कविता : नयाँ के बनायौ र हल्ला गरेको
छन्द :- भुजङ्गप्रयात

हिजो बार भाच्यौ र पाङ्ग्रा जलायौ
बिरामी चढेका सवारी ढलायौ
पुरानो बिगारी सुधार्ने भनेको
नयाँ के बनायौ र हल्ला गरेको।।१।।

थियो लाज मान्ने जमाना बिगार्‍यौ
फुकालेर टोपी जिमीमा लतार्‍यौ
ति नारा हराए सुगन्धै भरेको
नयाँ के बनायौ र हल्ला गरेको।।२।।

छ डाडा पुरानै कतै बास छैन
छ बाझो पखेरा र बाली हुदैन
ति वाचा सुनौलो विकासै छरेको
नयाँ के बनायौ र हल्ला गरेको।।३।।

छ बाटो पुरानो न राम्रो बनायौ
फुटायौ र द्यौता निराशा बढायौ
ठुलो पाप लाग्यो र आस्था ढलेको
नयाँ के बनायौ र हल्ला गरेको।।४।।

नदी पार लागे बिदेशी छ राजा
हिमालै हरायो छ प्रेमील बाजा
भयो देश टुक्रा ल बन्डा गरेभो
नयाँ के बनायौ र हल्ला गरेको।।५।।

कतै छैन पानी पधेरा हराए
निखारेर खोला कटेरा ठडाए
कथा के बतायौ हजारौं मरेको
नयाँ के बनायौ र हल्ला गरेको।।६।।

झुटो बोल तिम्रो हुने छैन साचो
गफैले लतार्‍यौ कतै छैन खाचो
बिरामी सधैनै अकाल्मै मरेको
नयाँ के बनायौ र हल्ला गरेको।।७।।

सकाएर पैसा सबै काम आधा
पचाएर लज्जा जहानै छ राजा
युवा हात मल्दै जहाजै चढेको
नयाँ के बनायौ र हल्ला गरेको।।८।।

पुरानो छ भान्छा पुरानै छ भान्छे
छहारी हरायो उदासी छ मान्छे
नयाँ खोल हाल्दै कहानी छरेको
नयाँ के बनायौ र हल्ला गरेको।।९।।

बगाएर रातो उडाएर सातो
फकाएर मान्छे समाएर साचो
जता जान्छ आफ्नै छ खल्ती भरेको
नयाँ के बनायौ र हल्ला गरेको।।१०।।

शम्भु गजुरेल
नुवाकोट

तपाईंको प्रतिकृया