प्रयाश दुमि राई

साँझ धमिलो हुँदैछ । चमेराहरु झल्याक झुलुक देखिन्छन्, आगनमा । बाँसको भाटामा मकैको खोसेला बाँधेर केटाकेटी तिनै चमेरासँग जिस्किरहेका छन् । माहौल होहल्लामय छ । रामप्यारी दिदी धुँवाको मुस्लोभित्र रक्सिको पान फेर्दैछिन् । ‘‘एई ! रामप्यारी ।” मानसिंङ काका छाप्रोबाट डाक्छ ।आँखाको पिरो आँशु पुस्छीन् । आगो ठोस्छिन् । धुँवालेगर्दा बग्न लागेको नाकको पातलो सिगान मजेत्रोमा छ्याँ ! पारेर पोको पार्छिन् । लगत्तै तिनै मानसिंङको धोत्रे आवाज पुनः कानैमा ठोक्किन आइपुग्छ ।हस्याँङफस्याङ गर्दै धुवाँबाट बाहिर निक्लिएर खरो आवाजमा भन्छीन्–‘‘व्यानदेखी बसेको । साँझ परिसक्यो । हैन कति खेल्न सकेको ?”‘‘एक बोतल भर्दे त ।” यसो भनेर मानसिंङ गुन्द्रिमा तासको एउटा पत्ति जोडले पछार्छन् ।बाहिर नासपातीको रुखभरी झ्याँउकिरी घन्किरहेको छ । तल पधेँरोमा भ्यागुता टर्रर–टर्रर गर्दै झरी डाकिरहेकोछ । करेलाको झाँङभित्र सिक्सिकेल किरा खटटट छ्याक्–छ्याक्–छ्याक् गरिरहेकैछ । यो किरा यस्तरी कराईरहन्छ रत केटाकेटीहरुलाई दशैँ आएको अनुभूती भएकोछ  ।

यत्तिनैबेला उनिहरु एक आपसमा कुरा गर्छन्–‘‘सिक्सिकेलले दशैँको लागी, नयाँ लुगा सिलाउदैछ !” आफैँ–आफैँमा बुरुक्क उफ्रन्छन् । मानौ, त्यो लुगा उनिहरुलेनै पाउँछन् जसरी ।दिउँसो परेको सिमसिमे झरीले फुल्दै गरेको कोदोको फुल रुझेको छ । कर्कलाको पातमा पानीको थोपा होशीयारकासाथ डल्लो परि बसेको छ । कुनखेर हो, एक झोक्का बतास आउनसाथ पुर्लुक्क भुइमा खसेर प्वाट्ट फुट्ने निश्चित छ । ‘‘कर्कलाको पानी हो मन्छेको चोला । कुनखेप स्वात्त पोखिन्छ पत्तै हुँदैना,” तासको पत्ति थुत्दै मानसिंङ बोल्छ, ‘‘खाई राखुङ, खेलिराखुङ न हगी ?”मानसिंङको कुरामा होमा हो गर्न विरे र जमाते दुबैले एकसाथ मुन्टो हल्लाउछँन् । यसो भनौँ, दुबैजना यसरी मुन्टो हल्लाउन मानसिंङकै भाषामाभन्दा ‘च्याम्पेन’ भैसकेका छन् । तातो–तातो तिनपानेलाई काकबाट बोतलमा घटट पार्दै भर्छिन् । बोतलको मुखमा खोयाको ठुटोले बिर्को मार्छिन् । “भ्यात्त !” लौजा ।आगनको बिचमा रामप्यारी उत्तानो ।बर्खे झरीले बसेको आगनको हरियो लेउमा जोगिदा–जोगिदै चिप्लिएर बर्बाद !आगनको हिलोमाथी उत्तानो परेको रामप्यारीलाई हेरेर तास खेल्ने खेलाडी र जितौरी थाप्न बसेका दर्शकहरु हुरुक्कै भैन्जेल हाँसेको हाँसोले टोलै थर्किन्छ ।

