[रुपा प्याथ]स्तनपान एउटा प्राकृतिक प्रक्रिया हो । बच्चा जन्मने वित्तिकै उस्को पोषणको लागि स्तनपान प्रकृया सुरु हुन्छ । जसबाट नवजात शिशुले आफ्नो शरिरलाई चाहिने पोषण तत्व प्राप्त गर्दछ र शारिरिक तथा मानसिक विकासमा सहयोग गर्दछ । यसलाई बच्चाको पहिलो खोप पनि भनिन्छ, किनकी यसले शिशुलाई विभिन्न संक्रमण, रोगबाट वच्ने , र रोगसँग लड्ने क्षमता बढाउन पनि मद्धत गर्दछ ।

स्तनपान प्राकृतिक प्रक्रिया हुँदा हुँदै पनि यसमा विभिन्न समस्याहरु आउँदछन । मेरो बच्चा जन्मे पछि मलाई प्रायजसोले भन्नुहुन्थ्यो,उ त अरुलाई सिकाउने र सहयोग गर्ने मान्छे , उसलाई स्तनपान गराउन सजिलो होला नि । तर अरुलाई सिकाएजस्तो कहाँ हुँदोरहेछ र ? आफूलाई पर्दा केही थाहा नभएको जस्तो पो हुँदोरहेछ । मेरो बच्चाले दुधको मुन्टामा निप्पल सिल्ड लगाँउदा मात्र दुध चुस्दथ्योे । पछि २१ दिनभित्र बल्ल निप्पल सिल्डको बानी छुटेको थियो । दुधको मुन्टा राम्ररी नबनेको हुनाले निप्पल सिल्ड राख्नु परेको थियोे । सफल स्तनपानको लागि सँगै काम गर्ने दिदी, साथी, वहिनीहरु र परिवारका सदस्यले धेरै सहयोग गर्नुभएको थियो । यो त भयो यौटा स्वास्थ्यकर्मी हुँदाहुँदै पनि मैले भोग्नुपरेको समस्याको उदाहरण । यी लगायत मैले प्रसुति बार्डमा काम गर्दा यस्ता थुप्रै समस्याहरु देख्ने गरेकी छु ।

सुत्केरी आमाको लागि कहिँलेकाहि त स्तनपान चुनौतिपुर्ण बन्न पुग्दछ । बच्चा जन्मे पछि आमालाई अब दुध चुसाउनु पर्छ खुवाउनुस भनेर सल्लाह दिन्छौँ हामी तर धेरै जसो आमा र विरामीका कुरुवाहरु दुध नै आएको छैन, दुध नै आउदैन, हाम्रो बच्चालाई के खुवाउने ? जस्ता प्रश्नहरु गर्नुहुन्छ । हो यो सबै जसो नयाँ आमाहरुले भोग्ने पहिलो समस्या हो । भर्खर आमा भएका र आमा बन्न लागेका महिला तथा उहाँहरुले परिवारले यो बुझ्नु जरुरी छ कि बच्चा जन्मेको पहिलो ४–५ दिन सम्म दुध कम बन्छ । बच्चाले दुध चुस्दै जान्छ र दुधको मात्रा बढ्दै जान्छ । यो एक डिमाण्ड र सप्लाई को नियम जस्तै हुन्छ । आमाको शरीरमा बच्चाले मागेजति उत्पादन गर्न थाल्छ जस्को लागि आमाले प्रशस्त पौष्टिक आहारको सेवन गर्नुपर्छ । दुध आएन भनेर दुध चुसाउन छोड्यो भने झन दुध कम आउन थाल्छ । बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्छ । यदि केही समस्या आएमा समाधान पनि जति सक्दो छिटो गर्नुपर्छ । परिवारका अन्य सदस्य र श्रीमानले सफल स्तनपानको लागि धेरै भन्दा धेरै सहयोग गर्नुपर्छ ।

