१२असोज, काठमाडौ । गजल होस् या साहित्यको कुनै पनि पनि विधा, सुन्दर रुपमा लेखिएको रचनाले आम मानिसको जीवनको अनुभूति समेटिदिने गर्छ । ति अनुभूतिहरु कहिँ न कहिँ मानिसका जीवनसँग सामेल भइदिन्छन् । किनकी यही समाज हो जसले साहित्यका हरेक पाटाहरुको उजागर गरिदिन्छ अनि क्षमता हुने साहित्यकारहरुले तीनै पाटाहरुलाई गजल,गीत,कविता मार्फत यसरी उतारिदिन्छन् ।
जानेर वा नजानेर यी गजल लेखें
आफ्नै जीवनको धरातल लेखें ।

हर्ष ,वेदना ,चीत्कार ,द्वन्दभित्र
कसैका झुपडी र महल लेखें ।
यी गजलका सेरहरु गजलकार सरु बस्नेतको गजल संग्रह रोशनीबाट लिइएको हो । साहित्यलाई समाजको ऐना भन्ने गरिन्छ । साहित्यकारहरुले आफ्ना सृजनामा कतै समाजका यथार्थता लेख्छन, त कतै आफ्नै जीवनका कथा व्यथा लेख्ने गर्छन । गजलकार सरु बस्नेतले पनि रोशनी गजल संग्रहमा आफ्नै जीवनका तिता मिठा अनुभव र भोगाईका साथसाथै नेपाली समाजको यथार्थता समेत कोरेकी छिन् ।‘रोशनी’मा मात्र हैन उनले लेख्नै सबै गजलमा कतै झुपडीका वेदना, चित्कार पाइन्छन त कतै महलका सुख, सयलका खुशीहरु पाइन्छन् । उनकै शव्दमा भन्नुपर्दा, चाहे जानेर लेखिन वा नजानेर उनले आम नेपालीको जीवनको धरातलमा गजल लेखेकी छिन् । समग्रमा रोशनी ती तमाम जीवनदेखि हारेका संघर्षशील मानिसहरुको आशाको किरण हो जसमा जीवन ज्युने कला समेत पाइनुकासाथै थुप्रै होसियारी पनि पाइन्छ । उनको लेखनमा अँध्यारो जीवनमा रुमलिएकालाई रोशनी देखाउने त छँदैछ त्यसमा पनि झुपडी देखि महलसम्मका जिन्दगीहरुलाई सुख र दुख मानिसका जीवनका घाम छाया जस्तै हुन् जो आइरहन्छ र अनि गइरहन्छ भन्ने बडो चेतना मूलक लेखाइ पनि पाइन्छ । यस अर्थमा भन्न सकिन्छ कि जस्तोसुकै बिषय वस्तुलाई पनि गजलमा छोटो मिठो तरिकाले उतार्न सक्ने कलमी कालीगढ हुन सरु बस्नेत ।

खोटाङमा जन्मिएर काठमाडौमा हुर्किएकी सरुले बाराको निजगढलाई कर्मथलो बनाउँदै आएकी छन् । गजलकार सरुमा साहित्यको भोक बाल्यकाल देखि नै जागेको देखिन्छ । सानैदेखि साहित्यमा रुची राख्ने सरु असाध्यै अध्ययनशील र सृजनशील थिइन् । जसका कारण गजल लेख्न थालेको तीन बर्ष नपुग्दै नेपाली साहित्य भण्डारलाई एउटा उत्कृष्ट गजल संग्रह दिन सफल भइन । सानो उमेर देखिनै कथा,कविता ,गीत ,नाटक लेख्ने सरुले अध्ययन र आफ्नै घरायसी कामका कारण चाहेर पनि साहित्यमा उल्लेख्य समय दिन दिन सकेकी थिइनन् । उनी बिवाह पश्चात पनि केही समय श्रीमानसंगै दुबैमा बस्न बाध्य भइन् । तर पछिल्लो केही बर्ष यता उनी निरन्तर लेखनमा लागिरहेकी छिन् ।