०००‘भुँभु भुँभु !’फोनमा बजेको भाइब्रेसनले तारा कुमारको ध्यान भङग हुन्छ । जब ऊ गाउँको सम्झनामा हराउन थाल्छ तब घरबाट आमाको फोन आउँछ । धेरै चोटि यस्तै भएको छ । सायद संयोग ? तर आमाले छोरालाई सम्झिरहँदा, आमालाई पनि संयोगवस छोराको फोन आएको घटना छ की छैन होला ? उ यस्तै सम्झदै फोन उठाउँछ ।सन्चो बिसन्चोको बात राम्ररी हुन नपाउँदै आमा भन्छिन्–‘‘बाबु ! दशैँ आयो । अब यतै आइजा अनि धेरै बात मारम्लानी है !”तारा कुमारलाई थाहा थियो । दशैँ आएको कुरा सुनाउन आमाको फोन आजभोलीनै आउँछ ।‘‘एउटा कुरा भनुँ आमा ?”‘‘मैले बुझिसकेँ । तँ पिर नमान । खर्चबर्चको जोहो गरिसकेकी छु ।”तारा कुमारको गला अबरुद्द हुन्छ ।

घाँटिमा एक पोको केही थोक आएर अल्झे झै लाग्छ । आँखा पिरो भएर आउँछ । तर बल गरेर बल्लतल्ल भासिएको स्वरमा भन्छ–“त्यस्तो हैन के आमा…!”बिचमै रोकेर–¬“आफै कमाएर आफै पढिराको छस् । तँबाट मैले आश राख्न पनि मिल्दैन बाबु ! । क्यै लिएर आउनु पर्दैन रित्तै आउनु । तर जसरी पनि मुख देखाउन आ है बाबु !”आमाको चाउरी परेको गालामा शितको थोपा जस्तो आँशुको ढिका देखिन्छ । मजेत्रोले आँशु सुटुक्क पुस्छिन् ।‘‘मन नदुखाउ है आमा ! यसपाल घर आउँदिन सोँचेकोछु ।”उस्ले आफ्नो मुटुलाई बेस्सरी थिचेर यत्ति भन्न मात्र के भ्याएको थियो । उस्को आँखाबाट भुलुलु तातो आँशु खसिहाल्यो । आँशुहरु सायद यस्तै पिडाको अबसर कुरेर बसेका हुँदाहुन् रत दुख्न नभ्याउँदै सम्ुन्द्र भएर बग्न थाल्छन् । जाबो अवसरवादी आँशुहरु ! जब कमजोर मुटु देख्छन् धार बनेर रेट्छन् ।छोराको आँटिलो कुरा सुनेर आमाको मन झ¥याम्म भएर फुट्छ ।

रामप्यारीको लुङ्गीभरी हिलै हिलो परेछ । उठ्छिन् । हाँसो रोकिएको छैन । लौ बोतल त झ¥याप्पै गएछ । अब भने सब चुप । बिस्तारै सुनिन्छ– च्वच्वच्व !अलिकति आगनतिर घाँटि तानेर बिरे बोल्छ¬–‘‘यई भाउजू ! बोतलै फुटेछ क्याहो ?”‘‘हैन, तिमेर्को चै आँखा फुट्या हो । झ्याँक्नेहरु !” रामप्यारी दिदि अघिको हाँसोप्रति रिस पोख्छन् ।‘‘रक्सिपनि फुट्यो कि ! बोतल मात्र हौ भाउजु ?’’ जमानेको प्रश्न ।हाहाहाहाऽऽऽऽऽ ! हाँसो फेरी उर्लिन्छ । करेलाझाँङ भित्रको झ्याँउकिरी नै चुप । धारे हात पार्दै रामप्यारी दिदि सिशाको टुक्राटाक्रि बटुल्छिन् ।

पर…भत्केको घरको गल्लिमा मान्छेको एक लहर जस्तो धमिलो देखिन्छ । साँझ छिप्पिसकेको छ । तासको खेलाडीहरु चनाखो बन्छन् । कोहो ति मान्छेहरु ? एकअर्काको आँखा जुध्न थाल्छन् ।ए तिनिहरु ? ताराकुमार, गोकुल, पुस्कर, प्रविण, जगत र सुनिल रहेछन् । गाउँको युवाहरु हुन् । सबैले थाहा पाए । ‘दुमी साँस्कृतिक युवा क्लव’को अध्यक्ष हुन् ताराकुमार । र अरु उस्को नजिकका साथीहरु । यीनीहरु पनि क्लवको कुनैन कुनै पदमा नियुक्त छन् नै । ‘‘कता बाट हौ अल्लारेहरु ?” यो प्रश्नको जवाफ–‘‘बैठक बसेर फर्किदै गरेको हौ ।’’ युवाहरुमध्ये एकजनाबाट आयो ।‘‘के विषयमा छलफ भएछ ? सुनुङत लु ।” मानसिंङ काका बल्ल बोले ।‘‘आज दुई कुरामा छलफ गरियो हौ सुबेदार काका ।” गोकुलले मानसिंङको नाक उठाइहाल्यो । मानसिंङ गाउँकै एकमात्र लाहुरे हुन् । इन्डियाको । सुबिदार पदमा पेन्सन पकाएका थिए ।

