सीमा मिचिँदाका दुखाइहरू

मुक्तक -१

छिमेकीले सिमाना अतिक्रमण गरेको देखेर
गोर्खालीको अस्तित्वनै दाउमा परेको देखेर
मलाई अर्को भक्ति थापा बन्न रहर जाग्दै छ
सिमानामा गोली लागेर~ छोरा मरेको देखेर ।

 एस. पि. असफल
फेदिखोला, स्याङ्जा ।

मुक्तक – २

हाम्रो देशको सिमा मिच्दै, वर सर्छ मित्रराष्ट्र
बुद्ध पनि मेरो भन्दै, दावा गर्छ मित्रराष्ट्र
मित्रभाव र एउटा सच्चा, छिमेकीको नाता भूल्दै,
हाम्रो खुशी माथि किन, आँखा तर्छ मित्रराष्ट्र ।

निर्मल रमण पराजुली
काठमाण्डौ ।

मुक्तक -३

दुश्मनको शिर काटेको गनी पठाई दिनू
सङ्गै मातृभूमिको माटो खनी पठाई दिनू
देशको सीमाना लड्दा लड्दै मरेपछि
बा-आमालाई बहादुर छोरो भनी पठाई दिनू ।

रमेश आचार्य
बर्दिया ।

मुक्तक -४

बोल्ने ठाउँमा बोलिदेऊ न सत्तामा बस्नेहरू
बस् !हसुर्न मात्र नसोचिदेऊ न भत्तामा बस्नेहरू
लिपु, सुस्ता, कालापानी,लिम्पियाधुरा लगिसक्यो
कि केही बोल कि ठाउँ छोड न बेपत्तामा बस्नेहरू।

जिविका अश्रु

मुक्तक -५

लगाइदेऊ आगो जिउँदैमा मलाई, डढ्न तयार छु
देशको निम्ति नहिच्किचाई अघि, बढ्न तयार छु
छिमेकीले सीमा मिच्दा,स्वाभिमानको गला थिच्दा,
गर्छु म विरोध परे बरू फाँसीमा, चढ्न तयार छु ।

मनिषा राई कार्की
नुवाकोट हाल : साइप्रस

मुक्तक -६

सोचेर भन्दै छ यो मन, चिलाएको जस्तो छ
देख्छु, आज भोलि झन, चिलाएको जस्तो छ
सधैँ मलाई हेपिरहँदा, मेरो सीमाना चेपिरहँदा
लाग्छ, छिमेकीको गर्धन, चिलाएको जस्तो छ।

अस्मित थापा
दोलखा ।

मुक्तक -७

लागौं हामी सबै बनाउन नेपाल आमालाई
पाइरहूँ छातीमा सजाउन नेपाल आमालाई
गिद्दे नजर लाउन थाल्यो छिमेकीले आज फेरि
जागौं उठौं अब बचाउन नेपाल आमालाई ।

 ईश्वर कुँवर “साफे”
धनगढी, कैलाली ।

मुक्तक -८

लुटेको होइन देशको भू-भाग दिएको हुनुपर्छ
भित्र-भित्रै षड्यन्त्र गरीकन बेचिएको हुनुपर्छ
गल्ती नभए विरोध गर्न सक्नुपर्छ सरकारले
होइन भने भारू मगाएर दारू पिएको हुनुपर्छ ।

प्रजित कुँवर
वायखोला, स्याङ्जा ।

मुक्तक -९

भारतीय विस्तारवादले ठाउँ ठाउँमा सीमा मिची रहँदा
सिमानाका नेपालीलाई बन्दुकको कुन्दाले थिची रहँदा
ए देशभक्त नेपालीहरू हो , किन रमिता मात्र हेरेर बस्छौं
अजिङ्गरले झैं सुस्ता कालापानी लिपुलेक घिची रहँदा ।

 धन प्रसाद पुन दीपशिखा
बागलुङ्ग ।

मुक्तक -१०

कुहिना ठेले अहंकारले, छेउछाउमा घच्चा लाग्छ
अरूका काँधमा चलिरहे, सुरक्षा आफ्नै कच्चा लाग्छ
सम्बन्ध सन्तुलित होस्, सब्लाई बाँड्ने प्रीत होस्
अस्तित्व संकट पार्ने नीति, कस्लाई कहाँ सच्चा लाग्छ ?

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

संकलन : गोम बिक्रम

तपाईंको प्रतिकृया