स्तनपान गराँउदा आमा र बच्चा दुवै आरामदायी आसनमा बस्नुपर्दछ । आमा वा बच्चा कसैलाई अप्ठ्यारो भयो, बच्चाको मुखभित्र दुधको मुन्टा (कालो भाग) धेरै मात्रामा नपस्नाले स्तनपान गर्न र गराउन गाहे हुन्छ । जसरी हामीले गाडी चलाउन सिक्छौं , बच्चाले पनि स्तनपान गर्न सिक्दै जाने कला हो । दुध चुसेन भनेर लाक्टोजन वा गाइको दुध खुवाउँदा स्तनपानको बानी झन छुट्छ र पछि गएर स्तनपान नै नगर्ने अवस्थामा पुग्छ । त्यसैले आमाले आरमदायी आसानमा बसेर बच्चालाई आफूतिर फर्काएर बच्चालाई सजिलो हुने गरि बोकेर दुध चुसाउनुपर्दछ । दुध चुस्न सफल भएको छ भनि पत्ता लगाउने तरिका भनेको बच्चाको मुखभित्र दुधको कालो भाग पुरै भित्र छिरेको हुनु पर्छ र बच्चाको ओठ बाहिर फर्केको हुनुपर्छ ।

कहिलेकाहिं बच्चाले विभिन्न समस्याहरु भोगेको हुन्छ जस्तो कि टाउकोमा धेरै दवाव पर्छ, दुध थुनेला हुनाले स्तनपान गर्न अस्विकार गर्छन । यस्तो बेलामा बच्चाले के कारणले चुस्न नमानेको , बच्चालाई कुनै समस्या ज्वोरो आएको छ कि हेर्नुपर्दछ । बच्चालाई खेलाँउदै आमाको काखमा राखी स्तननजिक लानुपर्दछ । बच्चालाई विभिन्न आसनमा राखेर दुध चुसाउने प्रयास गर्नुपर्दछ । बच्चालाई कहिले पनि दुध चुसाउन कर गर्नुहुदैन अनि बोतलबाट पनि खुवाउनु हुदैन । यदि वोतल फोहोर भएमा राम्ररी उमालेर प्रयोग गर्नु पर्छ । यस्तो नगरेमा बच्चा बिरामी हुन सक्दछ । चुसेर दुध नखाएसम्म दुध निचोरेर कचौरामा राखि चम्चाले खुवाउनुपर्दछ । चम्चा र कचौरा राम्ररी उमालेर पखालेको हुनुपर्दछ ।

हामी धरैलाई थाहा छ कि बच्चालाई छ महिनासम्म आमाको दुधमात्र चुसाउन पर्छ भनेर तर खोई त जागिरे महिलाहरुले दुध चुसाउन पाएको । कुनै कुनै संस्थाले दुध चुसाउने वातावरण त मिलाएको होला तर मैले धेरै महिलाहरुले उचित वातावरण नपाएको देखेकी छु । म स्वयं आफ्नो वार्डमा भर्खर जन्मेको बच्चालाई छ महिनासम्म आमाको मात्र दुध खुवाउनुस भन्छु तर मैले आफैले चाहेर र ज्ञान भएर पनि गराउन सकिन । दुई महिना सुत्केरी बिदा र एक महिना सञ्चित बिदा गरि तीन महिनासम्म आफ्नै दुध खुवाउन सफल भएं । त्यसपछि तीन महिनासम्म आमाको मात्र दुध खुवाउन सफल भए । त्यसपछि तीन महिनासम्म आमाको मात्र दुध खुवाउनको लागि काममा जानु अघि दुध निचोरेर घरमा छोडेर जान्थें । तर त्यसरि निचोरेर दुध , एक दुई चोटि लाई मात्र पुग्थ्यो र लाक्टोजन खुवाउन बाध्य हुन्थे । यसरी निचोरेर राखेको दुध ६ देखि ८ घण्टासम्म रुम टेम्प्रेचरमा भण्डारण गर्न सकिन्छ । आईस प्याक भएको व्यागमा २४ घण्टा सम्म, ४ डिग्री सेल्सियस सम्म ५ दिन फ्रिजमा,१५ डिग्री सेल्सियस सम्म दुई हप्ता ,१८ डिग्री सेल्सियस सम्म ३ महिना देखि ६ महिना सम्म र २० डिग्री सेल्सियस सम्म ६ महिना देखि १२ महिना सम्म भण्डारण गर्न सक्दछौ । त्यस्तो दुध बच्चालाई खुवाउनु अगाडि दुध कचौरामा राखि तातो पानी भएको भाडामा डुवाई मनतातो बनाएर मात्र खुवाउनुपर्दछ । एकपटक तताएको दुध अर्को चोटी प्रयोग गर्न मिल्दैन । यसरी आमा बच्चादेखि टाढा भएको अवस्थामा पनि आमाकै दुध भण्डारण गरेर खुवाउन सकिन्छ ।

