[अधिवक्ता तारा शर्मा]समसामयिक विश्‍व प्रबिधिमय छ। समाज शिक्षा र सभ्यताले परिपूर्ण भए जस्तो भ्रामक लाग्छ।विश्‍वव्यापीकरणले संसार एउटा सानो घर जस्तो भएको छ।हामी घरमै बसेर संसार नियाली रहेका छौ, हामी एकान्तप्रिय भएका छौ, हामी आफनो खुशीलाई बढी प्राथमिकतामा राख्‍ने स्वतन्त्र जिवन यापन गर्न रुचाउने अत्यन्तै खुल्ला र निस्फिक्री तरिकाले बाच्न चाहने भएका छौ।

हाम्रा संवेदनाहरु कता-कता हराए जस्तो लाग्छ।हाम्रो नेपाली समाज केही समय अगाडिबाट अर्कै दिशातर्फ मोडिए जस्तो परिवर्तित अवस्थामा देखिएको छ।खास गरि हाम्रो समाजलाई बिश्‍लेषण गर्दा हामीकहाँ नारी र पुरुषलाई समान रुपले हेर्ने गरिएन ।यी मानबजातिमा पुरुषलाई हेर्ने नजरिया र महिलालाई हेर्ने नजरियामा अन्तर गरियो।अझै भन्ने हो भने मध्यकालीन नेपालमा महिलाको अवस्था अत्यन्तै नाजुक, दयनिय र पिडादायक भएको देखिन्छ।समाजमा संस्कार,रितिरिवाज र धर्मका नाममा महिलाका अधिकारहरुलाई कटौती मात्र गरिएन महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा हेर्ने गरियो।यसरी हाम्रो समाजमा महिला शिक्षा, वैवाहिक स्वतन्त्रता तथा आर्थिक स्वतन्त्रताका सबै क्षेत्रमा महिलालाई बन्देज गरियो।समाजमा महिलाहरु पुरुषहरुका निम्ति अत्यन्तै आदरका पात्र बन्नुपर्ने परिपाटीको विकासले पुरुष महिलाका भाग्य निर्माता बन्‍न पुगे।

अब हामी आधुनिक युगमा प्रवेश गरिसकेका छौ, संघिय लोकतान्त्रिक गणतन्त्रीय शासन व्यवस्थामा छौ हामी, नेपालको
अन्तराष्ट्रिय स्तरमा विकास हुँदै गएको द्बिपक्षीय र बहुपक्षीय सम्बन्‍धको बिस्तारसँगै महिला विकासका कार्यहरुप्रति जोड
दिन थालिएको छ।आधुनिक समयमा नेपालले महिला विरुद्बका प्रत्येक अन्तराष्ट्रिय महासन्‍धिहरुमा प्रतिवद्धता जनाएको छ।अगाडी बढ्नका लागि सबैभन्‍दा महत्वपूर्ण कुरा शिक्षा नै हो, शिक्षाको उज्यालो बाट नै महिलाको विकास सम्भव छ र शिक्षा नै मानव जीवनको अति महत्वपूर्ण पाटो भन्‍ने विषयमा अहिलेको आधुनिक युगले मात्र बुझेको होइन मानव सृष्टिको सुरुमै राज्य गर्ने प्रथम राज्यकर्ता मनुकी पत्‍नीले पुत्री कामनाका लागी गराएको यज्ञबाट समेत पुष्टि हुन्छ।स्वयम मनुकी पत्नीले यज्ञमा ऋषीहरुलाई यस प्रकारको मन्त्रोचारण गर्न अनुरोध गरेको कुरा ज्यादै महत्वपूर्ण छ।
तत्रस्रद्बा मनोपत्‍नी होत्तार समयाचत।
दुहित्रयर्थभूपाग्म्य प्रणीपत्य पर्यावृत्ता ।१।१।१४ भागवत
विद्या प्राप्त नगरेकी नारीले सुख प्राप्त गर्न सक्दैनन्।नारी र पुरुष पतिपत्नी हुँदा समान शिक्षा लिएको हुनुपर्छ किनभने नपढेको पुरुषले शिक्षित नारीसँग विवाह गरर्‍यो भने त्यसले पत्नीलाई दुख दिन्छ।त्यस्तै अशिक्षित नारी शिक्षित पुरुषले विवाह गर्‍यो भने पुरुषले पनि दुख पाउँछ भनी उल्लेखित मन्त्रमा व्यक्त गरिएबाट पनि महिला शिक्षाको ऐतिहासिक सन्दर्भ बुझन सकिन्छ।हाम्रो समाजले बनाइ दिएको नारी पुरुषको फराकिलो साँधलाई हामिले बराबरीमा ल्याउने जमर्को गर्दै गर्दा हामीमा कति सहमती र कति असहमतीले घर परिवारमा कस्तो खालको वातावरण पैदा भएका छन भन्‍ने कुराको मूल्याङ्कन सबैले गरिरहेकै अवस्था छ।

