कृति समीक्षा

“शून्य प्रहरको साक्षी” भित्र रमाउँदा
– अरुण नदी खत्री

कवि महेश पौड्यालको “शून्य प्रहरको साक्षी” नामक कवितासङ्ग्रह हालै प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र उनले लेखेका “कर्णाली”, “श्रमिकको कविता”, “सिसा, शीत र प्रिया”, “बोभ”m, “बच्चाको खेल”, “सम्राट र बच्चाहरू” लगायत विभिन्न शीर्षकका १०८ वटा कविताहरू समावेश गरिएका छन् ।
महेश पौड्याल लामो समयदेखि साहित्यका विविध विधामा कलम चलाइरहेका छन् । उपन्यास, कथा, कविता, समालोचना, समीक्षा, अनुवादजस्ता क्षेत्रमा उनको कलम चलेको देखिन्छ । कवि पौड्यालको यस कृतिभन्दा अगाडि “त्यसपछि फुलेन गोदावरी” नामक कथासङ्ग्रह निस्केको थियो ।


यस सङ्ग्रहभित्रको “कर्णाली” शीर्षकको पहिलो कवितामा “हिमाल भक्कान्निएपछि एउटा कर्णाली जन्मन्छ त्यस कर्णालीको कथा सहरमा बेचेर कोही विमान चढ्छ” भनिएको छ । “बच्चाको खेल भनेर नहियाऊ काजी तिमी नदी निकारमा सत्रपटक खेलेर पनि बिहेको खेल कुमार रहिरहन सक्छौं?” भन्ने प्रश्न “बच्चाको खेल” शीर्षकको कवितामा कविले लेखेका छन् । भन्छन्, “राजाले आदेश दिए— काजी ! यी केटाकेटीलाई चार भञ्ज्याङ् कटाइदेऊ यी विफर फैलाउन आएका हुन् ।” “सम्राट र बच्चाहरू” शीर्षकको कवितामा कविले कोरेका अंश हो यो । “रहस्य” शीर्षकको छोटो कवितामा उनी लेख्छन्ः
केही नबोलेर नै हिउँ
शून्यभित्रको महाआख्यान सुनाएर गयो
जवाफमा मसँग
मात्र चिच्याहट बाँकी थियो ।
सङ्ग्रहभित्र भएका कविताले पाँच–सात लाइनमा नै पूर्णता पाएका छन् । कविता लामा नै हुनुपर्छ भन्ने मान्यताका पछाडि दौडिनेहरूका लागि पौड्यालले यस सङ्ग्रहलाई प्रयोगका रूपमा उभ्याइदिएका छन् । त्यसो त नेपाली कविता लेखनमा छोटो कविता नलेखिएका होइनन् । तर, यसरी सङ्ग्रहसहित पाठकहरूको माझ आएको यो कृति नयाँ हो । कविता विधामा यस्ता छोटा कोरियन जेन शैलीका जस्ता लाग्ने दर्शनको टेको टेकेका कविता साँच्चै नै नयाँ खालका छन् ।
शासकहरू र जनताबीचको असमानताको खाडलको चित्रण कवितामा पौड्यालले सुन्दर ढङ्गले गरेका छन् । पौड्यालका कवितामा राज्यसम्म आफ्नो आवाज पु¥याउन असमानताको विरोध र सीमान्तकृतको आवाजको पक्षधरता बुलन्द रूपमा गरेको भेटिन्छ । हाम्रा पुर्खाले हाम्रो लागि जे सम्पत्ति छोडेर गएका थिए अफसोस हामी त्यो सम्पत्ति हाम्रा आगामी पुस्तालाई छोडेर जान असमर्थ छौँ । कविले यसरी चिन्ता व्यक्त गरेका छन्ः
सुनका प्वाँख लिएको आएको
बिहानी पनि
कालिमाको बर्खो ओढेर गयो आखिर
पर्ख
कथाको अन्तिम पाना बाँकी नै छ ।

