मनु ब्राजाकी

गएपछि आउँदैन कोही फर्केर
नजानु है कसैसित पनि झर्केर

घुइँचोमा एक्लै हुनुपर्छ कहिले त,
कहिले हिँड्नुपर्छ आफूदेखि तर्केर ।

आफूलाई मात्र हेर्न खोज्नेहरूको,
आफ्नै घरको ऐना पनि फुट्छ चर्केर ।

दिनभरि बटुलेको दुःख नै त हो,
त्यही पनि रातभरि बग्यो दर्केर ।

चोखा नै छन् ‘मनु’हरू दैवभन्दा त,
के हुन्छ र व्यर्थै सुन-पानी छर्केर ।

तपाईंको प्रतिकृया