कथा
सूर्यको पहिलो किरण आँखामा पर्छ र म झल्याँस्स बिउँझिन्छु।टाउको भारी भएको महसुस हुन्छ । जीउ एकदम दुखी रहेछ । आँङ तन्काउँदै उठ्छु । अनि पिँढी मा थ्याच्च बस्छु ।
अलि परबाट चार ओटी महिलाहरु आँउदैछन् । को होलान् भन्दै म नियालेर त्यतै हेर्छु। आफूले चिनेकै मित्र देख्दा टाढैको सवारी भएछ भन्ने आभास हुन्छ तर केही सोध्दिन, म हेरी रहन्छु।
एक्कासि उनीहरुले लगाएको पहिरनमा मेराे ध्यान जान्छ । काेहीले लगाएका छन अलिकति छोइयो भनेनी फुट्ला जस्तो कसिलो वस्त्र, कोहीले अर्धनग्न अनि कोहीले भुइँ बढार्ने ।

उनीहरु मलाई हेर्दै व्यंग्य गर्छन्, जाँऊ कान्छी रमाइलो गर्न । म मुसुक्क हाँसेर टाउकोले इसारा गर्छु जाँदिन भनेर । त्यँही एउटी को मुखबाट निस्कन्छ, हामीसङ्ग घुम्न जाने औकात नि हुन पर्यो नि । हेर न ! हामीले लगाएको हेरेर डाहले जलेकी ।
अर्कीले भन्छिन्, “जान त किन नसक्नु नि त्यस्को पोइ नि बिदेश गएको छ क्यारे । टन्न पैसा कमाएर पठाउँछ । पैसाको लोभले सधैँ झुत्रो कपडा लगाएर बस्छे । मरेर के नै लानु छ र बाँचुन्जेल खानी हो, रमाउनी हो । आखिर हाम्रो लोग्नेले दुख गरेको किन ? हाम्रै खुसीको लागि त हो नि । त्यसैले मैले त बजारको नयाँ डिजाइनको ड्रेस एउटै छोडेको छैन ।”

म भित्र जान्छु अनि भुइँ बढार्ने कपडा लाउँछु, ऐना हेर्छु सुहाउँदैन । फेरि एकदमै कसिलो कपडा लाउँछु, निस्सासिन्छु त्यो नि सुहाँदैन । फेरि उनीहरुले लगाएको जस्तै आधा शरीर छोप्ने कपडा लाउँछु, त्यो त झन सुहाउँदैन । आफैँलाइ लाज लाग्छ । हतार हातार आफूले लगाएको पहिलेकै कपडा लाउँछु । यो चैँ सुहायो जस्तो लाग्छ।

भोलिपल्ट बिहान अलि झिसमिसेमै घरबाट अलि तल पधेँरामा पानी लिन गाग्री बोकेर जादैँ गर्दा एक्कासि मेरो निधारमा केही ठोकिन्छ । अगाडि पछाडि हेर्छु केही देख्दिन । त्यस पछि डराउँदै पाइला अगाडि बढाउन खोज्छु फेरि ठोकिन्छ । म अत्तालिएर चिच्याउँदै थ्याच्च बस्छु । अनि बिस्तारै शिर उठाइ माथि हेर्छु कोही झुन्डिएको रहेछ । मेरो आवाज निस्किदैन । गाग्री फालेर दगुर्दै घर आउँदै गर्दा पानी लिन जान थालेकी अलि पाकी आईमाई देख्छु । उनले मेरो त्यो अवस्था देख्दा हत्तारिदै सोध्छिन्, “हैन के भो कान्छी, किन आत्तेकी ?”
“आमा…आमा..आमा त्यहीँ तल….।”
“हैन त्यहीँ तल के भो भन्या ?”
त्यहीँ तल…त्यहीँ तल…मान्छे झुन्डिएको छ ।”
“के भन्छे यसले ? साँच्चै हो ?” हाे, आमा मान्छे झुन्डिएको छ।”
को रहेछ भनेर हतार हतार पानी लिन जानेहरु दौडिन थाल्छ्न् ।एकै छिनमा मानिसको भीड लाग्छ । केही समय पश्चात् प्रहरीको आगमन हुन्छ र प्रश्न गर्न थाल्छ । सबै भन्दा पहिला लास कस्ले देखेको ?
म डराउँदै अगाडि जान्छु र मैले भन्ने इशारा गर्छु । प्रहरीले अनेक किसिमको प्रश्न गर्छ, मैले नै त्यो हत्या गराएको जसरी । आइतबार बिहान चौकी आउनू भन्दै प्रहरीहरु लास लिएर जान्छन् ।
प्रहरीले दिएकै समयमा म पुलिस चौकी जान्छु । त्यहाँ उनीहरुको ब्यवहारबाट म असुरक्षित महसुस गर्छु, तर केही भन्दिन ।पुलिसले प्रश्न गर्छ, “मृतकलाई अन्तिम पटक कहिले देख्नु भएको थियो ?”
जवाफमा भन्छु, ” घटना घटेको अघिल्लो दिन अर्धनग्न वस्त्र लगाइ कतै जाँदै गरेको देखेकी थिएँ ।”
पुलिसले फेरि प्रश्न गर्छ अर्धनग्न वस्त्र ? शरीरको कुन कुन भाग छोपिएका थिए त ?
मलाई अत्यन्तै रिस उठ्छ ।कस्तो किसिमको प्रश्न हो यो ? एउटा नारीले देशको सेवा गर्न खटिएको पुलिस अफिसरसँगै असुरक्षित महसुस गर्छे भने यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्ला र ?
म मौन रहन्छु । आफुले ओढेको सलको एक छेउ समाएर चोरी औँलामा बेस्सरी कसेर रिस शान्त पार्न खोज्छु । एक्कासी पछाडिबाट कसैले मेरो कम्मरमा समाउँछ । म झस्किन्छु । पछाडि फर्केर हेर्दा प्रहरीकै मान्छे हुन्छ ।त्यस अवस्थामा त मैले आफ्नो रिस नियन्त्रण गर्नै नसक्ने भैसकेकी थिएँ । दुई थप्पड लगाएँ । त्यो मान्छे रन्थनियो ।यसको परिणाम भोग्छेस तैँले भन्दै त्यो मान्छे ओझेल पर्छ।

