लघुकथा: अन्योल

[ लता के.सी.]

चुनाव नजिकिँदै थियो । एकतापुर गाउँबासीहरूले गोरे दाईलाई उठाउने कि काले भाईलाई ? भनेर एक मत बनाउँदै थिए । तर्क वितर्क भयो । गोरे सीधा र सरल थिए । काले छट्टू र बाठो थियो । कालेको चरित्र भोगीसकियो । आखिर उनीहरूले गोरेलाई नै बहुमतले विजयी बनाए ।

गोरे प्रसन्न मुद्रामा एउटा सभामा जोशका साथ भाषण छाँट्दै थियो । उसको भाषणले सबै प्रभावित भए।

केही महिनापश्चातको कुरो थियो । चोक र गल्लीहरूमा असन्तोष र निराशाहरू बर्षिदै थिए । एउटाले कुरा निकाल्यो – “होइन , यत्तिका दिन महिना बिते , गोरेको नाक मुख नै देखिदैन त ?” अर्काले जवाफ दिए- “अब ऊ त दौरा सुरुवालधारी नि त ! सहरमा त्यत्रो महल !”
अर्कोले थप्यो –
“खुब गोरे गोरे , भनेर उफ्रिन्थ्यौँ नि त ! लोप्पा ख्वायो नि हामीलाई !” अर्कोले आक्रोश पोख्यो।
” पुस्तौँ पुस्तौँलाई पुग्ने गरी कुम्ल्याइ हाल्यो । अब अाफैँलाई धिक्कारेर बसे त हो नि !” तेस्रो जङ्गियो।

उत्तिनै खेर गाउँमा माइकबाट ठूलो अावाज सुनिन थाल्यो । सबैले कान चनाखो पारेर सुन्दै थिए – “ भ्रष्टाचारको अभियोगमा गोरेलाई पक्राउ गरियो ।´´
गाउँलेहरू पुर्पुरो समाउँदै भन्दै थिए – ” अब आउने चुनावमा भोट कसलाई पो हालौँ हँ ?”

 

तपाईंको प्रतिकृया