कवि अप्सना चाैलागाई‌ ।

— अप्सना चाैलागाई‌ 

सायद म पवन हुनुपर्थ्यो
कि मन्द गतिमा वसन्त बोकी तिम्रा नरम गाला छोइदिन्थेँ
तर म त्यो कालो बादल बनेँ र तिमी रंग बनिदियौ
सधैंसधैं म भित्रका विसंगति आफैँ लुट्पुटिँदै एकत्र भइदिए
र बसिदिए त्यहि रंगहीन थोपाहरूमा
जसले तिम्रो रंग पनि मेटाइरहे ।
म झरिरहेँ… केवल झरिरहेँ…

सायद म पारिजात हुनुपथ्र्यो
कि तिम्रो कोमल हातबाट
आस्थाको देवताको पाउमा चढिन्थेँ
तर म त्यो हाँगाबाट छुटिएको पात बनेँ र तिमी घाम बनिदियौ
सधैंसधैं म अनियन्त्रितझैँ दिशाहीन भौँतारिएँ
र लुक्न खोज्थेँ निस्पष्ट छायाहरूमा
तिम्रो तापदेखि म डराइरहेँ ।
म ओइलाइरहेँ…केवल ओइलाइरहेँ….

सायद म धुन हुनुपथ्र्यो
कि सपनामा डुली तिमीलाई सुहाउने संगीत बनिदिन्थे
तर म त्यस्तो अनकण्टार रात बनेँ र तिमी चरा बनिदियौ
सधैंसधैं मैले शून्यताको विलापमा तिम्रो अभाव थपिदिएँ
र घोरिन्थेँ तिमी उठ्ने प्रतीक्षामा
तर रातको आकाश खालि नै रहिरहेँ ।
म सुस्ताइरहेँ… केवल सुस्ताइरहेँ…

कति अर्थहीन छन् यी कुराहरू पनि
कति वियोगान्त अन्तर्कथा,
तिमी ओठको मधुरता थियौ
म आँखाको निष्क्रियता,
तिमी आश्रय थियौँ म यात्रा
तिमी मैनबत्ती बनिदियौ म शिखा बनी झरेँ ।
म जलिरहेँ… केवल जलिरहेँ…
०००

तपाईंको प्रतिकृया