त्यसैले उसको पदबाट बोलाउँदा दङग पर्छन् उनी ।नाकको पोहँरा फुलाउदै भन्छन्–‘‘के–के विषय र’छ त्यो भन्ता सुनुङ !”‘‘दशैँ आयो । अब गाँउघर अनि गा.वि.स जाने बाटो पनि सरसफाई गरौँ भन्ने योजना पो गरियो ।” बुढोको अनुहार उज्यालो देखियो ।‘‘लु सरसफाइकै योजना हो भनेता, बहुत अच्छा भयो । अनि अर्को चै के र’छ ?”अब चै केटाहरु मुखामुख गर्न थाले । ‘‘केना बोल्दैना यीनारु ? एई तारे के कुरा हो भन्ता भन् ?’’ताराकुमारको कानको लोति तात्तिन्छ । उसलाई नाम बिगारेको कत्तिपनि मन पर्दैन । यसैपनि मानसिंङसँग उस्को ग्रह मिल्दैन । ताराकुमार अलि अर्कै स्वभावको केटो छ ।

न ऊ रक्सि जाँड खाँन्छ न तास नै खेल्छ । गाउँको विकास चाहान्छ । परम्परागत रुढीवादीलाई हटाउनेमा उस्को सँधै जोड रहन्छ । पोहोर साल त हो । तल्लो गाउँको दमाईलाई भित्र पस्न दियो भनेर मानसिंङले ताराकुरमारलाई समाजबाट एक्का बनाउन खोजेको । तर एक पटकलाई क्षमा भनेर उस्को घरमा सुनपानी र गहुँत छर्केर चोख्याएका थिए । मानसिंङसँग ताराकुमारको ग्रह त धेरै ठाँउ जुधेको छ । खानेपनी योजनामा,फड्के साँगो बनाउने मामिलामा, खेतको कुलोको बिषयमा । स्कुलको चर्पि बनाउने कुरादेदखी कत्ति हो कत्ति । ताराकुमार सबैलाई समान अधिकार चाहान्छन् । र गाउँको हरेक कुरामा सबैको हक खोज्छन् । मानसिंङ धन र मान प्रतिष्ठाको रवाफले एकदुई जनालाई आफ्नो बनाएको भरमा आफ्नो मत र आफ्नै विचारमात्र सहि हुनुपर्छ भन्ठान्छन् । ‘‘गाउँमा पिङ हाल्ने कुरा पनि भा’छ ।” ताराकुमार निर्धक्क भएर सुनाउँछ ।सबैको मुख आँ…हुन्छ । आँखाको आयतन बढ्छ । मानसिंङको अनुहारको रंग फुस्रो हुँदैजान्छ ।

मानसिंङ पिङको बिरोधी हुन् ।करिब पन्ध्र बर्ष अगाडि । गाउँमा दशैँको माहौलले छप्प छोप्छ । यसैगरी पिङ थापिन्छ । खेलिन्छ । एकदमै रमाईलो भएर दशैँ आउँछ । विडम्बना ! टिकाको अघिल्लो दिन–‘‘पिङबाट लडेर सुबिदार मानसिंङको छोरा सुरेन्द्रको ढाँडको चारवटा करङ भाँचियो रे !”यस्तो खबर गाउँभरी फैलिन्छ । सबैले जिब्रो टोक्दै ‘च्वच्व’ गर्छन् । यो खबर सेलाउन नपाउँदै  टिकाको बेलुकीसम्ममा फेरी अर्को समाचार फैलिन्छ–‘‘सुबिदारको छोरा सु्रेन्द्र रहेन । बचाउन सकिएन ।”त्यो बर्षको दशैँ दशा बनेर आयो र वरबोटेवासीलाई सोकमा डुबाएर गयो ।

