‘ सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ हरियो हुन्छ’ तर, जसले मृत्युको मुखमा पुगेर जिउँदै मृत्युको अनुभुति गरेको छ उस्को जीवनको रङ कस्ता होला ? जीवनको अनुभुति त हामी जो कोहिले पनि गरेका छौं तर संसारमा केही यस्ता व्यक्ति पनि छन जसले आफ्नो जीवनकालमै मृत्युको समेत अनुभुति गरेका छन् ।  यिनै मध्येको एक हुन संगिता घिमीरे जसले मृत्युलाई नजिकैबाट नियालेकी छिन् । मृत्युलाई नियालीसकेपछि अथवा भनौ अनुभुत गरिसकेपछि उनले पुर्नजन्म समेत पाएकी छिन् । पुनर्जन्म पछि उनी केवल सगिता मात्र रहिनन, अहिले उनी संगिता घिमीरेबाट साहित्य सारथी संगिता बन्न पुगेकी छिन् ।

पेशाले शिक्षाकर्मी संगिता लामोे समय शिक्षण पेशामा संलग्न भएर अवकाश प्राप्त गर्ने क्रममा छिन, अहिले उनको दिनचर्या केवल शिक्षण पेशामा मात्र सिमित छैन । उनी लेखन कार्यमा पनि अत्यन्तै सक्रिय भएर अघि बढिरहेकी छिन् । उमेरले करिव आधा शताब्दी टेकेकी संगिताको जोश र जाँगर भने बाईस बर्षकी तन्नेरी युवतीको भन्दा कम देखिन्न । मृत्युलाई नजिकबाट नियालेकी संगिता कहिल्यै मर्न देखि डराउन्नन,मृत्युको भय बोकेर बाँचेकाहरुलाई उनी भन्ने गर्छिन,‘मृत्युभन्दा आनन्ददायक क्षण अर्को छैन ।’

“अझै पनि घरीघरी उनलाई  विगतले रुहाउदो रहेछ तैपनि उनमा आत्मविश्वास भने मरेको छैन । यस्तोबेला उनको दुखेको घाउको मलमको काम साहित्यले गरिरहेको छ ।”  

उनको केही बर्ष अघि प्रकाशित कृति ‘अनुभुति जीवन अनि मृत्युको’ मा  लेखेकी छिन, ‘समाजमा व्याप्त रहेका महिला हिंसा,वेथिति,अभाव,पीडा र दुर्घटनालाई प्रत्यक्ष वा अप्रत्यक्ष देख्दै गर्दा र सुन्दै गर्दा नसुने र नदेखे झैं गरेर मुन्टो फर्काइ बस्न सकिन र लेखन तिर लागें ।’ हो वास्तवमा संगिता समाजभित्रका घटनाहरुलाई आफ्नो कथाहरुमा बुन्ने गर्छिन । समाजका घटनाहरुले जव उनको मनमा च्वास्स घोच्छ तव उनी भावनामा डुब्छिन र त्यसैलाई कथामा उतार्छिन । उनको खुबी नै यहि हो हालसम्म लेखेका उनका कथा जीवन्न लाग्छन यथार्थपरक लाग्छन,पाठक सबैका मनभित्र गढ्छन् । पंक्तिकार पनि उनका कथा पढ्दै गर्दा निकैबेर घोत्लिन बाध्य भएको थिएँ ।

उनका हालसम्म दुईवटा कथा संग्रह प्रकाशित छन जसमध्ये ‘कुडिएको मन कथा संग्रह २०६७’ र ‘अनुभुति जीवन अनि मृत्युको २०७२’ प्रकाशित भइसकेका छन् । संगिताले थुप्रै गजल,कविता र गीतहरु समेत लेखेकी छिन् । यतिमात्र नभइ उनी गीतहरुको म्यूजिक भिडियो निर्देशन गर्ने समेत काम गर्दै आएकी छिन् । कलिला नानीबाबुको अगाडी चक डस्टर लिएर शिक्षाको ज्ञान दिन पाउँदा सन्तुष्ट व्यक्त गर्ने संगिता आफ्नो पेशालाई औधी माया गर्छिन, पेशा प्रति इमान्दार पनि देखिन्छिन तर यो पेशाबाट बचेको समय भने साहित्यमा अर्पेकी छिन् । पछिल्लो समय नेपाली साहित्यलाइ केही दिनै पर्छ भन्ने हुटहुटी बढेर उनी साहित्य सारथी बन्ने प्रयत्नमा छिन । उनी भन्छिन, ‘अब मेरो जीवनको अन्तिम लक्ष्य नै नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुर्याउनु हो । ’