महिला रोजगारिको कारण समाज र परिवारमा सकारात्मक प्रभावहरु परेका छन तर अधिकांश नकारात्मक प्रभावहरु प्नि छन् । महिला स्वास्थ्य राख्न तथा उनीहरुका बच्चाको वास्थ्य र अधिकार दरिलो बनाउन स्तनपान गराउनु पर्दछ भनेर मात्र हुदैन । यसमा सबैले सक्दो सघाउन पनि पर्दछ । महिलाहरुलाई स्तनपानको लागि केहि समय दिएर स्तनपान गराउने ठाँउ दिएर कार्य स्थलमा पनि मिलेसम्म स्तनपान गराउन सहयोग गरेर बच्चा र आमाको जीवन सन्तुलनको लागि केही हदसम्म भए पनि योगदान पु¥याउन आवश्यक देखिन्छ ।

अर्को कुरा हाम्रो समाजमा अहिले पनि स्तनपान गराईरहेकी आमा पुनः गर्भवति भएको थाहा हुनसाथ स्तनपान गराउनु हुदैन भन्ने पनि चलन छ । तर गर्भवती महिलाले आफ्नो पहिलो सन्तानलाई कम्तीमा दुई बर्षसम्म सुरक्षित साथ स्तनपान गराउन सक्छिन । त्यसको लागि हुर्किरहेको बच्चा , पेट भित्रको नयाँ बच्चा र आफ्नो लागि प्रशस्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । गर्भवती महिलाको बच्चाले दुध चुस्दा कहिँलेकाहि स्तन दुख्छ । गर्भवती महिलामा गर्भपतनको कुनै संकेत छैन भने दुधे वालकलाई स्तनपान गराउन डराउनुँ पर्दैन । अर्को बच्चा जन्मेपछि दुवै बच्चाहरुलाई प्रशस्त मात्रामा दुध चुसाउन सकिन्छ । बच्चा धेरै नै रोईरहेको छ भन्नेहरु पनि देखेकि छु । बच्चाले चाहेजति आमाको दुध नपाएकोले पनि रुन सक्दछ । बच्चालाई धेरै चिसो वा तातो भएमा, दिसा पिसाब गरेमा, पेटमा अचानक दुखेमा पनि बच्चा रुन सक्छ । त्यस्तो वेलामा विषेश ध्यान दिएर बच्चालाई फकाएर दुध चुसाउनु पर्दछ । पहिलो पटक आमा बन्न लागेको महिलाहरुले गर्भावस्था देखिनै स्तनपानबारे बुझ्नु र सिक्नु जरुरी छ । यदि दुधको मुण्टामा केही समस्या भए देखि डाक्टरकहाँ देखाएर उचित सल्लाह लिनुपर्छ । दुधको मुण्टा भित्र पट्टि धसिएको छ भने गर्भावस्थामा नै पत्ता लगाई मुन्टालाई बाहिर तानेर घुमाउनुपर्दछ । यस्तो अवस्थामा संभव भए कोही अर्को बच्चालाई दुध चुस्न लगाउन सकिन्छ ।

तपाईंको प्रतिकृया