[पर्वतराज घिमिरे]यो हप्ता गजलको सिद्धान्तका विवादले सामाजिक सञ्जाल निकै तात्यो । गजलको पाठक भएको नाताले र गजलकै क्षेत्रको विद्यार्थी पनि भएको नाताले मौन रहे पनि बेवास्ता गर्न सकिएन ।यतिबेला गजलका अन्य सिद्धान्तको विवादभन्दा पनि गजलमा बहरको अनिवार्यता हो कि होइन ? भन्ने विषयमा नै विवाद भएको देखियो । गजलमा बहर अनिवार्य शर्त हो वा होइन ? यो कुरा अर्को होला,

तर फेसबुकमा देखिएका स्टाटसहरूको भाषाले चाहिँ हृदय पोलिरह्यो । गजलको क्षेत्रमा लामो अनुभव भएका दीप मिलन, अनन्त अनुराग, त्रुपक जस्ता विशिष्ट व्यक्तिहरूले पनि सन्तुष्टि वा असन्तुष्टि व्यक्त गर्नुहुँदा प्रयोग गर्नुभएका भाषामा चाहिँ एक अर्काप्रति चित्त दुखाएको झैँ देखिए । वास्तवमा व्यक्तिहरूप्रतिको असन्तुष्टि भन्दा पनि सिद्धान्तको अन्योलका कारण नै यो सब भएको हो कि ?हुन त सिद्धान्त भन्ने कुरा पनि परिवर्तनशील हुन्छ । दशौँ शताब्दी, एघारौँ शताब्दीका कवितासिद्धान्त अहिले परिवर्तन भएका छन् । गजलको सिद्धान्त पनि परिवर्तनशील हुनै हुँदैन भन्ने होइन । एउटा ठूलो जमातले स्वीकार गरिसकेपछि त्यो पनि सिद्धान्तको रूपमा स्थापित हुन्छ ।

जस्तो कि उदाहरणका लागि प्रदीप रोदन, लोकेन्द्र बन्जारा, लक्ष्मण सङ्गम, अनन्त अनुराग जस्ता व्यक्तिहरूको गजलसम्बन्धी कार्यक्रम भइरहँदा लालकाजी श्रेष्ठ म बहरमा गजल लेख्ने हुँ उनीहरूका गजल गजल नै होइनन् जान्नँ भनेर नजान सक्नुहुन्न । लालकाजी श्रेष्ठ वहाँहरूका बेबहरमा लेखिएका गजलमा पनि वाह वाह घन्काउनुहुन्छ । तर यता फेसबुकमा आएर चाहिँ बहरविनाका गजलहरू गजल होइनन् भन्ने रटान लगाइरहनुहुन्छ । बहरविनाका गजल गजल होइनन् भन्नेहरूले बेवहरका गजलहरूमा पनि वाह नभनी रहन नसक्नुको मतलब यो हुन्छ कि बेबहरमा लेखिएका गजलहरूमा पनि वाह भन्नुपर्ने केही तत्त्व हुन्छन् । अथवा बहरमा लेखेका गजलहरूको तरन्नुम वाचन हुँदा हुँदै पनि तिनीहरूबाट रस निष्पत्ति हुन सकेको देखिँदैन । चाहे बहरमा लेखियोस् चाहे विना बहरमा लेखियोस् गजलमा हुनुपर्ने यी संरचनात्मक विषयभन्दा इतर कुराहरू पनि छन् ।

बहर र बेबहर (?) दुवैमा लेख्ने गजलकारहरूले एक–अर्कालाई तैँले लेखेका गजलहरू गजल नै होइनन् भनेर टोकिरहनु जरुरी छ जस्तो लाग्दैन । आफूले जे–जसरी लेखिने गरेको छ त्यसमा नै भरसक संरचना, भाव जस्ता कोटिहरूमा क्रमिक परिष्कार गर्दै जानु जरुरी छ कि ? भन्ने लाग्छ । एक–अर्काबीच यसरी हिलो छ्यापाछ्याप र पानी बाराबार गर्नुपर्ने खास केही देखिँदैन । एक–अर्काप्रति अभद्र भाषामा बोलिरहनु जरुरी पनि छैन ।