उनी भन्छिन, ‘पहिला समय दिन नसकेपनि अव साहित्यलाई निरन्तरता दिन्छु ।’ आफूलाई शान्त वातावरणमा मात्र साहित्य कोर्नसक्ने बताउने सरु पछिल्लो समय भने गजल लेखनमा तल्लिन छिन् । केही समय अघि ‘साहित्यिक चौतारी नेपाल’ प्रदेश नं ३ को आयोजनामा एक विशेष कार्यक्रम गरि लोकार्पण गरिएको उनको ‘रोशनी’ गजल संग्रहले अहिले देश विदेशमा निकै नै चर्चा बटुलीरहेको छ । ‘रोशनी’ गजल संग्रहले नै उनलाई गजलकारको रुपमा चिनायो । अहिलेसम्म २०० जति गजल लेखकी सरुको रोशनी गजल संग्रहमा १०१ गजलहरु संकलित रहेका छन् । साहित्यका अन्य विधामा कलम चलाए पनि उनको विशेष अभिरुची भने गजलमै छ । गजल लेख्दा र बाचन गर्दा मनमा एक किसीमको छुट्टै आनन्दकोअनुभूति हुने बताउछिन उनी । ‘साहित्यमा लाग्नुको कारण पनि आत्मसन्तुष्टि नै हो, साहित्यमा लागेपछि मनमा बेग्लै आत्मसन्तुष्टि मिल्नेगर्छ त्यसैले आफ्नो पारिवारिक समयबाट बचेको पुरै समय साहित्यलाई नै दिने गर्छु । ’ उनी भन्छिन् । राम्रा गजल लेख्ने खुबी भएपनि साधारण स्वभावकी धनी सरु भन्छिन्, ‘म गजलकार भइसकेको छैन । भर्खर गजलमा कखरा सिक्दैछु ।’

सरु बस्नेत सुमधुर स्वरकी समेत धनी छिन, उनी गजल मात्र बाचन गर्दिनन गीत पनि गाउँछिन् । बिशेष त दोहोरीमा रुची राख्ने सरुको गजल संगको पहिलो परिचय पनि दोहोरीकै शिलशिलामा भएको हो । केही बर्षअघि निजगढका गजलकार रमेश रसिकले अनलाइन समुह नवज्योति साहित्य समाजमा दोहोरी गाउनका लागि आग्रह गरेपछि त्यही उनले गजल देखिन् र उनमा गजलको रुची बढ्यो । त्यसैपछि नै उनले गजल-मुक्तकको संरचना थाहा पाइन् र लेख्न समेत सुरु गरिन् । सुरुवाती दिन सम्झंदै सरु भन्छिन, ‘दुख गरेर बल्ल बल्ल गजल तयार गर्यो कसैले काफिया दोहोरिएको छ भन्ने, कोही काफिया नै मिलेन भनिदिने ।केही समय त मन नै मर्यो त्यसको केही समय पछि त्यहि समुहकै अर्का अखिल अनुराग सर हुनुहुन्थ्यो वहाँ बहरमा अब्बल गजल लेख्नुहुन्छ उहाँले मेरो फेसबुकको इनबक्समा आएर तपाइँका गजल भावपूर्ण छन, तपाइँ गजल लेख्न सक्नुहुन्छ भनेर मलाई काफिया ,रदिफबारे जानकारी दिनुभयो र म त्यसैअनुरूप अगाडि बढें ।’अखिल अनुरागको हौसला पाएपछि उनी गजल लेखनमा निखारिन थालिन् । सरु भन्छिन्, ‘गजलकार अनुरागको साथ नपाएको भए शायद मेरो गजल यात्रामा त्यतिखेरै पूर्ण्विराम लाग्थ्यो होला । मलाई बहरमा गजल लेख्न पनि उहाँले नै सिकाउनुभयो जतिबेला मलाई ह्रस्वदीर्घको समेत ज्ञान थिएन,वास्तवमा भन्नुपर्दा त्यतिखेर वहाँले मलाई शुन्यबाट गजल सिकाउनु भएको हो ।मैले जिवनमा गजल गुरुको रुपमा मान्नुपर्दा अखिल अनुराग सरलाई नै मान्छु र अहिले पनि जतिबेला गजल लेख्दा पनि वहाँलाइ सम्झनेगर्दछु् ।’

