पूर्ण वैद्य

बिहान पर्खनेहरु नै
जब रात भइदिन्छन्
मेरो क्षितिजको के लाग्छ !
मेरो आँखाको के अर्थ रहन्छ !
हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो ।

बारीमा पहरा दिने बारहरुले नै
जब काँक्रो चोरी सिध्याउँछन् त
मेरो श्रमको के लाग्छ !
मैले रोप्नुको अर्थ के रहन्छ !
हुन त, रोप्नु भन्नु नै भविष्य उमार्नु हो ।

भित्तामा लेखिराखेको मयूरले नै
जब सँगै झुड्याएको हिराको हार एकाएक निलिदिन्छ
यस अवस्थामा मेरो विश्वासको के लाग्छ !
मेरो अभिव्यक्तिको के अर्थ रहन्छ !
हुन त, अभिव्यक्ति भन्नु नै अन्तर सत्यको प्रकाशन हो !

यसरी बोल्ने समय पर्खन्दा पर्खन्दै
सान्त्वनाको निहुँमा मात्र अड्केको जिन्दगीमा
मौनताका शून्यहरु तह तह जमेर
जब बोल्ने मुखहरु नै ढुंगो भइदिन्छन्
कुटिल द्रोणाचार्यहरु सामु
मुख खसेका युधिष्ठिरहरुको बहिरा कानहरुभित्र
मेरो चिच्याहटको के लाग्छ !
मेरो मर्मान्त–सत्यहरुको के अर्थ रहन्छ !

यसरी, सबै अर्थ सम्हालेर पनि
अर्थहीन बन्छु म कयौंचोटि
सराप र आशीर्वादको अर्थ खोज्दाखोज्दै
पागलझैं हिँडेको राजा– मिडास हुँ म अहिले
सम्पूर्ण सराप–मुक्तिको लागि
विशुद्ध एक गाग्री पानीको लागि
र यहाँका प्रत्येक वस्तुको सही अर्थको लागि
प्रत्येक पाइलाको सही प्रयोगको लागि ।

तपाईंको प्रतिकृया