[जनार्जन पौडेल]आज दिउसो कमेडियन आर्टिस्ट प्रनेश गौतम प्रहरी हिरासतमा भन्ने शिर्षकको समाचार पढेपछि मलाई करिव एक बर्ष अघिको एउटा घटनाको याद आयो र लेख्ने जमर्को गर्दैछु ।  पक्कै पनि म जस्तै पत्रकारितामा लागेको साथिभाइलाई केही काम लाग्न सक्छ । प्रसंग एउटा सिनेमाको बारेमा समाचार लेखनको हो । भर्खर भर्खर अनलाईन पत्रिका सञ्चालन गर्न सुरु गरेको कारण कहाँ कुन क्षेत्रमा जाँदा बिज्ञापन पाइन्छ भन्ने ध्यान रहन्थ्यो । एकदिन बिहानै एकजना निर्माताको फोन आयो कहिल्यै फोन नगर्ने उनले मलाई फोन गरेका रहेछन सिनेमाको शुभ मुहुर्तका लागि समाचार संकलन गर्न । म दंग परेर क्यामेरा बोकेर गएं स्पोर्टमा पुगेपछि थाहा भयो निर्माता निर्देशक अनि कलाकार सवै चिनजानकै रहेछन् । खुशी लाग्यो नरिवल फुटाएर सिनेमाको शुभ मुहुर्त भयो त्यसपछि एउटा रेष्टुरेन्टमा गएर हल्का खाजा खाएर घरतिर आइयो । त्यतिखेर दुवै निर्देशक निर्माताले एउटै आवाजमा भने तपाईले हामीलाई सहयोग गर्नु पर्यो तपाइको अनलाईनलाई बिज्ञापन उपलव्ध गराउने जिम्मा पनि हाम्रो भयो । ति निर्माता भनाउदाले चाहि केही दिन अघि पनि मसंगै भेटेर मिडिया चलाउन आफूले सहयोग गर्ने भनेर ठूल्ठूला कुरा गरेका थिए ।

यसपछि सिनेमा सुटिङमा पनि गयो शुभारम्भ देखि सुटिङसम्मका सिनेमाका बारेमा लेख्न मिल्ने जति लेखेर समाचार पनि बनाइयो । ती बीच बीचमा निर्देशकद्धारा इरिटेड गर्ने काम पनि नभएका हैनन कहिले क्यामेराम्यानलाई निकालिदिए अर्को नियुक्ती गरें समाचार बनाउनुस भनेर दवाव दिएको छ त कहिले अरु नै कुरा भनेर । यी सव सहँदै थिए तर, उनले भने जस्तो क्यामेराम्यानलाई निकालेको समाचार भने लेखिन । समय वित्दै गयो सिनेमाको सुटिङ पनि सकियो अव सिनेमाको फस्ट लुक सार्वजनिक गर्ने काम भयो । फस्ट लुक त बनेर आयो तर मेरो मिडिया बाहेक अन्य मिडियालाई मात्र मिडिया पार्टनर भनेर लेखेर आयो । म छक्क परें र तुरुन्त फोन गरेर भनें मैले त सिनेमा शुभमुर्हुत देखि नै समाचार हाल्दै आएको थिएँ नि अनि मेरो पत्रिकाको नाम त मिडिया पार्टनरमा छुटाउनु भएछ त ? निर्देशकले प्रत्युतरमा भने जनार्जनजी यस पटक यस्तै भयो नरिसाउनुुस पोस्टर बनाउन जाँदा बत्ति गएर तपाइको मिडियाको नाम छुट्यो पछि सिनेमा रिलीज हुने समयमा राखौंला । अव यतिखेर मेरो मन यति कुडियो कि त्यसको कुनै हिसावै छैन ।  त्यसपछि पटक पटक ति निर्देशकले फोन गर्दै गए तर मैले न  फोन नै रिसीभ गरिन कल व्याक नै गरें ।

यो दुनिया कति धेरै स्वार्थी छ भन्ने कुरा मैले त्यतिखेर मात्र थाहा पाएँ । आफू प्रयोग भएको अनुभुति पहिलो पटक भयो । काम चाइन्जेल भाँडो काम सकिएपछि ठाँडो भन्ने उखानको चरितार्थ भएजस्तो भान भयो । मैंले यतिधेरै सहयोग गरेको कमसेकम मेरो मिडियाको नाम मात्र भएपनि त प्रचार हुन्छ भनेरै हो । यो त कुरा थियो फस्ट लुक सार्वजनिकको !  पछि ट्रेलर सार्वजनिक र सिनेमा सार्वजनिकका रमाईला प्रसंग बाकी नै छन् । आफ्नो मात्र स्वार्थ हेर्नुहुन्न यो मेरो पेशा हो त्यो पनि मेरो अन्तरआत्मादेखि गरेको मैले गर्नै पर्छ भनेर पहिलो गीत सार्वजनिक हुँदा र ट्रेलर सार्वजनिक हुँदासम्म चाहिँ गइदिएँ तर सिनेमा रिलिजको समयमा भने न गए न कुनै समाचार नै लेखें । यसको कारण जान्न चाहनुहुन्छ तपाइ ? पक्कै पनि लेखि सकेपछि पुरै घटना बताउछु पढ्दै जानुस । मैले यहाँ ती निर्माता निर्देशकको नाम पनि किटान गर्न सक्थें तर कसैको पनि व्यक्तिगत जीवनमा असर पर्ने कुरा गर्नु हुदैन भनेर नाम उल्लेख गर्न चाहिन । ती मित्रहरुले पक्कै पनि यो न्यूज हेर्छन हेरेर एकपटक मम चाहिं पक्कै भन्नुहोला ।

