आशिष दशैँको
(कविता)

साइकल छैन पैदल हिँड्छौँ गाउँका गोठाला
हिँडेर आउँदा दुख्ने थे भाई ती तिम्रा पैताला
सम्पन्न आफ्ना छानेर गयौ भ्याएनौ ठिकै भो
पाक्दैन मासु दशैँमा यता आएनौ ठिकै भो

नभन्नू मेरा दाईले सोर्छन् गाउँमा भकारो
इज्जत तिम्रो मेटिन्छ भाइ लाजको पसारो
कसैले सोधे नभन्नू दाइ छन् म एउटै छोरो हुँ
बद्नाम होला शहरमा तिम्रो दशैँमा नआऊ

आवेशमा आई अँगालो हाल्थेँ मैलिन्थ्यो तिम्रो कोट
पाइखाना यहाँ बाहिर हुन्छ चिप्लेर लाग्थ्यो चोट
आएको भए दुखेर जान्थ्यौ आएनौ ठिकै भो
लगायौ अन्तै निधार खाली राखेनौ ठिकै भो

तिमीलाई टीका लाइदिन भाइ मै आउनु पर्दथ्यो
त्यो स्वर्गबाट पोख्दैछन् होला बाआमा दुखेसो
गाउँकै झुप्रो रुँघेर बस्ने यो दोष मेरै हो
पठाएँ भाइ शहरमा मनले आशिष दशैँको ।

खगेन्द्र समरस
सुन्दरहरैँचा – २, मोरङ्ग
हाल दुबई, यूएई ।

तपाईंको प्रतिकृया