लघुकथा : छोराको जिज्ञासा

[ सुधिर कुमार सुमन]

“बाबा ! बाबा !! अनि के त्यो देविस्थानमा चढाको कालो पाठो सबै भौमानले भोग गर्ने हो ? हामी चाही के खाने नि ?”

निस्कनै लाग्दा छोरोको यस्तो प्रश्न सुनेपछि बाबाले छोरोलाई

“लो तँ पनि सँगै हिँड आफै हेर्लास् आज ।” भनेर साथमै लिएर हिँडे ।

पानीको मुहान । सानो पोखरी । पोखरीभन्दा अलि पर बनाइएको मन्दिर आकर्षक थियो ।साँच्चिकै देवता बास गर्ने स्वर्ग जस्तै थियो । शान्त मनोरम । पूजा आजा सकियो । काटमार सकियो । घर फर्कने बेलामा बाबाले पाठो बोरामा हाले । छोरोलाई झन खुल्दुली भयो । देउतीलाई दिन भनेर ल्याएको पाठो त बाबाले बोरामा पो हाले अब बाबालाई पनि पाप लाग्ने भो । देउती रिसाएपछि के के पो हुने हो ?
बेलुकी घरमा मासु पाक्यो । उसलाई मासु खानै मन लागेन । देउतीको भाग आफूले खाँदा आफूलाई पनि पाप लाग्ने हो कि भन्ने डर भयो । सधैँ मासु भनेपछि हुरुक्क हुने छोरो निदाउरो मुख लगाएर बसेको थियो । कतै दिउँसो वनमा लैजाँदा कुनै चीजको छाँया त परेन । घरका सबै आत्तिए ।
बेलुका सुत्ने बेलामा उस्ले बाबासँग सोध्यो ।

” बाबा! अनि देउती माईलाई त्यसरी बली चढाउन पर्छ भनेर कस्ले चलन चलायो होला है ? ती देउतीलाई चढाएको पाठो हामीले खाँदा हामीलाई कति पाप लाग्दो हो है ? देवताकै भाग खोसेर खाँदा त कति रिसाम्दी हुन है ?”

उता पिता चुपचाप थिए । उनीसँग कुनै प्रश्नको उत्तर नै थिएन ।

– गाउँशहर, लमजुङ्ग ।

तपाईंको प्रतिकृया