नवारुण भट्टाचार्य

बदम केवल कविता लेख्ने गर्छु
यो कुराको कुनै अर्थ छैन
कतिलाई सायद हाँसो उठ्ला
तर म हात हेर्न पनि जान्दछु !

मैले हावाको हात हेरेको छु
हावाले एक दिन आँधी बनेर सबैभन्दा अग्ला–अग्ला
अट्टालिकाहरुलाई ढालिदिनेछ !

मैले मगन्ते बच्चाहरूको हात हेरेको छु
आउँदा दिनहरूमा उनीहरुको दुःख कम हुने छ–
यसै भन्न सकिन्न
मैले वर्षाको हात हेरेको छु
उसको दिमागको कुनै ठेगान छैन
त्यसकारण, तपाईंहरु सबैसँग
एउटा छाता हुनु जरूरी छ !

सपनाको हात मैले हेरेको छु
त्यसलाई समात्न तोड्नुपर्छ निद्रा
प्रेमको हात पनि मैले हेरेको छु
नचाहँदै पनि यसले अँठ्याउनेछ सबैलाई !

क्रान्तिकारीहरुको हात हेर्नु ठूलो भाग्यको कुरा हो
तर उनीहरु एकैसाथ भेटिँदै भेटिँदैनन्
र कैयौँका हातहरु त उडेका छन् बमले
ठूला मान्छेहरुका विशाल हातहरु पनि मैले हेर्नुपरेको छ
उनीहरुको भविष्य अन्धकारमय छ
मैले भीषण दुःखको रातका हात पनि हेरेको छु
त्यसको अब बिहानी हुन लागिरहेको छ !

मैले जति पनि कविता लेखेको छु
त्यसभन्दा धेरै हेरेको छु हात
कृपया मेरो कुरा सुनेर नहाँस्नुहोला
मैले आफ्नो हात पनि हेरेको छु
मेरो भविष्य चाहिँ तपाईंहरूकै हातमा छ‘

                                                                  स्व.नवारुण भट्टाचार्य बंगालीका प्रसिद्ध कवि हुन् ।

तपाईंको प्रतिकृया