एक–अर्काले अर्कोलाई आरोपित गरिरहँदा भद्र भाषामा गरे पनि हुन्छ । हरेक कुरा झगडा हुनुपर्छ भन्ने छैन बहसको शैलीमा बहस गरे पनि हुन्छ । अनन्त अनुरागले एउटा स्टाटस लेख्नुभयो बहरका पक्षपातीहरूलाई लक्षित गरेर । वहाँले लेखेको भाषा व्यङ्ग्यात्मक भए पनि एउटा कुरा चाहिँ गजब उठान गर्नुभयो, जहाँ बहरविना गजल हुँदैन भन्ने केही व्यक्तिहरूले नै बे–बहरका लेखकहरूलाई लेख्न हौसला दिने, उनीहरूका पुस्तकमा भूमिका लेखेको देखियो । (कसकसले त्यस्तो गरेका छन् यो मलाई थाहा छैन) । प्रमुख अतिथिको आसन ग्रहण गर्नका लागि बोलाएको हकमा जस्ताकोमा पनि जाने, गङ्गा गए गङ्गाको पक्ष लिने र जमुनाको विरोध गर्ने, जमुना गए जमुनाको पक्ष लिने र गङ्गाको विरोध गर्ने परम्परा चाहिँ अवश्य ठिक होइन । अनि अर्को कुरा यस्ता पक्षको नेतृत्व गरिरहेका व्यक्तिहरूले रचनाकारको मुहार भन्दा पनि रचनाको मुहार हेरेर निर्णय दिन नसक्नु पनि अर्को समस्याको विषय चाहिँ अवश्य हो । दुवै पक्षलाई स्वीकार्न पाइन्छ । दुवै पक्ष स्वीकार्नु द्वैधता होइन । एउटासित जाँदा अर्कोको विरोध र अर्कोको मा जाँदा अर्कोको विरोध, अथवा एकातिर स्वीकार र अर्कातिर विरोधको द्वैध चरित्र चाहिँ रोकिनुपर्छ ।

गजल बहरमा नै लेखिनुपर्छ, भन्ने मान्यता चिरस्थायी हो वा होइन ? यो पनि पृथक् चिन्तनको पाटो हो । हिजो वाल्मीकिले रामायण लेख्दा छन्दमा लेखेका थिए र महाभारत लेखिरहँदा व्यासले पनि छन्दहरूको नै प्रयोग गरेका थिए भन्दैमा पछिल्लो समयमा लेखिएका भूपीका कविताहरूलाई कविता नै होइनन् भन्न सकिँदैन । अङ्ग्रेजी साहित्यमा होस् या संस्कृत हिन्दी या नेपाली साहित्यमा यिनीहरूमा कविता लयमा नै लेखिन्थ्यो । हुन त लय मुक्त छन्दमा लेखिएकामा पनि हुन्छ । मुक्त छन्दमा लेखिएका कविताहरूमा लय भएझैँ आजभोलि स्वच्छन्द भनिएका गजलहरूमा पनि एउटा अन्तर्ललय हुन्छ । काफिया रदिफ मिटर लगायतका संयोजनबाट एउटा पृथक् लयको उदय हुन्छ या हुँदैन ? बहर भनेर गजलको प्राचीन सिद्धान्तमा भएका रुक्न र अर्कान नै चाहिने हो ? यो चाहिँ पृथक् चिन्तनको पाटो हो । गजललाई कसैले लिङ्गका आधारमा, कसैले संरचनाका आधारमा वर्गीकरण गरेको सम्म पाइयो ।

जुनसुकै सिद्धान्त पनि लामो प्रयोगपछि मात्र स्थापित हुने हो । अहिलेको उत्तरआधुनिक सिद्धान्तले त यस्ता संरचनाभञ्जन होइन विधाभञ्जनसम्मका मान्यताहरूलाई स्वीकार गरिसकेको छ । यहाँ कथाजस्ता लामा पंक्तिहरूलाई कविता भन्न र कविताजस्ता लेखनलाई कथाको रूपमा स्वीकार गर्नुपर्ने स्थिति छ । अकविता, अकथा भनिए पनि ती कथा नै हुन्, कविता नै हुन् । त्यस्तै गजलका क्षेत्रमा पूर्णतः शास्त्रीय नियम पालना नगरे पनि ती गजल नै होइनन् भनेर ठोकुवा गर्न बहरका पक्षपातीहरूले सक्दैनन् कि ?

