गजल


उकालो चढौं कि ओरालो झरौं दोधारमा परियो
खै कस्को हातले यो सिउँदो भरौं दोधारमा परियो ।

म माया गर्छु तिमीलाई भन्ने हजार यहाँ भेटिए
हजारमा एक कस्को भर परौं दोधारमा परियो ।

तिमी छौ पारी म भएँ वारी बिचैमा जंघार छ,
भेट्न मन लाग्छ कसरी तरौं दोधारमा परियो ।

सकिन्न चिन्न मान्छेलाई यहाँ अनुहार हेरेर
तिम्रो विश्वास म कति गरौं दोधारमा परियो ।

सम्झौताविना यो उजाड़ पाखा गरेर सिंचाई
“पुष्प”को बिऊ कसरी छरौं दोधारमा परियो ।।

पुष्पा धमला

तपाईंको प्रतिकृया