मंसिर १४, काठमाडौं । विज्डम इङ्लिस एकेडेमीले आयोजना गरेको तृतीय विज्डम अन्तर विद्यालय वादविवाद प्रतियोगितामा सीतापाइलास्थित ज्योति एकेडेमीकी छात्रा रेजिना कुँवर प्रथम भएकी छिन् । उपत्यकाका विभिन्न १६ विद्यालयदेखि आएका ३२ प्रतिस्पर्धीहरूमध्येबाट रिब्स स्कूलकी सम्प्रदा अधिकारी द्वितीय, हार्टल्याण्ड स्कुलका विनोद गुरुङ तृतीय एवं वेस्ट प्वाइन्ट स्कुलकी एरिका जोशी सान्त्वना स्थान ओगट्न सफल भएका छन् ।

‘भविष्य निर्माणमा बुवाको भन्दा आमाको भूमिका बढी’ हुन्छ भन्ने विषयको पक्ष एवं विपक्षमा प्रतियोगी विद्यार्थीहरूले आआफ्ना तर्क वितर्क प्रस्तुत गरेका हुन् । विज्डम एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रमको निर्णायकमा साहित्यकार जितु खड्का एवं पाटन बहुमुखी क्याम्पसका सहप्राध्यापक अवतार सुवेदी हुनुहुन्थ्यो ।

पुरस्कार विजेता विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल शिवप्रसाद अधिकारी एवं अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारीले ट्रफी तथा प्रमाण पत्र प्रदान गर्नुभयो । विद्यार्थीहरूमा अन्तर्निहीत सृजनशीलतालाई प्रस्फुटन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउँदै प्रिन्सिपल अधिकारीले थप्नुभयो, ‘विद्यालयले यस किसिमका कार्यक्रमहरूलाई आगामी दिनमा निरन्तरता दिइरहनेछ ।’

प्रतियोगिता विज्डमको सभाहलमा शुक्रबार सम्पन्न भएको थियो भने सञ्चालन कार्यक्रम संयोजक बद्रीप्रसाद अधिकारी तथा विद्यार्थी भाइबहिनीहरूले गरेका थिए ।

तपाईंको प्रतिकृया