जीवनमा पीडा के हो ? त्यो संगिताले बाहेक अरुले सटिक जवाफ पक्कै दिन सक्दैन होला । संगिताले आफूले भोगेका पीडाहरु साट्नका लागि अनुभुति साट्नकै लागि भनेर अनुभुति जीवन अनि मृत्युको नामको पुस्तक प्रकाशित गरेकी छिन जुन पढेपश्चात उनलाई धेरै हदसम्म बुझ्न सकिन्छ , दुई दुई पटक टाउकाको मेजर अपरेश गर्नु पर्दाको पीडा,त्यसले उनका आफन्तजन र परिवारमा पर्न गएको मानशिक पीडा कम दुखदायी छैनन् । पुरै बेहोस बनाएर ठूलो अपरेशन गर्नु भनेको मानिसलाई मारेर फेरि व्युताउने काम हो भन्दै उनले अपरेशन अगाडिको मनोविज्ञान र अपरेशन पश्चातको यथार्थ स्थीतिको वर्णन गरेकी छिन् । उनी अपरेशन पश्चात आफूले पाएको जीवनलाई नाफाको जीवन भन्न रुचाउछिन् । अर्को शव्दमा उपहारमा पाएको जीवन समेत भन्दै उनी उपहारमा पाएको जीवनलाई एक सेकेण्ड पनि खेर जान नदिइ रचनात्मक कार्यमा लगाइ उर्जाशील बनाउदै बाँकी समयको पुरा सदुपयोग गर्न चाहन्छिन । उनी भन्छिन,‘ म आफूलाई निरन्तर व्यस्त राख्न रुचाउँछु ,जति बाँच्छु ती पलहरुलाई रचनात्मक र मुल्यवान बनाउन चाहन्छु । ’

मानिसले जस्तो सुकै परिस्थितिमा पनि आफूलाई कमजोर महशुष गर्नुहुन्न सबैभन्दा ठूलो कुरा आत्मविश्वास नै हो भन्ने गर्छिन उनी । मानिसको जीवनमा सवैभन्दा ठूलो कुरा मान्छेले आफैले आफैंलाई विश्वास गर्न सक्नु  हो ।नुवाकोटमा जन्मेर ,काठमाडौमा हुर्केर स्याग्जालाई कर्मथलो बनाएकी संगिता आफूले नाफाको जिन्दगीबाट पनि दश बर्ष बिताइसकेको कुरा अभिव्यक्त गर्छिन् । उनले ‘रमणिय स्याग्जाको वृतचित्र’ लगायत थुप्रै म्यूजिक भिडियोहरु आफ्नै शव्द रचनामा तयार गरेर निर्देशन समेत गरेकी छिन् । अव पनि केही थप नयाँ कुरा लिएर आउने तर्खरमा छिन् ।

चिन्ताले मान्छेलाई चितासम्म पुर्याउँछ भन्ने कुरा सत्य हो । त्यसमा पनि रोग लागेका व्यक्ति मध्ये केहीलाई त रोगले भन्दा शोकले सताउने गरेको यथार्थ हो । ती व्यक्तिहरुले संगिता सारथीबाट धेरै कुरा सिक्नु जरुरी छ उनी ठूल्ठूला दुईवटा अपरेशनलाई आफ्नो शरिरमा लागेको सानो फोहरको संज्ञा दिन्छिन र घाउ फालेर सफा गरेको मात्र हो भन्न रुचाउछिन उनको यो आत्मविश्वास सवैको लागि प्रेरणा पनि बन्न जरुरी देखिन्छ । बिरामीले थला परेपछि मानिस अझ बढी संवेदनशिल हुदोरहेछ भन्दै अजम्वरी नभएको यस जीबनमा सबैमा सम्झना रहने केही न केही काम गर्नैपर्छ भन्ने अठोट संगितामा अपरेशन पश्चात पलाएको अठोट हो । त्यसैका लागि उनी साहित्यमा लागेकी हुन । अझै पनि घरीघरी उनलाई  विगतले रुहाउदो रहेछ तैपनि उनमा आत्मविश्वास भने मरेको छैन । यस्तोबेला उनको दुखेको घाउको मलमको काम साहित्यले गरिरहेको छ ।  स्याग्जा सास्कृतिक कला केन्द्रको अध्यक्ष समेत रहेकी संगिताको साहित्यमा यसरी नै मन लागिरहोस नेपाल खवर डेलीको तर्फबाट पनि धेरै धेरै शुभकामना ।

प्रस्तुति : जनार्जन पौडेल

 

तपाईंको प्रतिकृया