घर झगडा परेपछि चोकमा तपिरहेका बर–पीपलबीच कविले पर्खाल लगाए । मुद्दा मिलेपछि कवि पौड्यालले पुनः पर्खाल भत्काएका छन् । नदी बगिरहँदा कविले वगरका ढुङ्गामा उनको नाम लेखेछन् र दाबी गरेछन् आफ्नोे अस्तित्व । यस्ता यस्ता विचार कवितामा अभिव्यक्त भएका छन् ।
कवितालेखन सर्वोच्च तहको सिर्जनकला हो । कवि स्थापित भइसकेपछि त्यो स्थापित हुने रहेछ नबद्लिने गरी । एउटा निश्चित ढाँचा शैली र फम्र्याटको पुनरावृत्ति मात्र पनि हुँदै जाने रहेछ । त्यो व्यक्ति–बिम्ब हो ।
महेशका कवितामा विद्रोह चेतना पनि भेटिन्छ । कतिपय कविता माया र प्रेम प्रसङ्ग वरिपरि घुमेका छन् । समकालीन विसङ्गतिमाथिको प्रहारलाई काव्यिक रूप र रङ दिएर पनि आफूले अनुभूत गरेका यथार्थलाई तर्कशक्तिले कवितामा प्रष्ट्याउने इमानदार प्रयास गरेकाले कतिपय पाठकले कवि पौड्यालका कविता आफ्नै भोगाइमा बोलेका अनुभव गर्नेछन् । मानव चेतना, विद्रोह, समसामयिकता पौड्यालका कवितामा पाइने विशेष गुण हुन् । पेचिला काव्यात्मक बिम्बमा नूतन प्रस्तावनाका लागि पृथक विचार व्यक्त गर्न कवि पौड्याल सदा क्रियाशील देखिन्छन् ।
कविता फुर्र्न, उम्रन, हुर्कन, ढकमक्क हुन, समय, परिवेश र विचारको मलजल गरेर अनेक जोहो गरिनुपर्छ । शब्द चयन, भाव गाम्भीर्यता र लय सबैको संयोजनमा मात्र सम्भव हुन्छ । कवि पौड्यालका कवितामा प्रसस्त समयचेत छ । समसामयिक ज्ञानको प्रचुरता छ । उनी जे देख्छन् त्यही कविता बनाएर लेख्छन् ।
शून्य प्रहर जीवन र प्रकृतिबीचको प्रहर हो । कुनै घटना घट्नुपूर्व अथवा पश्च समयबीचको भ्याकुम अर्थात् रिक्तता हो । यस सङ्ग्रहभित्रका अधिकांश कविता पूर्वीय शून्य अर्थात् रिक्तताको नजिक उभिएका छन् । रिक्ततापछिको सिर्जनामा पुगेर कविले विश्राम लिएका छन् । कविले मृत्यु, आँसु, प्रलय देखाइरहँदा प्रश्न उठ्न सक्छः के हामीसँग मृत्युु, आँसु, प्रलय, बेदनाबाहेक लेख्नको निम्ति केही छैन ? “शून्य प्रहरको साक्षी” भित्रका धेरैजसो कवितामा आँसु छचल्किएको छ । आँसु पोखिएको छ । कतै मुटु चर्किएर त कतै मौन बनेर ।

प्रकृतिले दिएको मुस्कानमाथि
अहमको ताल्चा झुण्ड्याएपछि
त्यसको निःशुल्क विनिमय गर्न सकेनौ हामीले मैदानमा
अनगिन्ती युद्ध लड्यौ युगौयुग
र अर्बौ मुस्कानहरूको बर्बर हत्या गरिसक्यौं ।

कवि पौड्यालका कवितामा हार्दिक सौन्दर्यको जेजति सघनता छ बौद्धिक सौन्दर्यको सघनताका दृष्टिले पनि ती त्यत्तिकै सबल छन् । मस्तिष्कले पढिने त्यस्ता कवितामा प्रायः दर्शन र विचारका विविध सन्दर्भहरू प्रयोग भएका छन् । वैदिक तथा पौराणिक मिथक, ऐतिहासिक मिथक र कतिपय नवनिर्मित बिम्बहरूको समेत प्रयोग भएका कविताहरूमा बौद्धिक पठनीयता बढी पाइनछ । यी कविताले स्व, अस्तित्व, जीवन, जगत, स्वतन्त्रता, इतिहासको पुनव्र्याख्या र विश्वबोधी चेतनालाई अभिव्यञ्जित गरेका छन् । यस्ता कवितामा बौद्धिक पक्ष सबल भए पनि तिनमा हार्दिक संवेदनाहरूको समेत अन्तर्घुलनको सौन्दर्यमा अभिबृद्धि भएको छ । नेपाली साहित्यमा यो कवितासङ्ग्रहले आफ्नै प्रकारको विशिष्ट योगदान पु¥याएको विश्वास गर्न सकिन्छ ।

पुस्तकः “शून्य प्रहरको साक्षी” (कवितासङ्ग्रह) सामाखुसी मार्ग,
कविः महेश पौड्याल काठमाडौं
प्रकाशकः शिखा बुक्स फोन नं. ४३५३५९४
प्रथम पटक प्रकाशितः फागुन, २०७५
मूल्यः रु.२००।–
पृष्ठः १३०

तपाईंको प्रतिकृया