त्यहि घटनाले मानसिंङको घरमा अध्याँरो छायो । एउटै छोरा थियो सुरेन्द्र । छोरा गुमाउनु पर्दाको पिडाले मानसिंङ एक पटक बहुला जस्तै बनेँ । फेरी केही बर्ष नबित्दै लाहुरेनी काकीको पनि छाला क्यान्सरबाट ग्रस्त भएर स्वर्गेवास भयो । अब मानसिंङ त्यो पहिलेको मानसिंङ रहेनन् । र कहिल्यै पुरानो मानसिंङ बन्न सकेनन् । ‘‘यो गाउँमा म ज्युँदो रहुन्जेल कसैले पिङ थाप्ने कुरा नगर !” मानसिंङ कड्किए । केटाहरु वाल्ल भएर अनुहारमा क्वार्रक्वार्ति हेर्न थाले ।‘‘पिङ थाप्नु नराम्रो कुरा हैन काका । तँपाईलाइ नराम्रो लाग्ला तर गाउँका सबंै केटाकेटी युवाहामी पिङ थाप्न चाहान्छौँ…!” ताराकुमारले यति मात्र के भन्दै थियो मानसिंङ चर्किहालें–‘‘एई तारे ! तँ बढी कुरा नगर् । उबेलामापनि तेरै बाउले हौस्याएर गाउँमा पिङ हालेन् । त्यही पिङले मेरो यो हालत भाको छ । तेरो बाउको बिँडा थाम्न खोच्छस् झेक्ने ?”‘‘मरिसकेको मेरो बाऊमाथी दोष नथुपार्नु काका ! मैले धेरै पटक भनिसकेकोछु ।” ताराकुमारले गाला रातो पार्दै भन्यो ।‘‘तेरै बाऊ हो ।

मेरो छोराको ज्यानमारा बुझिस् ?” मानसिंङले औँला ठडाएरै भन्यो ।ताराकुमारको पाउबाट शिरसम्म आगो बल्यो रिसको । तारा कुमार सानै थियो । उस्लाई अझै अलि–अलि झझल्को छ । सुबिदार घरमा आएर उस्को बुवा बलरामसँग निक्कैबेर उफ्रिएको थियो । सायद ऋणको विषयमा हुनुपर्छ । रहरमानको छोराको बिहेमा सुबेदारसँग बलरामको ठाकठुक पर्छ । त्यही रात सुबेदारको आँटबलमा जमाने र बिरे मिलेर बलरामलाई मरणसान्न हुनेगरी पिट्छन् । त्यही निहुँमा बलरामको छाति दुख्ने व्यथा सुरु भयो । व्यथा बल्झिएको एक बर्ष नपुग्दै एक साँझ उस्को छाति यसरी दुख्यो कि त्यही दुखाईले बलराको सास चुँडेर लग्यो । ताराकुमार यो सबै घटनाहरु भुल्न कसरी सकोस् ? आँखाभरी नाचिरहन्छ¬– त्यो झगडा,  बलराको छातिमा बजारिएको जमाने र बिरेको लात्ति,सुबेदारको हैकम, बुवाको मुखबाट बगेको रगत । सप्पै–सप्पै ।आमाले बुबाको दौरा सुरुवाल धुँदा बगेको रगतले पधेँरो राताम्मे भएको थियो । र आठ बर्षे आफ्नो कलिलो मुठ्ठी कसिलो पार्दै दाँत किटेर ताराकुमारले सोचेँको थियो–‘‘म ठुलो भएपछि मेरो बाउ कुट्नेहरुलाई यसैगरी गोद्छु !”

मानसिंङले आफ्नो बुवाप्रति त्यति ठुलो ज्यादती गरेर पनि अझै भन्दैछ, ‘‘तेरो बाउ मेरो छोराको ज्यानमारा हो ।’’‘‘पिङ त यस्पाली जसरी पनि थापिन्छ । क–कस्ले रोक्न आउँदो रै’छ हेरुँला मपनि ।” ताराकुमारले दारा किट्यो ।मानसिंङको आँखामा आगोको ज्वाला देखियो । तर ऊ बिस्फोट हुन सकेनँ । रिसले थर्रर काँपेर उभिरह्यो । ‘‘दुखसुख बाँडेर बाँच्ने हो, समाज भनेको । एउटाको पिडामा अर्कोले मलम बन्नेहो समाज भनेको । अनि समाज भनेको कुवा हो, चलाउन जाने सँङ्लो नजाने धमिलो ।” ताराकुमारले आज धेरैपछि खरो आवाजमा बोल्दै थियो ।‘‘हुनेखाने र हैकम चल्नेहरुको मात्र हैन यो गाउँ । यो माटोमा मेरो पनि अधिकार छ । गाउँको एउटा सुबेदारले हाँस्न बिस्र्यो भन्दैमा पुरा गाउँनै आँशुमा डुब्नुपर्छ भन्ने हुँदैन ।’’उस्ले हिड्ने बेलामा फेरी दोहो¥याएको थियो–‘‘बरबोटेमा यस्पाल पिङ मचिन्छ–मचिन्छ ।”

