साउन,१३ काठमाडौ । [जनार्जन पौडेल] साहित्यका विभिन्न विधाहरुमध्ये गजल विधा पनि एक हो । नेपालको सन्दर्भमा हेर्ने हो भने अहिले यो निकै नै लोकप्रिय विधाको रुपमा अगाडि आइरहेको छ । पछिल्लो समय प्रविधि र सामाजिक सञ्जालका कारण बालक देखि बृद्धसम्म गजल पारखी भइरहेका छन् । नबौ शताव्दिमा अरबियन देशबाट सुरु भएको गजल विधा नेपालसम्म आइपुग्दा भने १९ औ शताब्दि लागेको थियो । नेपालमा गजल लेख्न थालिएको १३० बर्ष भएता पनि गजल विधामा महिलाले लेख्न सुरु गरेको करिव ३० बर्षमात्र भएको विज्ञहरु बताउँदछन् । पछिल्लो समय यस विधामा पनि महिला र पुरुषले छुट्टाछुट्ै बिषयमा लेख्नुपर्ने र ‘पुरुषले लेखे मात्र गजल लेख्न पाईने , महिलाले लेखे ‘चारु’ लेख्नु पर्ने भन्ने गजलकार देबी पन्थीको नयाँ प्रस्तावित सिद्धान्तले सिंगो क्षेत्रलाई नै तरंगित बनाइदिएको छ । नयाँ सिद्धान्तमा लैंगिक भेदभाव भयो भन्दै थुप्रै महिला साहित्यकार एवम गजलकारहरुले सामाजिक सञ्जाल मार्फत दुखेसो पोखेका छन् । केही नयाँ अन्वेषण हुँदाहुँदै पनि महिला पुरुषबीचको विभेद छुट्याएकाले सिद्धान्त बढी आलोचित बन्न पुगेको छ । यसबारे बिज्ञहरुसंग छलफल गर्दा बिज्ञहरुबाट पनि खास निचोड नआएकाले थप छलफल जरुरी देखिन्छ ।

गजलकार पन्थीको गजल सिद्धान्तमध्ये सर्वत्र चर्चा चाहिं ‘चारु’कै रहेको छ । नयाँ नयाँ सिद्धान्तहरु ल्याउन खोज्नु नराम्रो हैन यसलाई सवैले सराहनिय नै भनेका छन तर, उनको ‘चारु’ सम्वन्धि अवधारणाको भने थुप्रैले विरोध गरेका छन् ।यसै प्रसंगमा नेपालकै पहिलो महिला गजलकारका रुपमा चिनिनुभएकी श्रेष्ठ प्रिया पत्थरले नेपाल खवर डेली मार्फत पन्थीसंग प्रश्न गर्नु भएको छ । महिलाले लेख्दैमा चारु हुने भए म कहिलेकाहिं पुरुष भएर पनि गजल लेख्ने गरेको छु, त्यस्तो गजललाई के नाम दिउँ ? हुनत पन्थीको यस सिद्धान्त यौटा प्रस्तावको रुपमा आएको हो त्यसलाई मान्ने नमान्ने भन्ने कुरा सबैमाझ छलफल भएपछि होला । कसैले सिद्धान्त ल्याउदैमा त्यसलाई नै हुबहु लागुगर्नु पर्छ भन्ने पनि छैन त्यो चाहिं आगामी दिनमा देखिएला ।

हालसम्म बहर,छन्द र स्वतन्त्र गरि तीनवटा विधामा गजल लेख्दै आएकोमा देबी पन्थीको प्रस्तावित सिद्धान्तमा गजल,चारु,राग र विराग चार विधा छन् । जसमध्ये सवैभन्दा आलोचित सिद्धान्त हो ‘चारु’ जसको व्यापक विरोध भइरहेको छ । यसै सन्दर्भमा हामिले नेपाली गजलका वरिष्ठ हस्तीहरुदेखि भर्खर भर्खर गजल लेख्न थालेका महिला गजलकारहरु सम्मका प्रतिनिधिमुलक हुनेगरि धारणा बुझ्ने प्रयाश गरेका छौं , यहाँहरुसमक्ष ल्याउने जमर्को गरेका छौं । प्रस्तुत छ वहाहरुको धारणा जस्ताको तस्तै :

