सुधा रिसाल शर्मा “भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा कराइन् -” मलाई त महँगो फ्रक चाहिन्छ । सस्तो खाले म त लगाउँदिन नि !”

आजभोलिका केटाकेटीले महँगो र सस्तो भनेर कुरा गरेको देखेर आमालाई दिक्क लाग्यो । उनले छोराछोरीलाई थामपुर पार्दै भनिन् -“हुन्छ ! हुन्छ ! भोलि जाऔँला । बिहान सबेरै उठेर जमरा राखौँला अनि दिउँसो चाहिं बजार जाऔँला ।” बिहान भयो । राम र नीरा सधैँ भन्दा चाँडो उठे । नुहाए अनि मन्दिर गएर आए । नीरा, राम र आमा तिनैजना मिलेर जमरा राख्ने घडा र ठाउँ सिँगारे । टपरीको बालुवा र घडामा बाबाले जमराको लागि जौ छरे । बेलैमा पूजा सिद्धियो । राम र नीरा कराउन थाले -“बाबा ! आमा ! छिट्टै जाऊँ बजार, ढिला भयो भने भीड हुन थाल्छ क्या ! छिट्टै जाउँ न !” आमा र बाबालाई केटाकेटीको कुरा ठीक जस्तो लाग्यो । उनीहरू छिटोछिटो बजारतिर लागे । बजार जान भनेर माइक्रोबस चढे । बसमा रामले आमालाई भन्यो -“आमा! आमा ! यसपालि हामीलाई महँगो खाले लुगा किनिदिनुस् है ।

त्यत्तिकैमा बसको खलासी केटा भाडा माग्न आइपुग्यो । आफ्नो छोरा जत्रै केटा देखेर रामको बाबालाई माया लाग्यो । उनले मायालु स्वरमा सोधे-“दिनको कति रुपियाँ कमाउँछौ नि बाबु-” केटाले बडो गर्व साथ भन्यो -“दिनभर खाएर ६० रुपिैयाँ बाँकी हुन्छ ।” बाबाले केही पनि नसोची तुरुन्त सोधे -“त्यो पैसा के गर्र्छौ त- दशैँको बेला छ तास, लङगुरबुर्जा खेलेर सिध्याउँछौ होला, हैन -” केटाले तुरुन्त जवाफ दियो -“हैन हजुर म त दिउँसो दिउँसो खलासीको काम गर्छु अनि राति राति रात्रि स्कूलमा गएर पढ्छु । पढाइमा नै त्यो पैसा खर्च गर्छु ” रामको बाबालाई लाज मर्नु भयो । केटाले बोल्दै थियो -“कहिले काहीं घरमा पैसा नभएको बेलामा चामल दाल किन्न पनि पैसा दिन्छु । यसपलि त अष्टमीमा मासु किन्न आमालाई एकदुर्इ सय दिने विचार छ । कहाँ तास खेल्नु नि!” सबै जना सानो खलासीको कुरा सुनेर छक्क परे ।

चुपचाप उसको कुरा सुन्न थाले, ऊ बोल्दै थियो -“नयाँ लुगा त किन्नुपर्ने थियो । तर त्योभन्दा पनि म त थुप्रै कथाका किताबहरू पो किन्छु त्यो पैसाले । आ ! नयाँ लुगा किन्दिन यसपालि” राम र नीरा केही बोलेनन् । खालि कुरा मात्र सुनिराखे । केही समयपछि बजार पनि आइपुग्यो । सबैजना बसबाट ओर्लिएर लुगा पसलमा पुगे । लुगा पसलमा पुग्ने बित्तिकै राम र नीराले एकै स्वरले बोले -“पसले दाइ ! हामीलाई राम्रो तर अलि सस्तो खाले लुगा देखाउनुस् त ।” घरमा महँगो भनेर कराउने केटाकेटीले एकैचोटी सस्तो भनेको देख्दा आमा बा छक्क परे । बसको सानो खलासी केटाको कुरा सुनेर आफ्नो छोरा छोरीको मन परिवर्तन भएको कुरा उनीहरूले बुझिहाले अनि मनमनै खलासी केटालाई धन्यवाद पनि दिए । राम भन्दै थियो -“नाइ दाइ त्यो नदेखाउनुस् । त्यो पक्कै पनि महँगो होला । अलि सस्तो खाले देखाउनुस् ।” आमा बा मुसुमुसु हाँस्दै केटाकेटीको लुगा छान्न थाले ।

साहित्य पत्रिकाबाट

तपाईंको प्रतिकृया