कविता : जिउँदा शालिकहरू

भो ! नभन अबदेखि
तिमीहरूले मलाई
‘आमा भनेर’ !
कति जलाउँछौ यो मुटु,
कति दुखाउँछौ यो मन ?
मलाई थाहा छ
तिमीहरूसँग छैन यसको जवाफ !
मेरा छोराछोरी हुनै सक्दैनौ तिमीहरू
रमिते हौ तिमीहरू
मुकदर्शक हौ/कम्जोर पात्र हौ
दुश्मनका खातिर मार्ग प्रदायक हौ
तिमीहरू नालायक हौ !

म जलिरहें..
टुलुटुलु हेरिरह्यौ तिमीहरू
म च्यातिएँ/काटिएँ/भाँचिएँ म…
प्रतिवाद गरेनौ ! उल्टै अपवाद
बनेर निस्कियौ तिमीहरू !
हिजो तिलाठीमाथी लाठी बज्रियो
सुस्ताको सुस्केरा सुस्ताउन नपाउँदै
आज लिपु दुखेको छ
लिम्पिया दुखेकोछ अनि कालापानी दुखिरहँदा
चोट मैले खप्नुपर्छ
आज मेरो छातीमा दुश्मनले बुट बजार्दै गर्दा
तिमीहरू मौनता साँधीरहेछौ
आगनीमा उसले परेड खेल्दै गर्दा
तिमीहरू गोडा फाट सतर्क गरिरहेछौ…
धिक्कार छ मेरो कोखलाई
जस्ले यस्ता सन्तानलाई जन्मदियो !

हिजो उसले नङ्ग काट्यो
जाबो नङ्गै त हो भनेर चुप रह्यौ
अनि फेरि औंला काट्यो
जाबो औंलै त भनेर वास्तै गरेनौं
आज ऊ हातै काट्न उद्धत छ
भोलि मुटु हत्याउन सक्छ उस्ले
कलेजो फोक्सो हुँदै सिंगो शरिरमाथी
धावा बोल्न सक्छ उसले
तबसम्म पनि बोल्ने छैनौ तिमीहरू
कारण तिमीहरू जिउँदा शालिक हौ
जसको न मन हुन्छ न त मुटु नैं
हुन्छ त केवल ढुंगाको शरिर !

कति गौरवान्वित थिएँ म !
जतिबेला यही कोखमा
बलभद्र कुँवर, वीर अमर सिं थापा,
भक्ति थापाहरूले जन्म लिएथे
जसले आफ्नो प्राणको आहुती दिएर
नालापानीमा पानीसम्म नपिई
स्वाधीनताको रक्षा गरेथे
त्यसैले त आजसम्म पनि तिमीहरू
स्वाधीन छौ र भन्न पाएका छौ
साम्राज्य दुई हारे, हारेन शान हाम्रो…

तर आज…
छैनन् ती विभूतिहरू
छन् त केवल तिमीहरू जस्ता
नमीठा अनुभूतीहरू…
भो अब ढिलो गर्नु हुन्न तिमीहरूले
जाओ बलभद्रसँग आशिर्वाद मागेर आओ
उद्याओ खुकुरी अनि खुँडा…
छिनाल दुश्मनको गर्दन र परास्त गर तिन्लाई
जसरी किल्ला छोडेर भागेथे कप्तान किनलोकहरू
र गर रक्षा मेरो एक मुट्ठी धुकधुकी सासको !
जय आमा नेपाल ।

उत्तम विचार
लिखु-६; नुवाकोट

तपाईंको प्रतिकृया