मंसिर,२१ काठमाडौं । हातेमालो साहित्य संगमको अनुपम प्रस्तुतिको रुपमा रहेको शाव्दिक समारम्भको तेह्रौ श्रृंखला  आज भव्यताका साथ सम्पन्न भएको छ । यस अवसरमा आज काठमाडौंको डिल्लीरमण पुस्तकालयमा बिशेष रचनावाचन कार्यक्रम सम्पन गरिएको छ । जसमा अतिथि गजलकारका रुपमा गजलकार लक्ष्मण संगम र विशेष मुक्तक वाचनमा चर्चित मुक्तककार रुद्र अधिकारीले मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष एवम मुक्तककार सुनिल अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा डा. हेमनाथ पौडेलको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन गजलकार बिपीन मर्मले गर्नुभएको थियो ।

कार्यक्रममा दुई राउण्ड गरेर तीन तीन वटा गजल र पांच पांचवटा मुक्तक सुनाइएको थियो । कार्यक्रममा बिभिन्न अतिथि स्रष्टाहरुमध्येबाट तीस जना स्रस्टाले आ आफ्ना रचना कविता गजल र मुक्तक समेत वाचन गरेका थिए । हातेमालोको प्रत्येक महिनाको तेस्रो शनिवार हुने यो नियमित कार्यक्रम शाव्दिक समारम्भलाई थुप्रै साहित्यिक व्यक्तित्व एवम स्रष्टाहरुले रुचाउदै आएका छन् यस अर्थमा पनि यो कार्यक्रम एउटा उत्कृष्ट साहित्यिक कार्यक्रमको रुपमा अघि बढ्दै गएको प्रष्ट देख्न सकिन्छ । हातेमालोका आगामी कार्यक्रमहरुपनि यसरी नै भव्य र सव्य वन्दै जाउन हाम्रो तर्फबाट पनि हार्दिक शुभकामना ।

गजल

भनिरहन्छौ सांचो प्रेममा सफल हुने मन छ
यस्तो लाग्दैछ तिमीलाई पागल हुने मन छ

हरेक दिन लगाउछौ हरेक दिन पखाल्छौ
र पनि तिम्रै आंखाको गाजल हुने मन छ

यो जुनीमा छोड्नेहरु पनि छायामा बसुन
अर्को जुनीमा मलाई पिपल हुने मन छ

जुन होटेलको भुइ पुछ्ने काम गर्छौ तिमी
सधैंभर त्यहाकै भुइंको मार्वल हुने मन छ

गजलकार लक्ष्मण संगम

मुक्तक

आजकल सम्वन्ध पनि एक व्यापार भएको छ
फाईदा लिन जान्नेको सपना साकार भएको छ
मात्र अरुको अगाडी राम्रो छ भन्ने देखाउन
नचाहेर पनि गरिने एक करार भएको छ

आवाज गर्छन धेरै नबर्सिने बादलहरुले
बिज्ञापन गर्छन गुणस्तरमा कमशलहरुले
कविहरु पागल हुन्छन भन्ने त सुनेकै हो
तर म कवि हुं भन्न थालेछन पागलहरुले

आफैं पतन हुने सोच किन पाल्छ होला
मनमा भएको कपट कहिले फाल्छ होला
हरेक चिजमा भगवान देख्ने मान्छेले
मान्छेलाई मान्छे कहिले देख्न थाल्छ होला
मुक्तककार रुद्र अधिकारी

तपाईंको प्रतिकृया