माघ ११, काठमाडौं । ज्योति एकेडेमी नागार्जुन ४ सीतापाईलाले आफ्नो अठारौं अभिभावक दिवश एवम पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । हिजोे शनिवार विद्यालय प्रांगणमा एक बिशेष समारोहको आयोजना गरि सम्पन्न गरिएको उक्त कार्यक्रममा विद्यार्थी,अभिभावक,शिक्षक शिक्षिका एवम विभिन्न अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा प्रदेश सभा सदस्य माननिय केशव पोखरेलको उपस्थिती रहेको थियो । अन्य बिशेष अतिथिहरुमा नेपाली लोक संगित क्षेत्रका हस्तीहरु बरिष्ठ लोक दोहोरी गायिका बिमा कुमारी दुरा, लोक गायक तथा सर्जक इन्द्र जिसी, अहिलेका चर्चित लोक गायक सन्दिप न्यौपाने, लगायतको उपस्थिती रहेको थियो ।अतिथिहरुमा नागार्जुन नगरपालिकाका वडा सदस्य सुशिला नेपाल पौडेल,स्थानीय समाजसेवी गोकुल प्रसाद पौडेल,प्रल्हाद शाही ठकुरी, छिमेकी विद्यालयका प्रिन्सीपलहरु, विद्यालय व्यवस्थापन समिति सदस्य उमा आचार्य एवम लायन्स क्लव अफ स्वयम्भू टाउनका सदस्यहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम औपचारिक र अनौपचारिक दुई भागमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम स्कुल व्यवस्थापनबाट सञ्चालन गरिएको थियो भने अनौपचारिक कार्यक्रम बिद्यार्थी भाइ बहिनीहरुबाट सञ्चालन भएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयको शिक्षिका मन्जु थापाले गर्नु भएको थियो । अत्यन्तै सुमधुर आवाजकी धनी कार्यक्रम सञ्चालिकाले बीचबीचमा आफैले गीत समेत गाएर आमन्त्रित अतिथिगणहरुलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । औपचारिक कार्यक्रम अन्तर्गत प्रमुख अतिथि, विशेष अतिथि, विद्यालयका पिन्सीपल,अभिभावक र विद्यार्थी लगायतको मन्तव्य रहेको थियो । कार्यक्रममा स्कुल व्यवस्थापन समितिको तर्फबाट व्यवस्थापन समिति सदस्य मना पंगेनीबाट स्वागत मन्तव्य दिइएको थियो भने, शिक्षकको तर्फबाट रमेश पाण्डे,विद्यार्थीको तर्फबाट सुनयन पौडेल र अभिभावकको तर्फबाट अप्सरा कार्कीले मन्तव्य दिएका थिए ।

कार्यक्रममा बोल्दै बिभिन्न अतिथि वक्ताहरुले ज्योति एकेडेमीले नेपालको शैक्षिक क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए । साथै यस भेगमा ज्योति एकेडेमीले कमाएको ख्याति अझ बढ्दै जाओस भनेर शुभकामना दिएका थिए । अनौपचारिक कार्यक्रम अन्तर्गत गीत,नृत्य नाटक आदि समावेश थिए जसले कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा २ वटा नाटक प्रस्तुत गरिएको थियो दुवै नाटक ज्ञानवर्धक र नैतिक शिक्षा दिने खालका थिए । कार्यक्रममा आमन्त्रित लोक दोहोरी गायक गायिकाहरुको गीतले कार्यक्रमको रौनकता बढाएको थियो । बिमा कुमारी दुराका पुराना कालजयि गीत देखि सन्दिप न्यौपानेका भर्खरै चर्चामा रहेका ‘कहाँ गयौ जुरेली किन गाउँदैनौ ’ सम्मका गीतले स्टेज तताएको थियो । यी गीतहरु गाइरहंदा आमन्त्रित अतिथि देखि शिक्षक शिक्षिका एवम विद्यार्थी सबै नृत्यमा झुमिरहेका देखिन्थे ।

कार्यक्रममा कक्षा १ देखि कक्षा ९ सम्म बिभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै ज्योति स्कुलको भर्खरै सम्पन्न खेलकुद सप्ताहका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा खेलकुद र शैक्षिक पुरस्कारहरु प्रमुख अतिथि माननिय मन्त्रीज्यू र प्रदेश सभाका सांसदको हातबाट वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल गोविन्द पंगेनीले विद्यालयले यस शैक्षिक सत्रमा गरेका प्रगतिहरुको बारेमा बताउनुका साथै आगामी शैक्षिक सत्रका भावी योजना समेत प्रकाश पार्नु भएको थियो । अध्ययनका साथसाथै अतिरिक्त कृयाकलापको राम्रो व्यवस्था भएको यस विद्यालयले आफ्ना अतिरिक्त कृयाकलापलाई अझ बढी व्यवस्थित बनाउन आगामि शैक्षिक सत्रमा नेपाल आर्मींसंग समन्वय गरेर बिभिन्न खेलकुदका कार्यक्रम तय गर्न लागिएको प्रिन्सीपल पंगेनीले नेपाल खवर डेलीलाई बताउनु भयो ।

तपाईंको प्रतिकृया