मिडियाको नाम फस्ट लुकमा नराखेको सम्म त सहेरै आएको थिएँ । अव पालो आयो सिनेमा रिलीजको , सिनेमा रिलीज हुने समय आयो प्राय सवैजसो अनलाईन र पत्रपत्रिकामा त्यो सिनेमाको विज्ञापन आयो । भर्खरै खुलेका नयाँ अनलाईनमा समेत आयो । केही चिनेजानेका पत्रकार साथिहरुसंग बुझ्दा रकम समेत खुल्यो । मलाई अचम्म त के लाग्यो भने शुभ मुहुर्तदेखि रिलीजसम्म लगातार न्युज हाल्ने चाहिं म एक्लै मैले नै लेखेका न्यूजहरु अन्य पत्रिकाले हुवहु कपि गरेर हाल्थे अन्तिममा बिज्ञापन पाउने चाहिं अरुमात्रै । त्यसपछि म सिनेमाको प्रिमीयरमा पनि गइन । म प्रिमीयरमा पनि नगएपछि सिनेमा कस्तो बनेको छ भन्ने थाहा हुने त कुरै भएन । तर सिनेमा रिलीज भएको भोलीपल्ट निर्देशकको म्यासेज आएको थियो जनार्जनजी ……………..फिल्म हेरेर दर्शक धर्धरी रोए भनेर न्यूज लेखिदिनु पर्यौ ।  मैले प्रत्युतरमा भने सरी सर म यस्तो न्यूज लेख्न सक्दिन जवकी मैले सिनेमा नै हेरेको छैन रोए कि हाँसे कसरी थाहा पाउनु ? सिनेमा पनि सुपर फ्लव भयो एक हप्ता नि नपुग्दै हलबाट आउट भो । त्यसपछि ति निर्देशकको एक कल फोन पनि आएको छैन म्यासेज पनि आएको छैन ।

त्यतिबेला मैले फोनै गरेर निर्देशकज्यू सवैलाई बिज्ञापन दिनु भएछ मैले पनि यति धेरै सहयोग गरेको छु सानो तिनो बिज्ञापन मलाई नि दिनुपर्यो भन्दा उनी निर्मातालाई देखाउथें निर्मातालाई फोन गर्दा निर्देशक तिरै फर्काइदिन्थे । आज बल्ल उक्त कुराको रहस्य थाहा पाएँ । शायद म सिने क्षेत्रको पत्रकार भएको भए पहिल्यै उक्त कुरा थाहा हुने थियो होला तर, म सिने क्षेत्रको पत्रकार परिन त्यसैले बुझ्न सकिनछु । आज उक्त कुरा बुझेपछि मन मनै हाँसो उठिरहेछ र भन्न मन लागिरहेछ कि म पाँच हजारे पत्रकारको लिष्टमा परिनछु । साथै खुशी पनि लागिरहेको छ । वास्तवमा पाँच हजारे पत्रकार भएर समाचार लेख्नु छैन मलाई बरु सिनेमा क्षेत्रको एउटा पनि समाचार नलेख्दा पनि मेरो अनलाईन चल्छ । मन मनै सोचिरहेछु धन्न पाँच हजारे पत्रकार भइएनछ, बन्नु छैन मलाई पाँच हजारे पत्रकार ।

पाँच हजारे पत्रकारको अर्थ यस्तो रहेछ ।नेपालका निर्माताहरुले फिल्म बनाइसकेपछि त्यसको प्रचारको लागि निश्चित बजेट छुट्याउँदा रहेछन् ।  अनि त्यो बाँड्ने ठेक्का एक जना फिल्मी पत्रकारले लिंदारहेछन् ।  त्यो पत्रकार अलि चर्चित नै हुनेरहेछ । अनि उसले त्यो बिट भएका सबै पत्रकारहरुलाई पैसा बाँड्नेरहेछ – स्टायन्डर्ड रेट पाँच हजार रहेछ। त्यसैले यस्तो पैसा समाउने पत्रकारलाई पाँच हजारे पत्रकार भनेर भनिदो रहेछ । पाँच हजारे पत्रकारको काम चाहिं फिल्म जस्तो सुकै झुर भए पनि वाहवाह भनेर लेख्ने, फिल्मको प्रचार प्रसार गर्न सहयोग हुने खालको न्युज लेख्ने र भिडियो बनाउँने रहेछ । आज यो सव बुझेपछि मलाई लाग्यो पाँच हजारे पत्रकारको लिस्टमा नपरेकै जाती भएछ ।

धेरै धेरै धन्यवाद निर्माता/ निर्देशकज्यू अनि पाँचहजार बाँड्ने ठेकेदार पत्रकारज्यू किनकी पाँच हजारमा कसैको झुठो प्रशंसा र गुणगान गाउन मैंले पत्रकारिता गरेको हैन ।

तपाईंको प्रतिकृया