कविता : कस्तो सम्बन्ध

नियतिले लुटेको सपनाभित्र
भरिभराउ स्मृतिका पानाहरुले
जिन्दगीमा न्यानो आफ्नो पनको आभास सँङै
पूरा पूरा जिन्दगीका अनुभूतिका साथमा
जीवन यापन गर्नु नै छ
म सोच्न पनि सक्दिन जन्म भएको हो
मेरो त्यही कोखबाट र पनि
त्यो हक अधिकार कसैले तिम्रो खोसिदिएको पल
तिम्रो सट्टामा अरु कसैले बाबामाथि जमाएको हक
अनि आफ्नो हुनु आफन्ती हुनुमा
सबै खुशिहरू औँशीको रात जस्तै
अध्यारो सन्नाटा भित्र रूमलिएको ती विगत
आमा तिम्रो थाप्लोमा बजारिएका ती प्रहरहरु
भित्र भित्रै बन्दी बनाइएका ती मातृत्वका आभास
अनि लुकाउन बाध्य भएका ती प्यारहरु
हो ताजै छन् ती दिनहरू
अनि मानसपटलमा दिगो भएर
अवस्थित छन् ती पलहरु

हो थाहा थियो आमा
बाबाको मनमा
अरु कसैको नाम प्रतिबिम्बित
बनेर आउन थालेको थियो
त्यति बेला तिम्रो मन दुखेको थियो
कति धेरै गुनासाहरु उकुस मुकुस भएर
गुज्रिएका थिए
तिमीले जिम्मेवारि ननिभाएको होइन
एकाएक समय बदलियो द्वन्द र कलहले
त्यो घर अब घर रहेन आमा तिम्रो लागि
तै पनि तिमीमा उल्लास र आशाहरु
पलाउन छोडेनन्
किनकि तिमीमा बाबा प्रतिको स्नेह थियो
प्यार थियो
आमा
तिमी हाँस्दा हाँस्दै रोएका ती दिन
यथार्थ सत्यता खोज्नका लागि
ब्यभिचारको पर्खालले
बन्दी बनाएको छ
बैमानी समयको खेल वा तक्दिरको खेल
तिम्रो मनमा एउटै प्रश्नले जरो गाडेको
प्रत्यक्ष थाहा छ र पनि
तिम्रो न्यायका लागि केही गर्न सकिन
त्यही देउरालीको ढुङ्गामा बसी
घक्क घक्कको आवाजले
आज म आफैलाई अनुत्तरित प्रश्न गरि रहेको हुन्छु
हरेक बिहान घाम झुल्किन नपाउदै
किन चिस्सिन्छ बाबामा आमाको त्यो आफ्नो पन
अनि मायाको स्पर्श ??

अन्जु सापकोटा “अनु “
मधुवन ६,बर्दिया

तपाईंको प्रतिकृया