गजलकार श्रेष्ठ प्रिया पत्थर :’उहाँले सैद्धान्तिक रुपमा स्पष्ट पार्नु पर्छ’
उहाँले गजलको जुन वर्गिकण गर्नु भएको छ त्यस सन्दर्भमा गजल चारु, गजल राग, गजल विराग, गजल राग-विराग अनि पुरुषले लेख्ने गजल मात्र नभनेर गजल फलाना सम्म भनेर वर्गिकरण गरे त त्यस्तो केही फरक पर्दैन तर नारीले लेखेको गजल त हुँदै हुन्न भन्नु चाही मलाई मान्य छैन । त्यस्तै नारी आफू पुरुष पात्र भएर लेखेकोलाई र पुरुषले आफूलाई नारी पात्र बनाएर लेखेको लाई के भन्ने ? उहाँले सैद्धान्तिक रुपमा स्पष्ट पार्नु पर्छ ।

 

गजलकार अम्बिका कार्की : ‘गजलमा नारीलाई छेकवार लगाउँनु पुरातनवादी सोचको नमुना मात्रै हो’
साहित्य आफैमा विचारको प्रयोगशाला हो र पनि यसको सैद्धान्तिक पक्षमा आजको पुस्ताले ध्यान दिनु जरुरी हुँदाहुँदै कतिपय अग्रजहरूको स्पष्ट धारणा र अनुजहरूलाई सहि मार्ग निर्देशन दिन नसक्नाले गजल बिधामा विचलन आएको तथ्य कोही कसैले किमार्थ बिर्सनु हुँदैन । लय बिना सेर र बहर बिनाको गजल हुँदैन भन्ने जान्दाजान्दै पनि गजलका बिज्ञहरूले गैर बहरका सिर्जनालाई सम्हालेर गजलकै कोटीमा राखेर आफ्नो ग्रन्थमा उल्लेख गर्ने र नयाँ पुस्तालाई राम्रो लेख्नु भएको छ भनेर उक्साउँने गरेपछि मात्र गैरबहरका गजलले बजार लियो । के अब यी रचनालाई मर्न दिनु? यही हो अग्रजहरूको धारणा?अनि सैद्धान्तिक पक्षमा निर्णायक भूमिका निर्वाह गर्ने क्रममा स्पष्ट धारणा राख्न डराउँने जुन प्रवृत्ति देखिएको छ त्यसले नै नेपाली गजल माथि कुठाराघात गरेको तथ्य हामीले बिर्सनु हुँदैन ।पछिल्लो समय गजल नारीले लेख्नु हुदैन र यदि लेखिन्छ भने चारू लेख्नुपर्छ भन्ने कथित धारणाले जुन बिवाद सिर्जना भएको छ त्यसको मुख्य कारण गजल बिज्ञहरू नै हुन् ।उनीहरूमा पनि अबको आधुनिक गजल कस्तो हुने भन्ने कुरामा एकता छैन। नेपाली माटो र जनताले स्वतन्त्रताको श्वास मात्रै होइन संविधान अनुसार समान हक पाइसकेको कुरा गजल बिज्ञहरूले बुझ्न जरुरी छ।त्यसमा पनि साहित्य भनेको अन्तरमनको आवाजलाई परिष्कृत र परिमार्जन गरि कला मार्फत आफ्नो बौद्धिकता प्रस्तुत गर्ने विधा हो ।जसले गर्दा आफ्नो रुचि ,क्षमता अनुसार साहित्यको विविध विधामा कलम चलाउन पाउँनु नारीको नैसर्गिक अधिकार हो ।गजलमा नारीलाई छेकवार लगाउँनु पुरातनवादी सोचको नमुना मात्रै हो ।कोही कसैले सिद्धान्तको दादागिरी देखाएर गजल लेखनमा बारबन्देज गर्छ भने त्यो किमार्थ हामीलाई स्वीकार्य हुनेछैन।गजल लेखिरहँदा लिङ्ग भेद खुल्नु हुदैन यो ध्रुव सत्य कुरा हामीले बिर्सेको छैनौ परन्तु यो सैद्धान्तिक पक्ष हामी नारीले मात्रै पनि होइन पुरूषले पनि स्वीकर्नु पर्ने तथ्य हामीले पनि सम्झाइरहनु नपर्ला।