उनी बाराको निजगढ गएको केही महिना मात्र भयो । काठमाडौं बसाईमा थुप्रै साहित्यिक कार्यक्रममा जाने र साहित्यिक क्षेत्रमा सक्रिय रहेकी सरु अहिले काठमाडौको साहित्यिक माहोललाई मनैदेखि संझिरहन्छिन् । काठमाडौ बस्दा थुप्रै साहित्यकार गुरुहरू चिन्ने ,भेट्ने अवसर पाएकोमा गौरभान्वित छिन उनी । विशेषगरि छन्द र बहरमा लेख्न रुचाउने सरुले आफ्नो पहिलो गजल संग्रह रोशनीमा भने सबै खाले गजल समावेश गरेकी छिन् । महिला गजलकार भएको नाताले केही समस्या त परेको छैन नि भन्ने नेपाल खवर डेलीको जिज्ञासामा उनले भनिन, ‘महिला गजलकार हुनुपर्दा खासै त्यस्तो समस्या केही आएको छैन तर महिला भएकै कारणले पारिवारिक वन्धनमा बाधिएर कतै साहित्यिक माहोलमा उपस्थित हुन नपाउंदा चाहिं खल्लो लाग्दो रहेछ ।’उनलाई यस क्षेत्रमा परिबारका साथ समर्थन नमिलेको भने पक्कै हैन । उनी भन्छिन, ‘पहिलो गजल संग्रह रोशनी प्रकाशन गर्ने खर्च परिबारकै हो त्यतिखेर मेरो श्रीमानले नै मलाई हौसला दिए आफैंले लगानी गरेर त्यो गजल संग्रह निकालिदिनु भएको हो ।’ गजल भन्ने बितिक्कै नारी सौन्दर्यको बर्णनमा लेखिने बिषय भनिन्छ यसबारे के भन्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नको उत्तरमा सरु भन्छिन, ‘हुन त गजलको प्रारम्भ नारी सौन्दर्यको वर्णनबाटै भएको हो,यसलाई नकार्न सकिन्न तर आजभोलि जुनसुकै विषयमा पनि गजल लेख्न थालिएको छ त्यसैले म पनि यसलाई परिमार्जित गर्दै लानु पर्दछ भन्ने पक्षमा छु । जिन्दगीलाई कसरी बुझ्नु भएको छ भन्दा सरु भन्छिन, ‘जिन्दगीलाई म संघर्ष भन्न रुचाउँछु , अनेक वाधा अड्चनलाई हटाउँदै जीवन चलेको हुन्छ । हुनत जिन्दगीका बारेमा मानिसका आ आफ्नै किसिमका बिचारधारा हुन्छन सबैका भोगाइ पनि फरक फरक होलान, त्यसैले जिन्दगीको ठेट परिभाषा आजसम्म पनि कसैले दिन सकेका छैनन । मेरो दृष्टिकोणमा चाहिं जिन्दगी एउटा संघर्ष हो जसले हामीलाई बाँच्न सिकाउँछ, संघर्षका कारण नै जिन्दगीका पलहरु अविस्मरणीय बन्न जान्छन् ।’

पछिल्लो समय रोशनी गजल संग्रहको राम्रो प्रतिक्रियाहरु आइरहेका छन जसबाट उनी खुशी देखिन्छिन । सबैले गजल राम्रै बनेको छ , दोषमुक्त छन, काफिया रदिफको तालमेल राम्रो मिलाउनुभएको छ भन्दा उनलाई थप आनन्दको महशुष हुने गर्दछ । त्यसैको फलस्वरुप केही समय पश्चात कविता संग्रह निकाल्ने तयारीमा जुटेकी छिन उनी । साहित्यमा पनि हिजोआज गजल पारखीहरु दिन प्रतिदिन बढ्दै गएका छन् । जसमा पनि युवापुस्ताको गजल लेखनमा आकर्षण नगन्य छ । गजल दिर्घकालिन हुन्न केही क्षणको लागि मात्र हो भन्ने कुरामा उनी सहमत छैनन गजलले बर्तमान समाजको इतिहास बोकेको हुँदा यो पक्कै कालजयी बन्नेछ । गजलको लहर आज भन्दा दिन प्रतिदिन बढ्ने छ पक्कै पनि यो विधा कालजयी बन्नेछ । पछिल्लो समय गजलमा मात्र सिमीत नभइ कवितामा समेत उतिकै तल्लिन छिन सरु बस्नेत । बिशेष छन्द कवितामा रुची राख्ने सरु छन्दमा पनि निकै मिठो गाउछिन । केही समय यता उनी बिभिन्न अनलाईन समुह एवम पत्रिकामा समेत लाईभ साहित्यिक कार्यक्रम एवम दोहोरी सञ्चालन गरिरहेकी छिन् । साथै उनी  साहित्यिक चौतारी नेपाल नामको साहित्य संस्थासंग आवद्ध रहेर साहित्यिक गतिविधीहरुमा भाग लिइरहेकी छिन् । उनको साहित्यिक एवम सांगितिक यात्रा सफल रहोस साहित्यमा यसरी नै निरन्तर कलम चलिरहोस नेपाल खवर डेलीको तर्फबाट पनि धेरै धेरै शुभ कामना ।
प्रस्तुति : जनार्जन पौडेल

तपाईंको प्रतिकृया