भूपी शेरचन

हो, म एक्लै छु, तर, मेरो साथ दिने
मसँगै सिङ्गै, अँध्यारो रात छ,
झ्यालसम्म नाँङ्गिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेंलो पात छ ।

हो, म एक्लै छु………

आकाशको बादल नबर्स व्यर्थै
मेरो आफ्नै आँखामा बर्षात् छ ।
चटयाङ् सित्तैमा नझर तिमी
मेरै मुटुभरि बज्राघात छ ।

हो, म एक्लै छु……….

मलाई दयाले नहेर बाबु सा’बहरू
तिम्रोभन्दा मेरो क्या ठाँट छ ।
बाँचून्जेल आकाशको नीलो छानो छ,
मरेपछि आर्यको घाट छ ।

हो, म एक्लै छु, तर मेरो साथ दिने
सिङ्गै अँध्यारो रात छ ।

२३/६/२०४४
२.१५ बजे बिहान।

(पाण्डुलिपि साहित्यिक मासिकबाट साभार)

तपाईंको प्रतिकृया