गजलकार दिलु थापा मगर : ‘चारुको आवश्यकता छैन. यो आफू चर्चामा रहने बाटो मात्रै हो ।’
गजलमा स्त्रीको वर्णन मात्रै हुन्छ भन्ने बुझाइ रहेकोले त्यसैको फाइदा उठाएर गजललाई थप भ्रमित पार्न खोजिएको छ । कयौं सैद्धान्तिक र बिषयगत विवादका बीच अहिले गजल धेरै फस्टाएको छ । गजलमा धेरै कुरा अटाउँछन् । चाहे पुरुष बलिष्ठताको विषय होस् चाहे स्त्री सौन्दर्यको विषय होस् । गजल यस्तो व्यापक विधा हो कि जसको एक शेरमै विश्व ब्रह्माण्डका सम्पूर्ण सौन्दर्यलाई अटाउन सकिन्छ । महिलाले यो लेख्ने पुरुषले यो लेख्ने भनेर लेख्नेको हात बाध्ने सामर्थ्य र दुष्सहास कसैले राख्नु पर्दैन । के तेस्रोलिङ्गीले केही नलेख्नू ? चारुको आवश्यकता छैन. यो आफू चर्चामा रहने बाटो मात्रै हो ।

जीविका अश्रु : ‘काव्य सिर्जनामा लिङ्ग बीचमा नाआए हुन्थ्यो’
देवि पन्थीका कुरा सिधै गलत भन्न मिल्दैन ।उनले केहि नया बिचार पस्केका छन् । यो पक्ष राम्रोपनि हो ।हामीले सधैं अर्काले खनेको बाटो हिड्नुभन्दा आफूले नयाँ बाटो खोलेर अरुलाई आफ्नो बाटोमा हिडाउनु सक्नुपर्छ।तर नारीले गजल लेख्न हुन्न चारु मात्र लेख्नुपर्छ भन्ने कुरा मलाई अलिक खड्केको हो।काव्य सिर्जनामा लिङ्ग बीचमा नाआए हुन्थ्यो भन्न चाहन्छु।

 

गजलकार गोमा सिटौला : ‘तेस्रोलिङ्गीको सृजनालाई पनि छुट्टै बिधा दिनु पर्ने हुन्छ’
चारु को अर्थ सुन्दर भएर होला सायद गजल बिधालाई झन् सुन्दर बनाउन `चारू´ शब्द ल्याइएको हो कि जस्तो लाग्छ तर यसरि साहित्यमा महिला र पुरुष भनेर बिभाजन गर्ने हो भने `भाषा´ र `लिपी ´समेत महिला र पुरुषलाई छुट्टाछुट्टै सृर्जना गर्नुपर्ने हुन्छ र तेस्रोलिङ्गीको सृजनालाई पनि छुट्टै बिधा दिनु पर्ने हुन्छ। के साहित्य मनोरञ्जन मात्र हो र?साहित्यले समाजमा सन्देश छोड्नु पर्दैन र? केवल माया प्रेम र उत्ताउलो साहित्य मात्र गजलमा सिमित राख्ने हो भने गजल बिधा साहित्य बाट लोप हुँदै हुनेछ। हिजाे पनि गजल थियाे, अाज पनि छ र भाेलि पनि गजल नै रहन्छ ।रातारात चर्चा कमाउन होस् या नेपाली साहित्यको विकासको लागि कसले के लेखे ,के भने जस्ता विवादमा अल्झिनु भन्दा सकेसम्म प्रचलित मान्यताभित्र रहेर स्तरीय गजल र समाजलाई केही सन्देश दिने खालको लेख्ने प्रयास गर्नुपर्छ।

गजलकार सरला जोशी : ‘ सिर्जना मा कुनै लिङ्ग र भेदभाव हुँदैन’ 
धेरै बर्ष देखि हामी गजल लेखनमा लागी रहेका छौ, गजल लेख्नु हाम्रो अधिकार हो हाम्रो अधिकारको हनन हुन दिँदैनौ हामी। यदी नारीहरूले गजल लेख्नु हुँदैन भने गजल गाउन पनि हुँदैन होला तर गाइ रहेका छन् त नेपाल भारत मा त्यो पनि त बन्द गर्नु पर्थ्यो नि किन बन्द गरेनन् त? नारी पुरुष छुट्याउन भए राष्ट्रपति नारी छिन् के गर्ने? सिर्जना मा कुनै लिङ्ग र भेदभाव हुँदैन यो त स्वच्छन्द भावना हो जस्मा सिर्जना गर्ने खुबी छ त्यसैले लेख्ने हो यति धेरै बर्ष पछि यो चारु किन?

