म भित्रको म ,

मलाई दनदनी दन्किरहेको
आगोको ज्वाला मनपर्छ।।
जहाँ कच्चा कलिला तिनै
चिरागहरु एउटै ज्वालामा
सल्किरहेका हुन्छन् ।।

म हरेक दर्दनाक चित्कारहरु
सहजै समाल्न र सुन्न सक्छु
जुन चीत्कार मैले कयौं पटक
आफैंले गीत झैँ भाका हालेर
चिच्याउदै कुदेकि छु ।।।

जिन्दगीमा कति माघ आए
तरपनि म जाडोले लुग लुग
कामेकि छैन किनकि म भित्र
विरह अग्निको ताप त्यो आगो
झैँ ज्वाला फ्याँक्दै उर्लेको छ
र त्यो जाडोलाई भस्म बनाउने
क्षमता राखेको छ ।।

वैशाख त मेरा लागि शत्रु नै भयो
किनकि वसन्तका नयाँ पल्लवी
मेरा जिवनमा कहिल्यै आएनन्।
मात्रै फागुनको खडेरीले सुख्खा
मरुभूमि झैं भएको छ मेरो आत्मा ।।

भदौरे झरी सँग मैले नाता जोडेकि छु
किनकि म आफैं आँखा बाट दिनरात
वर्षा बनी दर्किदिन्छु ।।

जिन्दगीका कयौं दशैंहरुमा उमारेका
पहेँला जमरा र राता अछेताहरु
मेरा अतीतका याद बल्झाउन आउछन्
त्यसैले त म पुराना घाउहरु लिङ्गे पिङ
मच्चाउदै सरररर गगन चुम्न खोज्छु
जहाँ घृणाले कोट्याएका घाउ फेरि
हावाको सिरेटोमा अरु दुख्न थाल्छन्।।

मलाई दर्द मनपर्छ मैले वेदनाका बिज
रोप्दै पहेँला सुनाखरी झैँ आत्मा भित्रको
फुलबारीमा फुल ढकमक्क फुलाएकी छु।

खै के मंसिरको कुरा गरौं जुन दिनले
आजसम्म मलाई बन्धक बनाएको छ
जहाँ जिन्दगीको माखेसाङ्लोले
कहिल्यै नछुट्ने गरि बाँधी राखेको छ।।

त्यसैले मलाई ऋतु परिवर्तनमा चैतको
भन्दा फागुनको खडेरी नै मनपर्छ
किनकि त्यहाँ न कुनै आउने डर न त
जाने नै डर हुन्छ ।।

सुचिता काफ्ले
काठ्माण्डौ सुकेधारा ,

तपाईंको प्रतिकृया