हुनत प्रत्येक व्यक्तिका आ-आफनै इच्छा, आकाक्षा र मूल्यमान्यता हुन्छन।यस्ता व्यतिगत मामिलाहरुमा कोही कसैले पनि हस्तक्षेप रुचाउदैन।हामीले एकले अर्कोलाई समान दृष्टिले हेर्न सकेनौ त्यसैले हामी विखण्डन तर्फ उन्मूख भयौ।हामीआफनो रुचि र भावनालाई अग्र पङ्गतिमा राख्न थाल्यौ अरुका भावना हामीलाइ अनृत लाग्न थाले ।हामीमा समान हेराई र बुझाईको कमी हुन गयो।सामान्य रुपमा बुझ्दा समानता भन्‍नाले व्यक्ति व्यक्ति बीच जातजाती, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय आदीको आधारमा विभेद नहुनु हो। विश्‍वका प्रजातान्त्रिक मुलुकका संविधानहरुले प्रदान गर्ने यस किसिमको अधिकारमा विभेद नहुनु हो।विश्‍वका प्रजातान्त्रिक मुलुकका संविधानहरुले प्रदान गर्ने यस किसिमको अधिकार संम्बन्धी धारणा युनानी सभ्यतासँगै शुरु भएको मानिन्‍छ।बेलायतमा Magnacarta 1215, Petition of right 1628, Bill of right 1689,Human right Act, 1998 आदि आदि दस्ताबेजहरुले समानताको अधिकारलाई समाविष्ट गर्दै आएको देखिन्‍छ भने अमेरिकाको इतिहासमा American Declaration of Independence 1776 र तत्पश्‍चात बनेको अमेरिकी संविधानको १४ औ संशोधनले समानताको अधिकारलाई अग्रपङक्तिमा राखेको देखिन्‍छ। हाम्रो देशमा नेपालको संविधान २०७२ को धारा १८ ले समानताको हकलाई प्रष्ट पारिदिएको छ।

हाल आएर महिला र पुरुष बिचमा परापूर्वकाल देखी जरो गाडेको असमानताको कठिलाई महिलाहरुले तोडने कोशिस गर्दै गर्दा र समानताको नारा लगाइरहदा हाम्रा समाजमा सम्बन्धका धाँगाहरु झै चुडिरहेको अनूभूति तपाई हामिले गरिरहेकै अवस्था छ। हामीले यस्ता असहज परिस्थितिलाई तथा असमानताका खाडलहरुलाई कुटनीतिक तबरले शान्त र संयमित तरिकाले सुल्झाउने तिर लाग्न नसके यसको दूरगामी असर कस्तो पर्ला सोच्नै पर्ने बेला आएको छ। समानता र बराबरीकै होडबाजीमा अदालतमा प्रत्येक दिन जसो सम्बन्ध विच्‍छेदका घटना दर्ता भइरहेको अवस्था छ ।समानताको दृष्ट्रिकोणलाई हामिले फराकिलो बनाएर हेर्नै पर्छ।समानताको दृष्ट्रिकोणमा हाम्रो धर्मशास्त्र पनि कति उदार थियो भन्‍ने तथ्य यहाँबाट प्रष्टै हुन्‍छ।
जन्मना जायते शुद्रस्
कर्मणा द्बिज उच्चयते

जन्मदा : अर्थात जन्मदा त सबै शुद्रकै रुपमा जन्मिएका हुन्छन, ब्रहामंत्व र क्षेत्रित्वका प्रतिभा र व्यवहार लिएर कोही आउदैन बिस्तारै उसले निर्वाह गर्ने आचरण व्यवहार र कर्मले यस कुरालाई निर्धारण गर्छ।चाहे जातिय विभेद होस चाहे महिला माथिको विभेद हामिले समयानूकुल यी समस्यालाई संबोधन गर्ने प्रत्यन गर्नैपर्छ ।सबै व्यक्तिलाई आफू जस्तै सम्झिएर समान भावले व्यवहार गर्नुपर्छ भन्‍ने वेदको यो चिन्तन मानवतावादी दृष्टिकोणबाट अगाडि बढेको छ।जसलाई आज मानवअधिकारको नामाकरण गरिएको छ।एकले अर्कोलाई हेर्ने दृष्टिकोण निर्मल र पवित्र हुनुनै उच्च मानवताको मर्म हो। यसलाई बिर्सनु हुदैन।वैज्ञानिक रुपले गलत, नैतिक रुपले निन्दनिय, सामाजिक रुपले अन्यायपूर्ण र खतरानाक हुने कार्य कसैले गर्ने गराउने नगरेमा नै परिवार र समाज अनुशासीत र मर्यादित हुने कुरामा शङ्का छैन।

तपाईंको प्रतिकृया