कृष्ण बज्गाईं

कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।त्यसपछि ती टाउकेहरुलाई तह लगाउँन तिनका टाउकाको मूल्य तोकियो । टाउको ल्याउनेहरुलाई टाउकोको वजन बराबरको सुनको असर्फी दिइने घोषणा भयो । यो खवर थाहा पाएर सुरुमा त ती टाउकाहरु छक्क परे ।

तर आफ्ना टाउकाको यत्रोबिधि मूल्य बढेको थाहा पाएर दंग पनि परे । त्यसपछि ती लाखौं मूल्य बराबरका टाउकाहरु आफूलाई सुरक्षित राख्न गोप्यरुपमा हिंडडुल गर्न थाले । उनीहरुलाई डर लाग्न थाल्यो- कतै वुनै आफ्नै आफन्तले आफूलाई नबेचिदियोस् । आफूलाई सुरक्षित राख्नाको अर्को कारण पनि थियो । कालान्तारमा महंगी सँगसँगै कतै आफ्नो टाउकाको मूल्य पनि अझ बढिहाल्छ कित भन्ने ।


निकै समय बितिसक्दा पनि टाउको बापत्को मूल्य कसैले हात पारेनन् । शक्तिशाली टाउकेहरुको फेरि टाउको दुख्न थाल्यो ।निक्कै लामो छलफलपछि अर्को आकर्षक उपाय निकाले उनीहरुले । ती टाउकाहरु आफू खुशी आएमा तोकिएको मूल्य उनीहरु स्वयंलाई दिने घोषणा गरे । यस्तो निर्णयले ती टाउकाहरुका बीचमा खैलाबैला मच्चियो । टाउकाको वजन अनुसारको मूल्य किटान भएकोले ठूल्ठूला टाउके सरह फाइदा नहुने भएतापनि केही स-साना टाउकाहरुले आफ्ना टाउका बापत् वजन अनुसारको सुपथ मूल्य ग्रहण पनि गरे ।

खासै धेरै टाउकाहरु त्यस कार्यक्रममा सहभागी भएनन् । अनिपछि शक्तिशाली टाउकाहरुको टाउकोदुखाइ फेरि बढ्न थाल्यो । उनीहरु चिन्तित भए अनि अर्को विकल्पको खोजीमा लागे ।

सबै टाउकाहरुलाई समेट्न अर्को पासा फ्याँकियो । ती टाउकाहरुलाई आरामदायी घुम्ने कुर्सीको व्यवस्था मिलाइने घोषणा गरियो । त्यसपछि ती टाउकाहरुले त्यो घोषणालाई पनि सहर्ष स्वीकार गरे । उनीहरुले यो नै आफ्नो मुख्य माग भएको कुरा बल्ल बताए । तर कुर्सीको संख्या सीमित थियो । कुर्सीमा बस्न हानाथाप गर्न थाले । कुर्सी नपाउँनेहरुले पहिलेकै कार्यलाई निरन्तरता दिएका कारण समाजमा आतङ्क यथावत् रहिरह्यो । कहिल्यै स्थायी शान्ति हुन सकेन । जन-धनको सुरक्षा हुन सकेन ।

भनिन्छ त्यसबेला देखि नै हल्लिने र घुम्ने कुर्सीको व्यवस्था थालिएको हो । स्थायी कुर्सीको जग हल्लन थालेपछि त्यसलाई जोगाउँन उनीहरुलाई पनि हल्लिने घुम्ने कुर्सी दिइएको थियो । घुम्ने कुर्सीको व्यवस्था सांकेतिक अर्थमा गरिएको थियो । जसरी त्यो कुर्सी अस्थिर तथा चलायमान छ त्यसरी नै त्यहाँ बस्नेको पद पनि अस्थायी प्रकृतिको हुन्छ है भन्ने अर्थमा ।
तर घुम्ने कुर्सीमा जोसुकै बसे पनि आफू बसेपछि त्यसलाई पुनः स्थायी बनाउँने प्रयासमा चलखेल सुरु गरिहाल्थे । त्यसकारण कुर्सी माथिको संकट सदा ज्यूँका त्यूँ रहिरह्यो । तर समाजमा शान्ति सुरक्षा र जन-धन उपर संकट झन्-झन् गहिरंदै आयो ।

श्रोत:- अन्तर्जाल

तपाईंको प्रतिकृया