घर फर्केर टुसुक्क दैलोमा बसी कलकल पानी पिउँछु । मलाई एकदमै गार्‍हो भैरहेछ ।मोबाइलको घन्टी बजिरहेछ । प्रहरी चौकीबाटै फोन आएको रहेछ । मैले फोन रिसिभ गरिन । त्यो दिन त्यत्तिकै बित्यो ।भोलिपल्ट बिहानै तारैतार आफन्तको फोन आउन थाल्यो सबैले भन्छन् हत्त्यारा । केही समय पश्चात् पुलिसको गाडी आउँछ र मेरो हातमा हतकडी लगाउँछ । म छक्क पर्छु केही बोल्दिन । “यसको परिणाम भोग्छेस तैँले, ” भन्नुको मतलब यही रहेछ भन्ने बुझ्छु ।
मलाई जेलमा थुनेर अनेक किसिमको यातना दिइन्छ । म दिन रात त्यही मृतकलाई सम्झिन्छु । मर्नुभन्दा अघिल्लो दिन कति खुसीको साथ घुम्न गएकी थिइन् । आखिर कसरी भयो उनको मृत्यु ?
कानूनको कालो पट्टिले मलाई हत्यारा बनायो, अनि हत्यारालाई निर्दोष । कसैले मलाई छुटाउन हस्ताक्षर गरेछ । बुझ्दै जाँदा मलाइ छुटाउने मर्नेकै दाजु रहेछन् । म उहाँसँगै फर्किएँ ।उहाँले मलाई बाटोमा भन्नू भयो, “मेरी बहिनी तिमीले हैन, त्यही तिमीलाई अभद्र व्यवहार गर्नेले मारेको हो तर प्रमाण नभएको कारण मौन रहन बाध्य छु ।यसलाइ सजाएँ दिन पाए मेरो बहिनीको आत्माले शान्ति पाउने थियो ।”
म उहाँलाई शान्त्वना दिन्छु, “अवश्य उसले सजायँ भोग्छ दाइ ! हजुरको बहिनीको आत्माले शान्ति पाउँनेछ ।” यो मेरो वचन भयो।

गाँउमा पाइला राख्ने बित्तिकै सबैले मलाई हत्यारा आई भन्दै इशारा गरे । कोही साइत परेन भनेर फर्किए । म यसै हत्याराको नामले चिनिएँ, त्यसैले अब त मलाई साँच्चिकै हत्यारा हुने रहर जाग्यो । आफूलाइ अभद्र व्यवहार गर्ने प्रहरीलाई फोन गरेँ । बल्ल ठेगानमा आइस् भन्दै त्यो मान्छे बोल्न थाल्यो । मैले भनेँ समयमा बुद्धि पुगेन मेरो, माफ पाऊँ । उसले हुन्छ हुन्छ माफ गरी दिएँ भन्याे । एक बजे मेरो कोठामा आउँनू । मैले हुन्छ भनेर फोन राखेँ ।
मैले कम्मरमा पटुका बाँधे।पटुकामा लुकाएर छुरा राखेँ । रुमाल बोकेँ । रुमालमा बेहोस हुने औसधी छरेँ र सुरक्षित राखेँ । एक बज्न थाले पछि म उसको कोठामा गएँ । उसले मलाई फूल छर्केर स्वागत गर्यो । म भित्र पस्ने बित्तिकै उसले ढोका लगायो ।
मेरो मुटुको गति बढ्दै गयो । प्रहरी चौकीमा झैँ उसले मलाइ समाउन नपाउदै, मैले रुमालले उसको मुख छोपी दिएँ । ऊ बेहोस भयो अनि कम्मरबाट छुरा निकालेर सक्दो प्रहार गरेँ । मेरो शरीर रगताम्य भयो । त्यही अवस्थामा म चौकी गएँ र भने, “मैले हत्या गरेँ । मलाई अब जे सजायँ दिए नि मन्जुर छ ।”
यसरी म फेरि थुनिएँ तर मलाई कुनै पश्चाताप थिएन ।

तपाईंको प्रतिकृया