[जनार्जन पौडेल]नेपाली सिनेमा जगतमा चर्चित नाम हो अभिनेता सरोज खनाल । जसले नेपाली सिनेमा जगतमा उल्लेखनिय योगदान पुर्याएका छन् । नेपालमा जीवन्त अभिनय गर्ने कलाकारहरुको पंक्तिमा पर्दछन उनी । कुनै समय नेपाली दर्शकको मन मन्दिरमा बस्न सफल थिए उनी । पंक्तिकार पनि उनको प्रशंसक मध्येमा एक हुँ । तर पछिल्लोे समय सामाजिक सञ्जाल मार्फत उनले जुन हर्कत देखाएका छन त्यसका कारण म लगायत उनका लाखौं प्रशंसकबीच उनी उदांगो भएका छन् । प्रसंग गत शुक्रवार राष्ट्रपति कार्यालयको सभाहलमा भएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण कार्यक्रमको हो । जुन कार्यक्रममा खनालले आफूलाई शौचालयको कमोडमा बस्न बाध्य बनाइएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर यतिबेला भाइरल बनेका छन् । सामाजिक सञ्जाल एवम अखवारका पानाहरु यसै बिषयले भरिएका छन् ।

सुरुमा नायिका करिश्मा मानन्धरले गरेको पोष्टको यथार्थता नबुझ्दै आम मानिसले जुन अवधारणा बनाएका थिए पछिल्लो समय त्यो अवधारणामा परिवर्तन भएको छ । अभिनेता खनालले सार्वजनिक गरेको तस्विरले आयोजक पक्षको मात्र नभइ देशको सम्मानित संस्थाको इज्जत प्रतिष्ठामा समेत आँच आएको भन्दै खनालप्रति नकारात्मक टिप्पणी गर्नेहरुको संख्या बढ्दै गएको छ । त्यसमा पनि जब चलचित्र विकास बोर्डले नै बिज्ञप्ति जारी गरेर राष्ट्रपति भवनको सभाहलसंगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमा गरेको हो भन्यो तव आम नागरिकहरु उल्टो खनाल प्रति नै प्रतिप्रश्न गरिरहेका देखिन्छन् ।

यहि एउटा घटनाका कारण अभिनेता सरोज खनाल प्रति समाजले हेर्ने दृष्टिकोण नै बदलिन सक्छ । एउटा स्थापित र सम्मानित चलचित्रकर्मीले आफ्नै संस्था आयोजक भएर गरेको कार्यक्रमको बारेमा यस्तो नराम्रो प्रचार प्रसार गर्नु कतिको न्यायोचित होला ? आज आम मानिसहरु यहि प्रश्न गरिरहेका छन् । त्यसमा पनि संगसंगै राष्ट्रपति जस्तो गरिमामाय संस्थालाई विवादमा ल्याउन खोज्नु त झनै निन्दनीय छ भन्नेहरुको संख्खा पनि बढिरहेको छ ।

यदि शौचालयमै बस्नुपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको हो भने सरोज खनालले कमोडमा बसेर तस्विर किन खिचाए ? अहिले सबैको चिन्ता र चासोको बिषय पनि बनेको छ यो । पत्रकार बिश्वमणि सुवेदी फेसबुक स्टाटसमा लेख्छन, ‘म सरोज खनाललाई नेपालका कलाकारमध्ये बौद्धिक,सामाजिक र सुसंस्कृत मान्थें । त्यो भ्रमबाट आज मुक्त भएको छु । उहाँसित चुनौति फिल्म निर्माणताका सामान्य चिनजान थियो । तर लामो अमेरिका बसाइपछि वहाँले बिर्सेका कारण अहिले परिचय नवीकरण भएन । अहिले आएर राष्ट्रपति निवासमा कमोडमा फोटो सेसन गरेर राष्ट्रपति कार्यालय स्वयं राष्ट्रपतिको हुर्मत लिने काम निन्दनिय छ । एउटा परिवर्तनचेत भएर मैले गर्दै आएको सम्मान बेक्कार रहेछ ।’
यसैगरि अर्का एकजना टेलिभिजन पत्रकारले फेसबुक स्टाटसमा लेखेका छन, ‘यदि आयोजकले सरोज खनाललाई कमोडमा लगेर बस्न दिएका भए आयोजकलाई कारबाही गर्नुपर्छ , हैन यदि सरोज खनाल आफै कम्बटमा बसेर फोटोसेसन गरेको भए उनीमाथि कारवाही हुनुपर्छ ।

यो बिषयमा सरोज खनालको स्पष्टोक्ती पनि विरोधाभास देखिएका छन् ।सरोज खनाल फोन आएपछि घन्टौ शौचालयमा बस्ने गरेका तथ्यहरु पनि बाहिरिएका छन् । जे होस दौरा सुरुवालमा सजिएको व्यक्ति शौचालयको कम्बटमा बसेर तस्विर सार्बजनिक गर्नु चाहिं पक्कै राम्रो काम हैन । या त यो काम उनले दिर्घसेवा पदक नपाएको झोकमा गरे या मान भाउ नपुगेर गरे उनलाई नै थाहा होला जे गरे नराम्रो गरे ।

पोष्ट भएको तस्विरमा एक जना महिलाको व्याग पनि देखिन्छ । जसले सरोज खनाल प्रति पनि प्रतिप्रश्न गर्ने थुपै स्थान दिएको छ । महिला कलाकारले मेकअप गर्ने स्थानमा किन छिरे सरोज खनाल ? उनी आफैं आयोजकले राखेको ठाउँमा नबसेर बन्द गरेर राखेको शौचालय खोज्दै जाँने अनि तस्विर खिचेर सामाजिक सञ्जालमा राख्ने कतिको उचित कार्यहोला ? कुनै पनि कार्यक्रममा सवैलाई मञ्चमा राख्न असम्भव छ । व्यवस्थापन पक्षबाट पक्कै पनि केही कमि कमजोरी भए होलान तर पनि सरोज खनालले कम्बोडमा फोटो सेसन गरेर राष्ट्रपति कार्यालय र स्वयं राष्ट्रपति कार्यालयको हुर्मत लिने जुन काम गरेका छन त्यो एकदमै निन्दनीय छ । उनले गरेको अनर्गल प्रचारले राष्ट्रिय चलचित्र पुरस्कार नै छायाँमा पर्यो । यो चानेचुने कार्यक्रम थिएन तीन तीन बर्षसम्म हुन नसकेको कार्यक्रम सम्पन्न हुँदा पनि सरोज खनालकै तस्विरले कार्यक्रमलाई छायाँमा पारेको पक्का होे । जे होस अहिलेको घटनालाई लिएर आगामी दिनमा सबैले पाठ सिक्नैपर्छ । अन्तमा आफूलाई राष्ट्रको गहना भन्न रुचाउने खनाल जस्ता बौद्धिक व्यक्तित्वलाई यो सव नौटंकी गर्न सुहाउदैन थियो कि ?

तपाईंको प्रतिकृया