कविता : यादमा जलजला

म आँखा बन्द गरेर
लामो लामो श्वास तान्दै
प्रकृतिमै विलिन हुन खोजिरहेछु
जब जब पवनको चिसो सिरेटोका झोक्काहरूले
रेशमी कपाल फुरुरुरु पारिरहन्छ
अहो ! स्वर्ग पुगेको मीठो आभाष हुन्छ

शहिदहरूले आफ्नै
मुटु निचोरेर पाखै राताम्य
हुने गरी रङ्ग्याइ छोडेका ती गुराँस
र गुराँसको लाली पैँचो लिएर
रङ्गिन बनेकी यी प्रकृति
आहा! कति मनमोहक देखिएकी
अहो यी नयन लालायित पो भए त

सहिदका रगतका
बाछिट्टाहरू उछिट्टिएर
रगताम्य भै लतपतिएको
त्यो सिस्ने हिमालले
प्रभातमा मलाई
एकोहोरो चिहाइरहेको छ
आमा ……..
ऊ मेरो फुङ्ग उडेको मुहार देखेर
मलाई गिज्ज्याउँदै छ
र भन्दै छ
हे प्रिय सखी ……
तिमीभन्दा म निक्कै सुन्दर छु
हेर त मेरा वक्षमा लडिबुडी गर्दै
डाँफे कसरी नाँचिरहेका छन् ।

साँच्चै ……
सिस्नेले बिछ्याइएको
मखमली बुकी
र ती बुकीलाई मखमली तन्ना सम्झेर
मखमली तन्नामा
मुनाल लडिबुडी गर्दै रमेको
मृगले आफ्नै नाभीमा भएको
कस्तुरीको वासना पछ्याउँदै यताउता दौडेको
एकहुल भेडा च्याङ्ग्रा, चौरी र याकहरू
मखमली चौरमा एकआपसमा कानेखुसी गर्दै
कहिले झगडा गर्दै कहिले मिलेर चर्दै गरेका
र …..
बादलसँग सिस्ने लुकामारी खेलेको दृश्य
आहा !
कम्ता हेर्न लायक छ
जलजलाको काखमा बसेर

चखेवाका जोडीहरू
प्रकृतिको सुन्दरतामा मोहित भएर
घरीघरी हिमाल चुम्न खोज्दछन्
कताबाट आइदिन्छ हावाको झोक्काहरूले पछारी दिन्छ
र बर्षौ पुरानो दुश्मनी सुल्झाएर ।

मानुषी रेग्मी
घोराही उप-महानगरपालिका -५, दाङ ।

तपाईंको प्रतिकृया