०००‘‘सन्तान भनेको तैँ छस् । बर्ष दिनको चाडमा पनि आउँदिन भन्छस् भने त झन म बुढीलाई न दशैँ न तिहार । एक गुजुल्ठो पर्र्छु, सुत्छु ।” सुँक्क–सुँक्क गर्दै आमा रुन्छिन् । ताराकुमारलाई यति बेला चरा जस्तै भुर्रर उडेर आमैछेऊ पुग्न रहर आउँछ । तर कति रहरहरु यस्ता हुदाँ रहेछन् जो मिठो कल्पना दिएर फुत्त विलिन हुन्छन् । ताराकुमारको मुटुभरि गाउँको मायाँ अथाह छ । उनको स्मृतिहरु गाउँको हर चिजका आकुति र रंगले भरिएका छन् । एक्ली बुढी आमाको मायाँ कति छ कति ? ऊ देखाउन सक्दैन । हुनत आमालाई गरिने मायाँ देखाउन मिल्ने दुनियाँमा त्यस्तो ठाउँ नै छैन । किन कि–आमालाई गरिने मायाँ– घामको उज्यालोभन्दा कयौँ गुणा बढी चम्किलो हुन्छ ।

 आमाप्रतिको प्रेम– सन्सारभरिको पहाडहरुभन्दा कयौँ गुणा ठुलो हुन्छ । आमालाई गरिने याद– आकाशभन्दा कयौँ गुणा फराकिलो र गहिरो हुन्छ ।ब्रह्माण्डको मम्पुर्ण ग्रहहरुभन्दा कयौँ गुणा बोझिल हुन्छन् आमालाई गरिने मायाँ । त्यसैले ताराकुमार आफ्नो आमाप्रतिको मायाँ सरक्क देखाउन असम्भव ठानिरहेको छ ।ताराकुमार सोँच्छ, केही प्रगती नगरी । एक दुई पैसा नकमाई । गाउँघर र बुवा–आमाको नजिक जानपनि मन गह्रौ हुँदो रहेछ । आँशु भरिएको आँखासँग रित्तो हातले आमाको ख्ट्टा छुन सानो मुटुको साहसले नपुग्दो रहेछ । भन्नत आमा भन्छिन् नि ! ‘‘तेरो ज्यानमा एक सरो कपडा मात्र लिएर आएस् !’ तर छिमेकी ? छिमेकीले यसो भन्दैनन् । पल्ल घरे साइली दिदिले त कति पटक यसोपनि भने होलान्,–‘‘काकी ! काठमाण्डौबाट तारे आउँदा तँपाइलाई नयाँ चोलो,साडि केके हो केके ल्याइदिन्छ होला है ?’’  आमाको मन कसैले बाहिरबाट जोडले ढोका ढक्कढक्याए जत्तिकै ढक्क गरेर दुख्दोहो । तर पनि चाउरि परेको गाला खुम्च्याउँदै मुसुक्क हाँसेर आमा भन्दिहुन् –‘‘रहर छैन साइली । बुढी भा’को ज्यानलाई साडी सुहाउन्न ।

