कविता

अरुले झै उनीहरुले पनि गाएका भए
माया प्रेमका अनि सस्ता बजारु गीत
चल्तिको हिरोइनका लागि आइटम नम्बर
उनिहरुलाई भेट्न र देख्न सकिन्थ्यो
महोत्सवहरुमा स्टेज तताउँदै गरेको
तारे होटलका ककटेल पार्टीहरुमा जम्दै गरेको
वा माननीय भएर संसदमा विराजमान भएको !

तर त्यसो गरेनन उनीहरुले
बरु हार्मोनियमका रिडमा औला नचाएर
विद्रोहको ज्यूदो जाग्दो धुन निकाले
गितारको स्ट्रीङ घोटदै रगत उमाल्ने गीतहरु गाए
मादल-ढोल-झ्याम्टा बजाउँदै पहाड पर्वत ब्युझाए
जनता घर आँगनमा जनताकै गीत गाए
बरु गाए अन्याय र असमानता विरुद्वका गीत
र त यतिबेला उनीहरु गुमनाम छन !

उनिहरुले गाएनन राजा माहाराजहरुको जय गान
बरु गाए स्वेच्छाचारी शासक विरुद्धका गीत
बरु तयार भए प्रतिबन्ध झेल्न
तयार भए जेल नेल भोग्न
तर गाउन छाडेनन गाउँ बस्ती ब्यूझाउँने गीतहरु !

सडकबाट सत्तामा छलाङ मार्नेहरुलाई
अझै याद होला कि नहोला ?
जिन्दगीका कुनै मोडहरुमा उनिहरुको पाइला रोकिदा
पाइतालामा उर्जा भरि दिने
दुश्मनका किल्ला कब्जा गर्ने आँट
राता मान्छेहरुको छातीमा जगाइ दिने
नैराश्यताका बादलले ढाकेर घोर अन्धकार हुदा
आशाका उज्याला गीत गाइदिने
गाउँ गाउँमा जनताका गीत गाएर
बस्ती बस्तिमा मुक्तिका गीत गाएर
देशै जुरुक जुरुक उचाल्नेहरु
तिनै त थिए जो अहिले गुमनाम छन ।

उनीहरुले पनि गाएका भए
केही थान ‘डान्सिङ नम्बर’ र ‘ट्रेण्डिङवाला’ गीतहरु
उनिहरुलाई नि भ्याइनभ्याइ हुन्थ्यो होला
चल्तिका रेडियो-टिभी वा यूट्युब च्यानलमा अन्तर्वार्ता दिन !
तर उनिहरुले गाए शोषण दमन विरुद्धका गीत
जागरणका गीत-चेतनाका गीत
गाए जनताका मुक्तिका गीत
र त उनीहरु गुमनाम छन !

यतिबेला माइला लामाहरु प्रतिबन्धित छन
बिद्रोही-मोहित, किशोर, झन्कारहरु गुमनाम छन
गुमनाम छन निर्मला-सारदा, प्रगती-केशरी-सीताहरु
तर कुनै दिन
देशले गुनगुनाउनु पर्‍यो भने परिवर्तनका भाका
जनताले गाउनु पर्‍यो भने आफ्नो पिर मार्का
सबै भन्दा पहिले खोजिने छ उनिहरुकै आवाज !

 रोशन यक्सो

तपाईंको प्रतिकृया