कविता: त्यसैले मलाई अहँ,कुर्सी मन पर्दैन !

ऊ जब जमिनमा थियो, धेरै खुशी थियो।
बामे सर्दा पनि जगत,जितेको ज्ञान लियो।
शक्ति, सम्पत्ति र सत्ताको जब रस पियो।
हुर्कदै गयो लोभ, कुर्सीलाई महत्त्व दियो।

त्यसैले मलाई अहँ, कुर्सी मन पर्दैन।।।

जन्मेको भूमीलाई, आफै टाढा पार्छ।
माटोको मिठो सुगन्ध, झन् पर सार्छ।
सोँच्दैन केही, मात्र लोभी र्याल झार्छ।
मोह छ कुर्सीको, न्यायिक कुरा टार्छ।

त्यसैले मलाई अहँ, कुर्सी मन पर्दैन।।।

कुर्सीमा बसेरै पनि अहम् हावामा उड्छ।
साना कलिला कोपिला चुडाँउछ, चुड्छ।
बिर्सन्छ सहयोग,गुण,अन्तै स्वरुप मुड्छ।
हर कोहीलाई राज्य नीतिले थिचेर खुड्छ।

त्यसैले मलाई अहँ, कुर्सी मन पर्दैन।।।

कुर्सीमै बस्छ अनि, कुर्सीमै सुत्छ,खान्छ।
कुर्सीले जता डोर्यायो त्यता मात्र जान्छ।
आँफुले आँफुलाई धेरै शक्तिशाली ठान्छ।
पल्लो कुर्सीमा बस्नेको, उर्दि मात्र मान्छ।

त्यसैले मलाई अहँ, कुर्सी मन पर्दैन।।।

कुर्सीको लालसाले कोही आफ्ना चिन्दैन।
वृद्द होस् वा बालक, कठै! बिचरा भन्दैन।
बिधिको बिधानलाई कदापि मान्दै मान्दैन।
मान्छेले मान्छेलाई यहाँ मान्छे नै गन्दैन।

त्यसैले मलाई अहँ, कुर्सी मन पर्दैन।।।
त्यसैले मलाई अहँ, कुर्सी मन पर्दैन।।।
भवानी नेपाल

तपाईंको प्रतिकृया