नारीहरुको सक्रियतामा स्थापना भएको नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाले आईतबार एउटा अलग्गै साहित्यिक कार्यक्रम सम्पन गरेको छ । स्रष्टा र सिर्जना नाम दिइएको उक्त कार्यक्रम सम्भवत जिल्लामै पहिलो पटक आयोजना गरिएको आयोजकहरुको दाबी छ । कार्यक्रमबाट प्रतिष्ठानले आफ्नो पहिचानलाई नेपालभरि फैलाउने काम गरेको छ । पर्यटकीय नगरीको रुपमा चिनिदै आएको तानसेनमा भएको उक्त स्रष्टा र सिर्जना कार्यक्रममा विभिन्न जिल्लाका ६ जना साहित्यकारहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।

प्रतिष्ठानले साहित्य तथा संस्कृतिको संरक्षणका लागि श्रृंखलावद्ध रुपमा साहित्यकार तथा श्रष्टाहरुलाई छनौट गरी स्रष्टा र सिर्जना कार्यक्रमलाई अगाडि बढाउने प्रयास गरेको प्रतिष्ठानकी अध्यक्ष मन गहिरेले बताईन् । कार्यक्रममा पाल्पाली साहित्यकारहरु टंक पन्त, लक्षिमा ज्ञवाली, जनक कार्की,जानका नेपाल, काठमाडौंकी साहित्यकार,सुशीला ढकाल अधिकारी (श्री ) ,म्याग्दीका साहित्यकार लोकनाथ भूषाल ‘घायलश्री’ लगायतले देशप्रतिको चिन्ता, मानवीय संवेदना, जीवनका भोगाइ,ग्रामीण क्षेत्रको यर्थात् लगायतका विषयलाई सिर्जनामार्फत व्यक्त गरेका थिए । उनीहरु मध्यै धेरै जसोले देश छोडेर विदेसिनुपर्ने युवाहरूको कथा, आमाको ममता, प्रकृतिको सुन्दरता जस्ता विषयका रचना सुनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले स्रष्टा र सिर्जना जिल्लामै नौलो कार्यक्रम रहेको बताईन् । प्रतिष्ठानले साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै उनले आगामी दिनमा नगर सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा लुम्विनी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष सालिकराम पौड्याल, वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा लगायतले प्रतिष्ठानले आयोजना गरेको स्रष्टा र सिर्जना कार्यक्रमको प्रशंसा गरे । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गहिरेको अध्यक्षता, सदस्य सरिता रेग्मीको स्वागत, मञ्जु कोइराला र चेतना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईंको प्रतिकृया