जहाँसम्म बहरमा भाव राम्रो आउँदैन । स्वच्छन्द लेखनमा जुन भावको बुलन्दता हुन्छ, बहरमा त्यो हुँदैन कि ? भन्ने कुरा अलग हो । चिनी हालेको चियामा र नहालेको चियामा एउटै किसिमको स्वाद खोजेर पनि हुँदैन । यसको मतलब चिनी नहालेको चिया चिया नै होइन भन्न पनि कोही स्वतन्त्र हुँदैन । बहरबद्ध गजलहरूको गेयात्मकतामा हुने बुलन्दता फरक हो । त्यसमा पनि रसअनुसारका बहरहरू छन् । रसअनुसारको गायन हुनु पनि जरुरी हुन्छ । जुन रसले जस्तो गायन माग्छ त्यही किसिमको रस भयो भने मात्र त्यसमा बुलन्दता आउने हो । वीर रसका गीतहरूलाई बाबैले सोध्लान् नि खै छोरा भन्लान् नि भन्ने गन्धर्वपद्धतिको गायनमा गाएर रस निष्पत्ति हुँदैन । गैरबहरको हकमा पनि सबैले लेखेका भावमा बुलन्दता हुँदैन । गजल भनेर छापा पत्रिकामा प्रकाशित हुने अधिकांश रचनाहरूले गैरबहरको बुलन्दतालाई खिल्ली उडाइरहेको नै देखिन्छ । यसको मतलब बहर होस् या गैरबहर होस् दुवैमा बुलन्दता आउनका लागि लेखकमा विलक्षणता चाहिन्छ । त्यो विलक्षणता कतिपयमा सहज हुन्छ भने कतिपयमा साधनासिद्ध हुन्छ यो फरक कुरा हो । बुलन्दता आयो भने बेबहरका गजलहरूमा बहरका पक्षपातीहरूले छिः बहर रहेनछ भनेर वाह नभनी रहन सक्नुहुन्न र बहरका गजलहरूमा बे–बहरका पक्षपातीहरूले रस नलिई बस्न सक्नुहुन्न ।

गजल गेय विधा हो भनेर रटान गरिरहेर पनि हुँदैन । गजलको परम्परा गायनबाट सुरु भएको हो । हो, गजल पहिले महफिलमा जम्थ्यो । नजिकै उस्तादहरू हुन्थे । सुरा हुन्थ्यो । सुन्दरी हुन्थे । महाराजाहरू बस्ने र त्यसको रस लिने परम्परा थियो । तर कुनै पनि परम्परा युगको अन्त्यसम्म त्यही रूपमा निर्वहन हुनुपर्छ भन्ने चाहिँ हुँदैन । त्यो परम्परा पूर्णतः मासिँदैन पनि तर त्यसमा केही फरकपन पनि आउँछ । आजभोलिको महफिलमा मान्छेले युगचेतना, व्यङ्ग्यचेत आदि खोज्न थाल्यो । पहिले शृङ्गारमा केन्द्रित रहेको गजल विधा अहिले दार्शनिकता र युगबोधको प्रस्फुटनका लागि अग्रसर भएको देखिन्छ । शृङ्गारको वर्णन हुने र हारमोनियम, तबला, सितार लगायत वाद्यसामग्रीहरूका साथ उस्तादहरूबाट गजल सुन्ने परम्परा भएका कारण त्यसबेला बहरमा नै लेखिन्थे होला । हिन्दी साहित्यमा पनि पछिल्लो समयमा बहरमा मात्र लेखिएका छन् र ? राहत इन्दौरीजस्ता स्थापित गजलकारहरूले लेखेका कतिपय रचनामा बहर पत्ता लगाउन मैले सकेको छैन, हुन त यो मेरो अल्पज्ञान वा अनभिज्ञता हुन पनि सक्छ ।

हिन्दूहरूको सबैभन्दा उच्च कानून वेद । वेदले विधिवत् रूपमा ब्राह्मणले दैनिक षट् कर्म गर्नुपर्छ नगरे प्रत्यवाय लाग्छ भन्दाभन्दै त आधुनिक ब्राह्मणहरूमा ती कुराहरू ऐच्छिक भए भने अन्य सिद्धान्तका त कुरा परका भए । संस्कृतमा एउटा उक्ति छ ‘छिन्ने पुच्छेऽपि श्वा श्वैव न चाश्वो न च गर्दभः’ अथवा पुच्छर छिने पनि कुकुर कुकुर नै हो गधा या घोडा हुँदैन । यसलार्इ ‘एकदेशविकृतमनन्यवत्’ अथवा एउटा अङ्ग विकृत हुँदैमा त्यो अर्को हुँदैन । बहर नहुँदैमा त्यसलार्इ गजल नै नभन्न त पाइएन नि । कुनै व्यक्तिको जन्मजात हात छैन भने त्यसलार्इ मान्छे नै नभन्ने ?

