श्रवण मुकारुङ
घाँसको भारी उचाल्न नसकेर
असिन–पसिन भएकी थिइन्– दिदी
मैले सघाएँ,
उनले भनिन्–
‘भाइ, देश ज्यादै गह्रैँ छ ।’
ढाकरको पिँधमा टेकुवा अडाउन नसकेर
भिरालो बाटोमा लर्खराउँदै थिए– दाइ
मैले सघाएँ,
उनले भने–
‘भाइ, देश ज्यादै अप्ठ्यारो छ ।’
एक बथान बस्तुहरूलाई गोठमा हुल्न नसकेर
चिच्याई–चिच्याई रुदी थिइन्–बहिनी
मैले मद्दत गरेँ,
उनले भनिन्–
‘दाइ, देश नसक्नुको छाडा छ ।’
कापी–कलम राखेको झोला हराएर उदास–उदास
घर फर्किरहेका थिए–भाइ
मैले सान्त्वना दिएँ,
उनले भने–
‘दाइ, देश साह्रै बदमास छ ।’
मैले जेजति गरेँ
त्यो
म आमा बालाई सुनाउन चाहन्थेँ
तर म के
घरभित्र पसेको मात्रै थिएँ
आमा बाका संयुक्त स्वरहरू उर्लिए–
बद्मास !
छाडा !
माटोलाई भार !
म देश खोजिरहेको थिएँ ।
तपाईंको प्रतिकृया