 

 

गजलकार अनामिका सजल :  ‘म गजल नै लेख्छु,किनकि म नायक हुँ मेरो प्रेमको’
प्रेम भन्ने जिनिस पुरुषले नारीलाई गर्दा मात्रै हुन्छ कि जसले जसलाई गर्दा पनि हुने हो ? नारीमा हुने पुरुषप्रतिको प्रेमाभावलाई गजल भन्न मिल्दैनथ्यो भने हिजोका गजलका अग्रज भनौदाहरु किन अहिले दहिचिउरे धारणा राख्छन् ? खोज अनुसन्धान गरेरै परिभाषित गरेकाहरुले गजल नारीप्रति पुरुषको प्रेमाभाव(यौनाभाव) मात्रै हो किन भनेनन् ? मैले भन्न खोजेको हिजो गजललाई स्थापित गराउन सक्रिय भुमिका निभाउनेहरुले , गजलमै विद्यावारिधि गर्नेहरुले कि त हाम्रो अध्ययन ,अनुसन्धान पुगेन भनेर घुँडा टेक्न पर्यो कि त जुन रचनालाई गजलको नाम दिइएको छ ,त्यसको पक्षमा स्पष्ट वकालत गर्न सक्नुपर्यो । र अन्त्यमा म गजल नै लेख्छु,किनकि म नायक हुँ मेरो प्रेमको । नायकत्व पुरुषको मात्रै हुनुपर्छ भन्ने के छ ??

गजलकार दिक्षा भण्डारी : ‘गजलको आकार र लोकप्रियतामा आँच आउने खालको बिखण्डनको राजनीति नहोस्’
हो जसरी चारू भन्ने बिषय उठाइएको उठाउनेलाई सलाम तथा यसको नियम आकार प्रकार सहित परिभाषित गरियोस्। तर गजल अहिले जुन आकार र लोकप्रिय छ त्यसमाथी आक्रमण नहोस् ।,कतिपय महिला सर्जक पनि चारूको समर्थन र प्रवधनमा लाग्नु भएको होला लाग्नुहोस्। यसमा आपत्ति जनाउनु पर्ने केही देख्दिन म तर गजलको आकार र लोकप्रियतामा आँच आउने खालको बिखण्डनको राजनीति नहोस्।आज सम्म जुन हिसाबले चलेको छ यस्तै चलिरहनु पर्छ।साहित्य भनेको दाउरा घाँस गर्दा सुसेलेका सुसेलो पनि अरूसामु व्यक्त गरिन्छ भने पनि साहित्य हो। यसमा नियम परिधिभित्र रहेर आ-आफ्ना बिधामा योगदान गर्न सकिन्छ।

गजलकार सिर्जना सरोवर : ‘ विभेद रहित संसारको विचरण गर्नुहोस् ‘

चारू शब्द सुन्दै आएको तर महिलाले सृजना गरेको गजल भन्न मिल्दैन सोही रचनालाई चारू भनेर संज्ञा दिइनु पर्छ भन्ने कुरा मेरालागि नितान्त अनौठो भयो । एकदिन मेरो गजलमा देवी पन्थी दाइले यो गजल होइन गजल भन्न मिल्दैन भन्दा सुरुमा अनौठो लागे पछि मैले त्यसलाई गहिरिएर चिन्तन गर्दा आखिर गजल र चारूमा केही भेद देखिन । मात्र देखें वहाँको बुझाइमा लैंगिक विभेद । चिन्तनले निकाल्यो यस्तो निष्कर्ष कि आजको यो युगमा जात वर्ण वर्ग लिंग र भूगोलका आधारमा विभेदी सोंच कसैको आउँछ भने त्यो कुनै भयानक मानसिक रोगबाट ग्रसित भएको अवस्थामा आएको भावना हो जस्तो लाग्यो । र मैले वहाँसँग वादप्रतिवाद नगरी निरन्तर लेखीनै रहें मैले गजल अभ्यास गर्न छाडेकी छैंन र यस्ता कुराले मेरो गतिशील कलम रोकिने छैन । स्रष्टा साथीहरूसँग पनि म यही आग्रह गर्दछु कि कसैले तँ यो लेख तेरो भावना यता मोडिनु आवस्यक छ भन्दैमा त्यसको पछी दौडिनु भन्दा आफ्नो कलमको गति बढाउने तर्फ लाग्नु उचित हुने छ र अन्तमा हाम्रा आदरणीय दाइ देवी पन्थीदाइलाई पनि यसै स्तम्भ मार्फत यो भन्न चाहान्छु कि दाइ तपाईंलाई नराम्रोसँग लैंगिक विभेद जस्तो घिनलाग्दो कुरीति र कुसंस्कार जन्य मानसिकताले गाँजेको रहेछ यस्तो दुर्भावना बाट चाँडै मुक्त हुनुहोस् र विभेद रहित संसारको विचरण गर्नुहोस् हार्दिक शुभकामना छ ।

