रुकुम
कुम पूर्वको भूमे गाउँपालिका–८ की अन्जु खड्का उमेरले २१ वर्षकी हुनुभयो। तर, उहाँ दुई सन्तानकी आमा भइसक्नुभएको छ। १७ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभएकी खड्कालाई दुई छोरी हुर्काउन समस्या छ। ‘१७ वर्षको उमेरमा विवाह गरें’, अञ्जुले भन्नुभयो– ‘१८ वर्षको हुँदा पहिलो नानी जन्मीयो अनि २० वर्षको हुँदा अर्को नानी जन्मियो।’ अन्जुका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ। अञ्जु मात्र होइन भूमे–८ कै वीरमाया खड्काले पनि १७ वर्षको उमेरमा विवाह गर्नुभयो। १८ वर्षको उमेरमा छोरा जन्मियो। हाल उहाँको उमेर २२ बर्षको भयो तर उहाँको ३ पटक गर्भ तुहिसक्यो। पहिलो बच्चा राम्रो भए पनि त्यसपछि स्वास्थ्यमा समस्या भएको वीरमायाले बताउनुभयो। अञ्जु र वीरमाया त एक प्रतिनिधि पात्र मात्र हुन्। रुकुमका अधिकांश ठाउँमा अझै पनि व्याप्त रहेको बालविवाहका कारण आमा र बच्चाको स्वास्थ्यमा दिनप्रतिदिन असर पर्दै गएको छ। सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका कारण उनीहरूको स्वास्थ्यमा समस्या सिर्जना हुँदै गएको स्वास्थ्यकर्मीको भनाइ छ।

यता रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ की धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो। धना १३ वर्षकी हुँदा उहाँका श्रीमान् वीरभान १५ वर्षका हुनुहुन्थ्यो। धनाका अनुसार विवाह गरेको एक वर्षपछि एउटा बच्चा र त्यसपछि दुई वर्षको अन्तरालमा लगातार ७ वटा बच्चा जन्मिए, तर तीन वटा बच्चाको स्याहार र उपचार पाउन नसकेपछि बचाउन सकिएन। धनाको श्रीमान् भारतमा गएर पैसा कमाउने गर्नहुन्छ। उहाँले भन्न्ुभयो– ‘श्रीमान्को कमाइले घर चलाउनै धौ–धौ भयो। कसरी छोराछोरी विद्यालय पठाउनु रु वरिपरिका हुनेखाने परिवारका बच्चाहरू त पढ्न जान्थे।

मेरा केटाकेटीले त पेटभरि खान पनि पाएनन्।’ कलिलै उमेरमा विवाह गरेका कारण रुकुमका यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ। बालविवाहका कारण पुरुषलाई आिर्थक भार बढ्न पुग्छ भने महिलाको शारीरिक, मानसिक विकास अवरुद्ध हुन जान्छ। अझ महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुने गरेको छ। बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यान समेत जाने गरेको छ। अधिकारकर्मी दुर्गा बजगाई बालविवाहले महिलामाथि हिंसा बढाइरहेको बताउनुहुन्छ। दुर्गा भन्नुहुन्छ– ‘सचेतनाको कमीले गर्दा वालविवाह रोकिएको छैन। अझै पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ।’ बालविवाहका कारण महिलाथि विभिन्न हिंसा भइरहेका छन्। मानसिक हिंसा, घरेलु हिंसा, यौन हिंसालगायतका हिंसा हुने गरेको अधिकारकर्मी बजगाईंको भनाइ छ। कानुनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरी शारीरिक र मानसिकरुपमा परिपक्व हुन्छन्।

उनीहरूमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ। उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबैखाले समस्या हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। बालविवाह अन्त्यका लागि थुप्रै कानुनी तथा नीतिगत प्रावधान बनेका छन्। संविधानले कानुनविपरीत कार्य गर्नेलाई सजाय गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ। बालविवाह न्यूनीकरणका लागि थुप्रै संघ संस्था लागिपरेका भए पनि बालविवाह हुने क्रम नरोकिएको बालअधिकार अधिकृत मानवीर ओलीको भनाइ छ। बालअधिकार अधिकृत ओलीले जनचेतनामूलक कार्यक्रमलाई अझै तिब्र बनाउनुपर्नेमा जोड दिनुभयो। मुसिकोट नगरपालिकाका १६ स्थानमा करिब १ हजार ५ सय किशोरकिशोरीसँग बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम भइसकेको बालअधिकार अधिकृत ओलीले जानकारी दिनुभयो। उमेर नपुगी भएको विवाहलाई गैरकानुनी र दण्डनीय कार्यका रुपमा परिभाषित गरिएको छ तर, समाजमा अझै पनि बालविवाहको अभ्यास हँुदै आएपछि बालविवाह न्यूनीकरणका लागि काम गर्ने सरकारी तथा गैरसरकारी निकायलाई चुनौती थपिएको छ।

तपाईंको प्रतिकृया