अन्तमा क्षमा माग्दै एउटा कुरा अनुरोध गर्न चाहन्छु,

गजलको विषयमा आवश्यकताभन्दा बढी नै ठेक्का लिने काम नगरौँ । यो गजल हो वा होइन भन्नुमा कम र गजलको रचना गर्नमा बढी ध्यान दिने गरौँ र रचनात्मक परिष्कारमा ध्यान दिने गरौँ । यहाँ त एक पक्ष अर्को पक्षमाथि यसरी खनिन्छ कि मानौँ एकले अर्कालाईपराजित गर्नैपर्छ । यो विवाद युद्धको स्तरमा कसरी पुग्यो ? बहर–बहार संस्थाको स्थापना बहरको उन्नयनका लागि भएको हो बेबहरको अस्तित्व नामेट गर्नका लागि होइन भन्ने बुझौँ । भन्दा अन्यथा नलिनुहोला तर टक गुरुङ, आवाज शर्मा, लालकाजी श्रेष्ठ, दीप मिलन लगायत स्रष्टाहरूमा मेरो अनुरोध यो छ कि हजुरहरूलाई बहर गजलमा अनिवार्य लाग्छ, बहरमै गजल लेख्नुहोला । बे–बहरकाले के भने, कसो भने भन्ने विषयमा चासो दिइरहनु पनि जरुरी छैन । तर हजुरहरूले बे–बहरमा लेख्नेहरूविरुद्ध खनिनु जरुरी छैन । (कहाँ खनिएँ ? भनेर प्रमाण दिन नसकुँला तर हजुरहरूको हृदयमा बे–बहरका पक्षधरहरूप्रतिको धारणा उति सकारात्मक छैन यो चाहिँ मेरो हृदयको आवाज हो) । बे–बहरमा बढी लेखिरहनुभएका अनन्त अनुराग, लोकेन्द्र बन्जारा, कृष्णप्रसाद अर्याल, लक्ष्मण सङ्गम, एउटा बुलन्द आवाज लगायतका साथीहरूलाई पनि यो अनुरोध छ कि हजुरहरू पनि बहरमा नलेख्न स्वतन्त्र हुनुहोला, तर बहर चाहिन्छ भन्नेहरूविरुद्ध खनिनु जरुरी छैन । एक अर्काले दुवैको अस्तित्व स्वीकार गरेर आफ्नो धर्म पालना गर्न सकिँदैन ? बहरमा लेख्नासाथ गैरबहरको विरोध गर्नैपर्छ ? बहरमा नलेख्दैमा गजलमा बहर चाहिँदैन भन्न सुरु गरिहाल्नुपर्छ ? चाहिन्छ या चाहिँदैन परको पाटो हो । केवल लेखनमा मात्र ध्यान दिए के जान्छ ? अर्को कुरा आफ्नो मुद्दामा आफैँ वकिल बन्न पाइँदैन । भन्न यतिमात्र सकिन्छ कि परम्परा यो थियो बीचबाट यस्तो परम्परा पनि सुरु भयो । के परम्परा नयाँ सुरु हुन सक्दैन ?

मैले माथि उल्लिखित गरेका नामहरूमा विपरीत हुन गए क्षमाप्रार्थी छु । मैले केवल सिद्धान्तका कुरा उठान गरेको मात्र हुँ । बहस गर्दा भद्र गर्ने गरौँ । एक अर्को पक्षमाथि हिलो छ्यापाछ्यापको वातावरणले सद्भावमा खलल पुऱ्याउँछ । बुद्धिजीवीहरूले नै यसो गरेपछि भर्खर सिक्दै गरेका सिकारुहरू पनि झन् आतङ्कको शैलीमा उर्लिन थाल्छन् । कृपया यसो नगरौँ ।म दुवैथरी गजलको पाठक हुँ । दुवैथरी लेख्छु । दुवैमा अभ्यास गर्छु । गायन पनि र वाचन पनि दुवै मन पराउँछु । दुवैलाई स्वीकार्छु । यसमा कोही आपत्ति छ भने क्षमा चाहन्छु ।

गजलकार पर्वतराज घिमिरेजीको फेसबुकबाट साभार

तपाईंको प्रतिकृया