कविता: किराँती फूलहरू

अचेल
म आफ्नै सानो घरको छतबाट
मुर्चुङ्गा र बिनायोका धूनसँगै
हत्केलामा जीवन-मृत्युको दोसाँध बोकेर
घरै छेउबाट यात्री निस्केको छ भर्खरै
खोइ के छ कुन्नि हेन्खामामा त्यस्तो
त्यसैले तिमीलाई सोधिरहेछु
भूमिपुत्र हो –
किन मैले प्रशनहरुको उत्तर पाइरहेको छुइन ?
पहेलिएर पात खसेको फूल भएको छु ।

अचेल के भइरहेछ ?
किराँती फूलहरू हो –
विचार गर
कथाका पन्नाबाट
इतिहासका पृष्ठबाट
जीवनका आदिम लयबाट
अस्तित्वका कालखण्डबाट
पहिचानका दस्तावेजबाट
श्रद्धाका फूलहरू मुनितिर पारेर
मैले आग्लिन खोजेको पनि होइन
बस्
मैना राजा-मैना रानीको इतिहास कहाँनेर छ ?

भन भूमिपुत्र हो –
के हेरिरहेछस्
के जपिरहेछस्
कसरी अल्झिरहेछस्
श्रद्धाका फूलहरूमा किरात देखिन मैले
हर साँझ-बिहान
गाउँदेखि नगरसम्म
भन ! हेन्खामा भूमिपुत्रका इतिहास कहाँ लुकेको छ ?
ऎ आदिवासी हो –
कति निदाएको आफैंलाई बिर्सेर
यता आफ्नै कोठेबारीमा मामा सुम्निमालाई लुटिएको देख्दा
तिमीमा उदास मुहार किन छाएको छैन् ?

सोछ मग्न छु –
म कतै सुदूर बस्तीबाट
श्रद्धाका फूलहरूबाट
सुरक्षित हुन नसकेपछि
कसैको दासी बनेर होइन –
हेन्खामाका कसम
हेन्खामालाई देब्रे छातीमा राखेर
भाँचिएको,टुक्रीएको,चर्किएको
हराएका पहिचानका दस्तावेजहरु
गुमाएका अस्तित्वका कालखण्डहरु
आज बर्षो – बर्षपछि
दौडिनुछ हामी सँगसँगै किरात राज्यका खातिर
खोज्नेछौँ आप्पा पारुहाङ्गका सपनाहरू
भेटिन्छन् पुर्खाका चिनारीहरु
ओठमा मुस्कान पोतिन शिक्षामा चेतना फैलाएर
किरातका भूमिपुत्र मालिक भएर उभिनेछ ।

किन ढिलो गर्छौं ?
छिटो गर
छिटो गर
राष्ट्रघाती कुखुराका चल्लाहरु जरैबाट मेटिन्छन् –
किराँती फूलहरू हो –
कोही अग्ला , कोही होच्चा
कोही काला , कोही सेता
कोही ठूलो र कोही सानो जात भएर होइन
एक जुट मालामा उनिएर
आफ्नो अस्तित्वको लडाइँ आफैं लड्ने हो ।

जाँदा जाँदै
आफूले हिडेको बाटो नबिर्सेर
पुराना आदिवासीका अनुहार भेटिन सक्छन् –
किरातीका फूलका देवी , देवता र देउराली भेटिन सक्छन् –
आँखाका परेलाहरुमा आँसु हुनुको सट्टो
प्रत्येक बिहान सुर्यसँगै
किराँती फूलहरूमा घामजस्तै
सिली , साकेला , उभौली र उभौली एक भएर
मृत्युको दोसाँधमा पुग्नु अगावै ( अघि )
आफ्नै घरबारीबाट फूल्न नसकेका ती
किराँती फूलहरूलाई
अनि मात्र
श्रद्धाका फूलहरूले शिर निहुराई सलाम गर्नेछन् –
जीवन भन्दा ठूलो कुरा अस्तित्व रहेछ ।
रोशन हतुवाली राई
भोजपुर

तपाईंको प्रतिकृया