जेपनि उमेर छँदै पो ! सुहाउँछ त !”ताराकुमारलाई समाज,छरछिमेक साथीभाई यो सबथोक कुनैदिन सबभन्दा प्यारो लाग्थ्यो । तर आज यीनैको अगाडी लुरुक्क परेर गाऊँ जान ऊभित्रको मनले सक्दो छेकिरहेको छ । किन ? कहिलेही समाजलाई ऊ खुब घृणा गर्छ । किन कि, उसलाई भन्दा बढी उस्को चाँसो समाजले लिइरहेको हुन्छ । के खायो ? के लायो ? के ग¥यो ? आदि इत्यादी…!राम्रो खायो । ठिक छ । राम्रो लायो । ‘आहा ! फलानाको छोरो !’ तर राम्रो लाएन । मिठो खाएन भने ? पक्कै तल्लो टोलको मान्छे समेत घरमै आएर सोध्दोहो–‘‘यसपाली त घरमा टिनको छानो हाल्छस् होला कि ? आमा धम्केको रोगी छ । उपचार गराउन शहर लान्छस् होला हैन ?” ताराकुमार यो सबथोक सम्झिन्छ । भित्तामा मुड्की बजार्छ । चुपचाप रुन्छ । मन त डाँको छोडेरै रुन खोज्दो होनी ? तर के गर्नु ? शहरमा घरहरु साह्रै नजिक हुन्छन् । धक खोलेर रुनपनि मौका कुर्नुपर्छ ।

०००आकाशै छोउँलाझै गरी हुर्केको चार घाना बाँस ढल्यो । खोलाको छङ्छङ आवाज जित्दै केटाहरु गित गाउँछन् । बाँसको टुप्पोमा घाँसको फुर्को बाँकी राखेर बाँकी सबै चिल्लोगरी तास्छन् । एकैनिमा कमिलाले गड्यौला घिसारे जसरी केटाहरु बाँसको घानो घिसार्दै गाउँ उक्लिन्छन् ।

आजै त हो फुलपाती । गाउँमा कोही कमेराले घर छ्याप्नमा व्यस्त देखिन्थे । कसैलाई सुङगुर,राँगा र भेडा ढाल्ने हतारो थियो । जस्तो होस् दशैँ धुमधाम भएर घर–घरमा पस्नेवालामा थियो । ‘ड्याम्म !’ चारचोटी उस्तै आवाज आयो । केटाहरुले खोलाबाट बाँस क्लवघरको फुटबल मैदानमा पु¥याएर पछार्न भ्याइसके । केटाकेटी र बाबियोको डोरी बाटिरहेका दुई तिन हुल ठिटिहरु चौरभरी छन् । उनिहरु रातो गाला टल्काउदै बढो चर्को–चर्को आवाजमा हाँस्दैं पनि थिए ।बाबियोको मोटो डोरी तयार भयो । पिङको लागी । बरबोटमा यसपाल पिङ झुण्डिने नै भयो ।

घरघरमा यो कुरा चाँसो बनेर पुगिसकेको थियो । दुई अढाइ घण्टामा पिङ सम्पुर्ण रुपमा तयार भयो । आहा ! केटाकेटीहरुको मन आकाशमा चङगा भएर उड्यो । पिङ हालेकोमा दुखी भएकाछन् जस्तो कोही देखिन्थेन । सुबेदार मानसिंङ,जमाने,बिरे र केही दुईचार जना बाहेक सबै खुशि नै थिए । जतिजना खुशी थिए पिङको उटद्घाटनमा उपस्थित थिए । भाले काटेर ध्वजा टाँगेर पिङ पुजा सकियो । पहिलो पटक कन्याहरुलाई राखेर पिङको उद्घाटन भयो । होहल्ला र खुशी मिसिएको तालीको आवाज आकाशभरी फैलियो ।

गाउँलेहरुको यो खुशी देखेर परेवा,काग र गौँथलीहरुपनि आकाशमा फन्फन घुम्दै नाचिरहेको थिए । ‘‘बल्ल दशैँ आए जस्तो भो !’’ एक अर्कामा गानगुन चलेको सुनिन्थ्यो । ताराकुमारको मुहार खुशीले धप्प बलेको थियो । धेरैले उस्लाई धन्यवाद पनि दिइरहेका थिए । दिनभर पिङले बिसाउन पाएन । बरबोटेको खुशी बोकेर पिङ आकाशतिर मच्चिरह्यो–मच्चिरह्यो । साँझसम्म ।‘‘ताराकुमार !’’बिहानको झिसमिसेमै कोही कराएको आवाजले ताराकुमारको बन्द आँखा खुले । गोकुले र जगते रहेछन् ।‘‘मान्छै मरेजस्तो किन कराको ?’’ आँखा मिच्दै भन्यो ।‘‘मान्छे मरेको हैन बहुलाको चै पक्कै हो । पिङ त…!” जगतेको मुखबाट अरु खस्न नपाउँदै ताराकुमारले आत्तिएर सोध्यो–‘‘पिङ ? के भो त पिङ ?’’‘‘कुनचैले रातिनै ढालेछ ।’’ ताराकुमारको टाउकोमा कसैले हम्मरले हिर्काएझै भयो ।बताससँग डौडिर चौरमा पुग्दा ताराकुमारले देख्यो–रित्तो आकाश, टुक्रा–टुक्रा भएर चौउरभरी यत्रतत्र छरिएको बाँस, एक–एक मिटर जत्तिको लम्बाइमा टुक्रिएको डोरी ।

