[शुकदेव थपलिया काभ्रे]जेठ-असारको चर्काे उदेक लाग्दो घाम, त्यही माथी दिउँसो १२ बजे, उनीहरू बाहिर समेत निस्कँदैनन् जो आफूलाई सम्पन्न वर्गको मान्दै आएका छन् । उनीहरूलाई केही मतलब हुँदैन न त कुनै सन्ताप नै केवल मतलब हुन्छ त शरीरलाई कसरी आराम मिल्छ ! त्यतिबेलै जनरअन्दाज लगाउँदा शहरको केही त्यस्ता जमात सम्झदा लाग्छ उनीहरूमध्ये केही त फ्यान चलाएर मस्त सुतेका हुँदा हुन त केही कसरी अझै धेरै सम्पत्ती जोडुँ भन्ने ध्याउन्नमा हुँदा हुन् ।

तातो मन लिएर तातै हावा, तातो ढुंङगा, तातो शरीर लिएर तातिँदै उनीहरू एकाग्र थिए आफ्नो काममा । त्यही चर्काे घाममा खुईय गर्दै पसिनाको धारा निकाल्दै हम्मर हातमा लिएर ढुङंगामा बजार्दै थिए केही स्थानियवासी आफ्ना हातहरू । केही आफ्नै भाषामा गफिँदै हातलाई पनि मुख जतिकै छिटो चल्मलाईरहेका थिए भने केही डोकोमा ढुंगा ओसारेर ल्याउँदै खनाउँदै थिए । सबै दृश्य हेर्दा लाग्छ रुख घारी भित्र एउटा छुट्टै हाट बजार लागिरहेको छ । मानिसहरू ओहोर दोहोर गरिरहेका र हल्ली खल्लीले त्यसको संकेत गर्छ । तर संकेतानुसार यही पंक्तिकारले हलचललाई नियाल्न पुग्दा दृश्य हाटबजारको नभई निर्माण सामाग्री संकलन गरिरहेको देख्छ ।

खानीखोला गाउँपालिकाको केन्द्र स्थित ५ नम्बर वडाको खहरेमा निर्माण हुन लागेको प्रहरी चौकी ताल्ढुंगा लाई निर्माण सामाग्री गिटी संकलनका लागी निर्माण पक्षले स्थानिय जनस्तरलाई आग्रह गरेपछि उनीहरू निर्माण साम्रागी संकलनमा जुटेको हुन् । प्रति बोरा गिटि एक सयका दरले लिने भएपछि उनीहरू आफ्नो नियमित कामलाई छोट्याएर यता व्यस्त रहने गरेको भेटिन्छन् । एकल महिला, बालबालिका भएका महिला, दलित समुदाय , निम्न बर्गिय परिवारका सदस्यहरू, स्कुले विद्यार्थी, ६० बर्ष नाघेका केही बृद्ध समेत गिटि कुट्दै गरेको भेटिन्छन् । दिउँसोको अचाक्ली गर्मीमा खहरे खोला किनारमा यि दृश्य नियाल्दै गर्दा भेटिएका थिए एक पाँच बर्षिय बालक पनि । उनको कलिलो कलम समात्ने हातमा आमासँगै सानो हम्मर हातमा थमाईएको थियो भने खुट्टा नाङगो थियो । उनले पनि सकि नसकी असिन पसिन गर्दै ढुंगामा हम्मर बजार्दै आफ्नो क्षमता देखाई रहेका थिए ।

