर्ने , लिदा भन्दा दिँदा खुसी बनी रमाएर बाँच्नु पर्ने ।

#अस्तु #

लेखक ढकाल चर्चित साहित्यकार एवम गौरी पब्लकेशनका अध्यक्ष हुनुहुन्छ ।

 

तपाईंको प्रतिकृया