ताराकुमारको मन उसैगरी चट–चट टुक्रियो । उस्को टाउको घुम्यो पैँयुको रुख घुम्यो क्रमशः पुरै जमिन फनन घुम्न थाल्यो । र ऊ थचक्क बस्यो । केही बोलेन ऊ । टुक्रिएको डोरी हातमा लियो र निक्कैबेर एक टकले हेरिरह्यो । र चुपचाप घरतर्फ पाइला बढायो ।त्यसपछि¬,निधारको टिका नझर्दै  । एक बिहानलाई लिएर बर डाँडाहुँदै शहर हिड्यो–ताराकुमार । बरडाँडामा उभिएर पुरै गाउँलाई एकपटक नियालेको थियो उस्ले । सबैभन्दा बढी गाउँको स्कुल हे¥यो । हेटमास्टरको घर हे¥यो । सुबिदार मानसिंङको बारदलीवाला घरपनि एकबेरसम्म हेर्न छुटाएन ।

 दुबोको चिसो शित टेक्दै अलि वर आइप्ुग्दा उस्ले अघि भर्खरको कुरा सम्झियो–‘‘पिर नगर । एक मुठि सास छउन्जेल बाँचिने चोला न हो ।’’ गुन्द्रुक, किनिमा, भटमासको फाँडो र खत्राङखुत्रुङ झोलामा कोच्दै आमा भन्दै थिइन्, ‘‘तँ एउटाले सोँचेर क्यै हुन्न । तेरो बाउपनि गाउँकोलागी केही गर्छु भन्दा भन्दै अस्तायो ।’’आमाको पाउमा घोप्टि पर्दा ताराकुमारको तातो आँशु तप्प खसेको थियो ।०००दुईतिन बर्ष नै बितेछ । ताराकुमारले अर्को साल आउँछु भनेको पनि । यसपाल त आमाले पत्याइनन् र त भन्दैछिन्–‘‘बाबु ! जसरी हुन्छ यो बर्ष त आएस् । धेरै बाँच्छु जस्तो लागेको छैन । मुख देखाउन भएपनि अउनु ।’’ताराकुमार सम्झन्छ¬– यो चाडपर्व काँडा बनेर किन घोच्न आउँछ ? हरथोकले बाटो बिराए जसरी यस्ले किन बाटो नबिराएको होला ? बिराएपनि हुने ।

घरबेटी बिहानै ढोकामा आएर खबर छोडेकोछ–‘‘दशैँ आयो । घरभाडा मिलाउनुपर्छ है ताराकुमार ।’’ सबैलाई दशैको बाहाना छ । ताराकुमारकोलागी त्यस्तो कुनै बाहाना नंै छैन ताकी उस्ले यो बाहानाहरुलाई सजिलंैं चिर्नं सकोस् । आत्माहत्या गरेझै भित्तामा झुण्डिएको क्यालेण्डर हेर्छ– फुलपाती पर्सिं । लामो सुस्केरा हाल्न के भ्याएको हँुदैन फोन बज्छ । हेर्छ । फोनको स्क्रीनमा देख्छ–‘‘आमा !’’

लेखक परिचय–प्रयाश दुमी खोटाङको साविक माक्पा हाल ऐसेलुखर्क गाउँपालीका–७ नोरुङमा जन्मिएका हुन् । २३ बर्षको युवा उमेरमा उनले ‘प्राञ्जल’ उपन्यास बजारमा भर्खर मात्र ल्याएका छन् । जुन धेरै पाठकहरुद्धारा रुचाएको छ । उनि सानै उमेरदेखी कथा,कविता,गजल बिधामा कलम चलाउने गर्थे । अध्ययनका क्रममा काठमाण्डौ छिरेका तिन चार,बर्षको दौडानमै आख्यान बिधामा पनि आफ्नो स्थान ओगट्न सफल भएका छन् ।

तपाईंको प्रतिकृया