कविता : किसान

धनबीर काकाको हातमा ठेला उठ्नु भनेको
साधरण कुरो होइन,
उसको कुर्कुच्चा चर – चर चर्किनु पनि
खेलैंची कहाँ हो र ?

जब,
काकाको हातमा ठेला उठ्छ
बारीमा माटोको डल्लाहरू रसाएर
खेतको तालुमा अङ्कुर फुट्छ

जन्मिन्छ लह – लह अन्नका शाखा – सन्तान

काकाले,
हातका ठेलाहरूबाट छाला उधारेर
छोरीको अर्ध नग्न शरीर छोप्छन्

साहु कहाँ कुर्कुच्चाहरू बन्धक राखेर
भुण्टेलाई खाता – पेन्सिल जोगाड् गर्छन्
तब नै
रमाउँछ घरका भाल्टाङ्ग – भुल्टुङ्ग भगवानहरू

जब फुट्छ काकाको कुर्कुच्चाहरू
चुल्हामा आगोका अगुल्ठोहरू फुर्छ
र नै
काकीले कुनै प्रेमील भाकाका गीत गुन्गुनाउँदै
भान्छा – पात गर्छिन्
डाडु – पन्यू र भाँडा बजाउँदै

काकाले गरेको प्रगतिहरू सबैले देख्छन्
तर ,
पेट्मा टन्टनी कसेको पटुकी देख्ने कसले ?

काकाको पसिनाबाट उम्रेका
धान – कोदो र गहुँका बालाहरू
अनि मकैका घोगाले
प्रतिदिन ‘जय श्रम’ को नारा लगाउँछ

साग – सब्जी औ कन्दमुलहरूले
उन्नतिको भारी बोकेर
देशको आर्थिक समस्यामा थप बल पुर्याउँछ

लु हेर देशले नाक ठड्याको !

कैंयौ धनबीर काकाहरूको खुनले लेखिएको छ
यो देशको इतिहास
अनि पसिनाको घडेरीमा उभिएको छ
प्रगतिकाका मुल खुट्टीहरू

हातको ठेला र कुर्कुच्चाको तश्विरहरू
खिच्छ क्यामेरा मेनले
र भाइरल बनाउँछ
विश्वको हरेक बजारहरूमा

काकाको मोल खोई ???
तर पनि ,
काकाको ओंठको हाँसो कसैले थुत्न सक्दैन

हो ,
उसैको जीउको मैला बेचेर खान्छ
अनि मुख खुम्च्याउँछ
फाटेको कमिजहरू देखाएर
चुलो बाल्छ सालभरि

देशलाई प्रतिनिधित्व गर्छु भन्नेहरू……..

श्रमको ज्याला नउठेपछि
पसिनाको मोल सुकेपछि

बिचरा ,
उनको मनोबलले तल चिलाउनेको रूखनेर
बाध्यताको डोरीमा
चुप – चाप आत्महत्या गरिराख्छ

हो,
गर्लम्म लड्छ श्रमिकहरूको धरोहर
कहिल्यै नउठ्नेगरी….।।

निरूबिन्दु परियार
जल्ढक्का कालेबुङ्ग, भारत ।

तपाईंको प्रतिकृया