 

गजलकार बिमला पोखरेल : ‘साहित्य खुला आकाश हो जसलाई नियाल्न हर कोहिलाई अधिकार छ’
अहिले विवादमा आइरहेको विषय हो ‘चारु’ जसलाई गजलक‍ो विधा नै हो भनेर देबी पन्थीले किटान गर्नुभएको छ,  त्यो विल्कुलै गलत काम देखिन्छ । थाहा छैन उहाँले गजलको बारेमा कति पढ्नुभएको छ र कति पढाउनुभएको मेरो वहाँलाई एउटा प्रश्न छ  अहिलसम्म लेखिएका कुनै गजल होइनन भने ती के हुन   ? के नामाकरण गर्नुहुन्छ?  तपाइंले   चारु भनेको स्त्रीले लेखेको गजल हो ,पुरुषले नारी सौन्दर्यको वर्णनमा मात्र गजल लेख्न सक्छ  भन्नुभएको छ त्यो विल्कुलै गलत  छ । के गजलको परिभाषा प्रेम मात्रै हो ? के गजल नारीले लेख्नै नहुने बिषय हो ? के गजलले समाज परिवर्तन र देश प्रेममा कुनै भुमिका खेल्न पाउदैन ?यतिखेर तपाइंले जताततै उठेका यी तमाम प्रश्नको उत्तर दिने बेला भएको छ ।

महोदय, यहानेर झल्किन्छ हजुरको गजल प्रतिको सङ्कुचित विचार , भनिरहनुभयो पुरुषले नारीको सौन्दर्य वर्णन गर्नु गजल हो,  साहित्यलाई लिङ्गमा छुट्याएर गजलको स्वरुप परिवर्तन गर्ने काम नगर्नुहोस् । साहित्य खुला आकाश हो जसलाई नियाल्न हर कोहिलाई अधिकार छ! नेपाली साहित्यको इतिहास केलाएर  हेर्नुहोस् नारी  र पुरुषका लागि कहाँनेर कुन विधा छुट्याइएको छ?

तपाईं त्यहि समाजमा जादै हुनुहुन्छ जहाँ नारीलाई घरको बन्द कोठाको संसारमा सिमीत गराईन्थ्यो,  ढुङ्गे युगमा फर्किन खोज्नुहुन्छ ? आफू जुरुक्क उठेर जान सक्नुहुन्छ? हजुरकि प्रेमिमा श्रीमती या अन्य कोही कसैको बयान गर्नुछ आफ्नै ईच्छा अनुसार गर्नुसक्नुहुनेछ यो हाम्रो आपतिको विषय होइन तर””चारु”” नामाकरण गरेर गजलको अङ्गभङ्ग गर्ने कोसिस नगर्नुस्  आफ्नै सुर तालमा चलिरहेको र बदलिरहेको समाजमा साहित्य जस्तो निर्मल नदीलाई लिङ्ग र वर्णमा त्यहि दृष्टान्त देखाएर विभाजन गरेर धमिलो विचारमा मिसाउने दुस्प्रयास नगर्नुस्


गजलकार अरुणा श्रेष्ठ ‘अनु’ : ‘विधा नै पेवा हुनु र बन्धैज हुनु राम्रो सङ्केत नहोला ‘
पुरातन मान्यता अनुरुप गजलको सुरुवात नारिको सोन्दर्य   वा विभिन्न अङ्गहरूको वर्णन गरिएर लेखिएका सुन्दर शब्दमालालाई मानिएकै आधारमा नारीले गजल लेख्नु हुन्न र पुरुषले चारु भन्ने विचार अमान्य लाग्यो। साहित्य र साहित्य विधा हरेकको साझा अधिकार हो र हुनु पर्छ कमसेकम सहित्यमा त नारी पुरुषमा विभेदी सिमा नथोपौँ ! नयाँ विधाको आगमन हुन बरु सुनौलो परिवर्तन हुन सक्ला तर विधा नै पेवा हुनु र बन्धैज हुनु राम्रो सङ्केत नहोला की !

 

तपाईंको प्रतिकृया