लघुकथा : सिद्ध बाबा 

[अवतार ढकाल]

आफ्नै गाउँमा महान विदेशी सिद्ध बाबाको आगमन हुने सन्देशले भक्तजनहरू खुसी थिए । उनीहरूको खुसीको कुनै सीमा थिएन् । आफ्नो जन्मभूमि गुरूका पाउ परेपछि पवित्र हुने कुरामा उनीहरू विश्वस्त थिए ।
बिहानैदेखि स्थानीय विद्यालयको चौर भरिन थालेको थियो । भक्तजनहरूका आँखाहरू घरीघरी आकाशतर्फ सोझिन्थे । ठाउँ ठाउँमा भजन किर्तनहरू चलिरहेका थिए । मानिसहरूका मुखमा उनै बाबाका चामत्कारिक कथाहरू झुण्डिरहेका थिए ।
करिव ११ बजेतिर हेलिकप्टरको चर्को आवाज सुनियो। भक्तहरूका आँखा आकाशतिर सोझिए । तल धर्तीमा शुरू भएको जयजयकारले हेलिकप्टरको चर्को स्वरलाई पनि खिचिदियो ।
केही समयपछि छुँदा पनि मयल लाग्ला जस्ता देखिने कलकलाउँदा परम सुन्दरीहरूले घेरिएका गुरूको पदार्पण भयो । जयजयकार बीच सबैबाट घेरिएका गुरु भब्य मञ्चको सबैभन्दा अग्लो आसनमा विराजमान भए । गलाको चम्किलो हार र हातका औंलाहरूका अनेक रत्न मिश्रित औंठीहरूले उनी धपक्क बलेका थिए ।
तत्कालै प्रवचन सुरू भयो । भौतिक उन्नति र विज्ञान प्रविधिको चर्को विरोध गरे गुरूले । भौतिक बस्तु र सम्पत्तिको कहिल्यै नमेटिने तिर्खा नै दुस्खको कारण भएको कुरा पुष्टि गरे । राम, कृष्ण, बुद्ध, महावीर आदिका पवित्र नामहरू उच्चारित भए । क्षणभरमै प्रवचनको तागतले भक्तजनमा बैराग्य प्राप्त भयो ।
गुरूको पवित्र मुखारबिन्दबाट भएको अलौकिक आह्वान अनुरूप खल्ती रित्याउने प्रतिष्पर्धा चल्यो । गहना खोलिए, औँठी, सिक्री, सुन, हिरा जस्ता तुच्छ बस्तुहरू भटाभट गुरूको कोमल चरणको शरणमा पुगेर शोभायमान भए र केही समयपछि आकर्षक बाकसमा कैद गरिए ।
अन्तमा फेरि पौराणिक चलचित्रका अप्सराजस्ता सुन्दरीहरूले घेरिएका गुरु विदावारी भए । हेलिप्याडसम्म भक्तहरूको जयजयकारले पच्छ्यायो । गुरु र सुन्दरीहरू चढेको अलौकिक हेलिकप्टर उडयो । जयगान गर्दै मास्तिर हेर्दै गरेका भक्तहरूका आँखाहरू धुलोले भरिए । उनीहरू आँखा चिम्लिएर जयगान गाइरहे ।
 महान सिद्ध बाबाकी : जय 

 

तपाईंको प्रतिकृया