अर्काे अचम्म लाग्दो दृश्य त पंक्तिकारले पटक– पटक देख्दै आएको थियो । त्यो के हो भने मदिरामा लठ्ठ, तासको खालमा लिप्त, आपसी गाली गलौजका शब्द सहित झै झगडा, रातभर रक्सीमा भट्टीको यात्रा । यि त केही जमातले यस क्षेत्रको बिशेषताको रुपमा चिनाउन समेत पछि पर्दैनन् । सोही दिन खहरे खोलाको दृश्य पछि लगत्तै पंक्तिकार केही सितलताको खोजीमा कुनै होटलभित्र छिर्छ । त्यहाँ पुग्दा अचम्म लाग्दो दृश्य देख्छ कि त्यही गिटि कुट्ने परिवारमध्ये केही घरमुली वियरसँग तासमा हजारौँ रुपियाँ मिल्काई रहेका भेटिए । श्रीमती छोरी गिटि कुट्ने बाऊ तास र वियरमा दैनिक हजारौँ सक्ने केही जमातको दैनिकी भित्रै पर्छ भन्ने कुरा पंक्तिकारले २९ महिना लामो बसाईका क्रममा गरेको केही अध्ययनले तथ्य सहित पुष्टि गरिदिएको छ ।

गिटि कुटाईबाट अहिले विद्यालय विदाको समय, विहान बेलुकीको समय समेत पारेर जनविकास माविमा अध्ययनरत केही छात्र छात्राहरूले पढाई खर्च समेत जोहो गर्न भ्याएका छन् । १२ कक्षा पास गरेकी अनिता आचार्य पनि आफ्नो दैनिकी यसरी नै बिताउँछिन् । भन्छीन्– योग्यता अनुसार रोजगार प्राप्त गर्न कठिन छ, अहिले खाली समय उस्सै बिताउनुभन्दा यसरी काम गरेर भए पनि केही आम्दानी गरौँ भनेर यता काम थालेको छु ।

२०५० सालमा नेपाली काङंग्रेसबाट गाविस अध्यक्ष हरि बहादुर बलले स्थापना गरेका प्रहरी चौकी वाग्मती जलाधारमा सारेको थियो । नेपालमा दुवन्द चर्कदै गएपछि २०५७ मा प्रहरी चौकी उठ्यो । पुन २०६२ सालमा प्रहरी चौकी स्थापना गरि वन कार्यालय खहरेमा बसेको थियो । खहरेमा पनि प्रहरी बाडी पीडित भनेपछि सामुदायिक भवनमा रहँदै आएको प्रहरी चौकी हाल नेत्र बहादुर पौडेलको व्यक्तिगत घरमा खानीखोला गाउँपालिकाले भाडा दिएर राख्दै आएको छ । अब भने खहरे खोला नियन्त्रणको कामले तिब्रता पाएसँगै प्रहरी चौकी भवन बन्ने पक्का भएको छ । त्यसको लागी गाउँपालिकाले विभिन्न निकायमा कागजी प्रक्रिया पूरा गरिसकेको जनाएको छ । निर्माण कार्याको लागी टेण्डर प्रक्रिया समेत गरिसकेको र निर्माण कार्यलाई तिब्रता दिने बिषयमा सरोकारवालाहरूसँग छलफल भईरहेको बताईन्छ ।

गाउँमै अबसर पाए विदेश केलाई जानु भन्दै गाउँमै केही निर्माण कार्याको अनुभव समेत बटुलेका दिनेशले उनीहरूले कुटेका गिटीलाई आफूले लिने गरेको बताए । भन्छन् – गाउँमा स्रोत हुँदा हुँदै बाहिरबाट निर्माण सामाग्री ल्याउँदा गाउँलाई केही फाईदा हुँदैन कम्सेकम स्थानिय स्तरमै भएको निर्माण सामाग्री गिटि, बालुवा ढुंगा जस्ता सामाग्री मात्रै निकासी गर्न सकियो भने स्थानियलाई पनि केही रोजगारीको बातावरण हुने छ । गाउँपालिकामा अब पालिका भवन, विभिन्न वडाका कार्यालय, अस्पताल लगायतका भवनहरू बनाउदा स्थानियको श्रमको समेत सम्मान गरिनुपर्छ उनले भने ।

तपाईंको प्रतिकृया