[जनार्जन पौडेल]मंसिर ५ काठमाडौं । सबथोक पाएर पनि केही नपाएजस्तो गर्छ,जिन्दगीले घरिघरि चित्त दुखाएजस्तो गर्छ,चाहेको भए सिङ्गै नदी पिउन सक्थ्यो बगरले,अरूको तिर्खा सम्झेर ओठ भिजाएजस्तो गर्छ ।

यी  गजलका शेरहरु गुञ्जिदा गत शनिवार काठमाडौको कुञ्ज थिएटरमा तालिको गड्गडाहटले भरिएको थियो । गीत गजल र शितलको १२ औ श्रृंखलाको रुपमा यस्ता थुप्रै गजल प्रस्तुत भएका थिए जसले उपस्थित सम्पूर्ण गजल प्रेमीहरुको ध्यान आकर्षण गर्न सकेको थियो । गीत,गजल र शीतलको बाह्रौं श्रृंखलामा गजलकारद्धय डा रुपक श्रेष्ठ र डा. निरज भट्टराई गुञ्जिएका छन् ।

गजलको क्षेत्रमा चर्चित र वरिष्ठ नाम हो शीतल कादम्बिनी । शितल कादम्बिनीले सुरु गरेको यो कार्यक्रम अहिले निकै नै लोकप्रिय बन्न पुगेको छ जसका कारण महिनौ देखि गजल प्रेमीहरु गीत, गजल र शीतललाई कुरेर बस्न थालिसकेका छन् । त्यसैले हिजोआज यो कार्यक्रममा सीट पाउन मुश्किल छ ।

पोखरामा जन्मेर बेलायतबाट विद्यावारिधि उपाधि प्राप्त गरेका शिक्षाविद् डा.रूपक श्रेष्ठ मुक्तक र गजल बाचनका साथै कविता लेख्नुका साथै चित्रकलामा समेत निपुण छन् ।  डा.रुपक श्रेष्ठका यसअघि बिगबेन र समय कविता संग्रह,पोख्तक मुक्तक संग्रह,बुट्टे किमोनो हाइकु संग्रह लगायत रुपक गिती एल्वम समेत प्रकाशनमा आइसकेका छन् । बिदेशी भूमिमा बसेर पनि नेपाली साहित्यमा निरन्तर लागिरहने कवि,गजलकार एवम मुक्तककार डा.रुपकका मुक्तक र गजलले गीत गजल र शीतलका दर्शकलाई निकै प्रभावित पारेको थियो ।

यस्तै अर्का वाचक कवि एवम गजलकार डा. निरज भट्टराई जो पेशाले एक दक्ष चिकित्सक पनि हुन जस्का गजलले कुञ्ज थिएटरमा आगो नै लगाएको थियो ।  युवा कवि एवम् गजलकार  भट्टराईले कहिले आगोजस्ता त कहिले पानीजस्ता गजल सुनाएर दर्शक श्रोताका दिल कहिले जलाए भने त कहिले निथ्रुक्क भिजाए । डा भट्टराईका ‘धुंवाको धागो’ , ‘तलास’ लगायतका कविता संग्रह प्रकाशित भइसकेका छन् । यसरी दुई डाक्टर गजलकारबीचको भीडन्त एकदमै रोमाञ्चक रहेको थियो । दुबैले मञ्चमा गजल , मुक्तक वाचन गरिरहंदा हलमा तालिको गडगडाहट फैलिएको थियो । दुबै गजलकारहरु आफूले गजललाई बुझ्ने स्रोता पाएको भन्दै खुशी समेत देखिन्थे ।

उक्त कार्यक्रममा नेपाली सांगितिका क्षेत्रको सुप्रसिद्ध गायिका रजिना रिमाललाई बिशेष सम्मान समर्पण गरिएको थियो । साथै कार्यक्रममा रेजिनाको स्वरमा उनका लोकप्रिय गीत समेत प्रस्तुत गर्नुभएको थियो ।

तपाईंको प्रतिकृया