भीमदत्तनगर,
साठी वर्षीया हेमादेवी केसी प्रचण्ड गर्मीलाई समेत बेवास्ता गर्दै शनिबार महाकाली नदीको किनारमा बालुवा÷गिट्टी छानिरहेको अवस्थामा भेटिनुभयो । परिवारको आश्रयमा रमाउँदै विश्राम लिनुपर्ने बेलामा नदीको तातो बालुवासित सङ्घर्ष गर्नु उहाँकोे बाध्यता हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली किनारमा झुपडी बस्दै आउनुभएका हेमादेवीले बालुवा र गिट्टी सङ्कलन गरेर बिक्री गर्दै आएको नौ वर्ष भयो । छोरा–बुहारी भए पनि उहाँ लामो समयदेखि एक्लै बस्नुहुन्छ । “छोरा भारतमा काम गरेर मासिक २५ हजार भारु कमाउँछ रे ।” उहाँले भन्नुभयो,“छोराबुहारी सुखले बसे पनि मेरो यो हाल छ । ज्वरो आउँदा पनि नाङ्गा हातले गिट्टी सङ्कलन गरिरहनुभएकी हेमादेवी बगरमा भएको कमाइले आफ्नो खर्च टार्दै आएको बताउनुहुन्छ । “घरमा खाली बस्नुभन्दा चिनी÷चियापत्ती खर्च त हुन्छ भनेर महाकालीमा दैनिक आउँछु ।” उहाँले भन्नुभयो,“अब जेठपछि त पानीको बहाव बढ्छ, काम पनि गर्न सकिँदैन ।”


एक सातासम्म सङ्कलन गरेपछि ट्र्याक्टरको एक ट्रली बालुवा बिक्री गर्न सकिने हेमादेवीको भनाइ छ । ‘नदीजन्य वस्तुको मूल्य तलमाथि भइरहन्छ ।’ उहाँले भन्नुभयो,“गिट्टी रु एक हजार २००देखि रु दुई हजारसम्ममा बिक्री हुन्छ ।” त्यसैगरी बेलौरी नगरपालिका–२ कञ्जका ६५ वर्षीय ठग्गु राना श्रीमती मिठ्ठुलाई लिएर सात महीनादेखि महाकालीमा गिट्टी र बालुवा छान्दै हुनुहुन्छ । “बुढेसकालमा सुखसयलले बसौला भन्ने त सपनाजस्तै भो ।” गत कात्तिकदेखि महाकालीमा मजदूरी गर्दै आउनुभएका उहाँले भन्नुभयो,“छोरीले यहाँ मजदूरी गर्न लिएर आएकी हो ।” “कान्छो छोराको घरमा बस्दै आएको थिएँ।” उहाँले भन्नुभयो,“के गर्ने हजुर पेटका लागि दुखः गर्नुपर्ने रहेछ ।”ठग्गुका कान्छा छोरा भने मिस्त्रीको काम गर्छन् । ‘छोरी यहाँ नाति÷नातिनीसहित बगरमा काम गर्छे ।’ उहाँले भन्नुभयो,“आफूसित भएको छ कठ्ठा जमीनमा परिवारको खर्च धान्न सकिँदैन ।”दोदा नदी छेउमा रहेको जमीनसमेत कटान गरिरहेकाले कटान नियन्त्रण नभए बाढीको शिकार हुने चिन्ताले सताउने उहाँको गुनासो थियो ।

नदीमै मजदूरी गर्दै आउनुभएका भीमदत्तनगरपालिका– १२ का ४६ वर्षीय शम्शेर सुनाहको दिन पनि नै महाकालीमै बित्छ । श्रीमतीसहित नदीमा बालुवा÷गिट्टी सङ्कलन गरिरहनुभएका उहाँले आफ्नो परिवारको खर्च नै महाकालीको मेहनतबाट टरेको बताउनुभयो । “यहाँको कमाइले छोराछोरीको पढाइ र घरको खाद्यान्न खरदिमा पुगेको छ ।” उहाँले भन्नुभयो, “बुबा÷बाजेका जीवन महाकालीमै माछा मारेर दिन बिते, हामीले भने बालुवा बेच्नुपरेको छ ।” भीमदत्तनगरपालिकामा छरिएर रहेका सुनाहा जातीका अधिकांश बासिन्दा महाकालीमा मजदूरी गरेर परिवारको जोहो गरिरहेको शम्शेर सुनाहाको भनाइ थियो । सोही स्थानमै १७ वर्षदेखि परिश्रम गर्दै आउनुभएका ऐरीका बलराम सुनाहाले पनि घर व्यवहार बालुवा÷गिट्टी सङ्कलनबाटै चालउँदै आएको बताउनुभयो । आर्थिक स्थिति नाजुक हुँदा उमेरमा पढ्न पाइएन अहिले महाकालीको बगर रोजगारीको गन्तव्य बनेको बनेको उहाँको भनाइ थियो । उक्त किनारको तटीय क्षेत्रमा विभिन्न क्षेत्रका बासिन्दा मजदूरीका लागि यहाँ ओइरेका छन् ।
रासस

तपाईंको प्रतिकृया