‘चियामा खसेको बिस्कुट मायामा खसेको मान्छे
चाहेर पनि पहिलेको आकारमा आउन सकेन ।’
गजलकार दिग्गज द्यौरालीका गजलका यी शेरहरु गुञ्जिदा आज काठमाडौको बानेश्वस्थीत कुञ्ज थिएटरमा तालिको गड्गडाहट थामि नसक्नुको थियो । पटक पटक वान्स मोरको नारा लगाइएको थियो । गोर्खा स्थायी ठेगाना भएका दिग्गज द्यौराली संगै अर्का पुराना गजलकार भुपेन्द्र महत जसलाई रोमान्टिक गजलकार भनेर चिनिन्छ उनी पनि के कम उनले पनि कहिले देशप्रेमका त कहिले निष्ठुरीले दिएको आँशुको वर्णन गर्दै गजल वाचन गर्न भ्याए । वाचनको त्यति आदत छैन भन्दा भन्दै पुरै थिएटर नै हल्लाइदिए भुपेन्द्रले पनि । परदेशमा बस्दा स्वदशको बढी माया हुने रैछ भन्दै उनले उपस्थित सम्पूर्ण गजलप्रेमीहरुको मन आफूतिर खिच्न सफल भएका थिए ।

लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली साहित्यलाई माया गर्दै आएका भुपेन्द्र महतले थुप्रै गजल लेखिसकेका छन हाल उनी नेपाल आएको अवसर पारेर गजल मञ्चमा उभ्याउनु आयोजकको सराहनिय काम थियो । कार्यक्रमको संयोजन चर्चित गजलकार शीतल कादम्विनीले गरेकी थिइन् ।घोस्ट राइटिङ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली सुगम संगीतका सुप्रसिद्ध संगीतकार अर्जुन पोखरेललाई विशेष सम्मान समेत गरिएको थियो । कार्यक्रममा अर्का युवा गायक एवम संगीतकार अजर जंगमलाई पनि प्रस्तुत गरिएको थियो । थुप्रै गजल तथा गीतमा स्वर एवम संगीत दिएका जंगमले २ वटा गजल गाएर सुनाएका थिए । कार्यक्रममा जंगमले गजलकार भुपेन्द्र महतले केही बर्षअघि लेखेको गजल ‘जिन्दगीले हिसाव माग्छ घटाउ भने तिमीलाई’ र ‘जोसमा यस्तै हुन्छ कसैको होस हुन्न भन्यौ’ र सुनाउँदा उपस्थित सबै गजलप्रेमीहरु मन्त्रमुग्ध भएका थिए । यसैगरि सम्मानित गायक एवम साहित्यकार अर्जुन पोखरेलले शीतल कादम्बिनीद्धारा लेखिएको चर्चित गजल ‘ओइ झुमा झुमा झुम्कावाली’,‘तिमी रोएको पल’ लगायतका थुप्रै चर्चित गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा दुवै गजलकारहरुले दुई राउण्ड गरेर जम्मा ८,८ वटा गजल वाचन गरेका थिए बीच बीचमा चर्चित गजलकार एवम यस कार्यक्रमकी संयोजक शीतल कादम्बिनीका गजलले पनि दर्शकदिर्घाबाट तालिको गड्गडाहट पाइरहको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैकका डिप्युटी गर्भनर चिन्तामणि शिवाकोटीको उपस्थिति रहेको थियो भने अन्य अतिथिहरुमा उपन्यासकार अमर न्यौपाने,गजलकार बाबु त्रिपाठी लगायत थुप्रै साहित्यिक क्षेत्रका गन्यमान्य व्यक्तिको उपस्थिति रहेको थियो । कार्यक्रमको बारेमा लेखन कुञ्जका अध्यक्ष कमल सौरागले मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन निशान निश्कर्ष र शितल कादम्बिनीले गरेका थिए ।कार्यक्रम एकदमै मनोरञ्जनात्मक भएको उपस्थित साहित्य अनुरागीहरुले बताएका थिए ।

प्रस्तुति : जनार्जन पौडेल

तपाईंको प्रतिकृया