वसन्त चौधरी

नयाँ वर्ष आएको छ
पुराना सम्झनालाई लट्पट्याउँदै
के गरूँ म
आफ्नो शुभकामनालाई
जुन,
तिम्रो लागि सांचिबसेको छ ।

तिमीलाई छ शुभकामना !
तिम्रो लागि जीवन
एउटा बैसालु सपना बनोस
कलकल गर्ने,
एउटा खोला बनोस ।

तिमीलाई मात्रै होइन
शुभकामना ती आँखालाई
जुन अब,
कुनै अरु दृश्यलाई हेरेर
रमाउँछन् ।
तिम्रा स्नेहिल पाखुरालाई
जुन माँसल बनेर अब,
कुनै अरु खुशीयालीलाई
समाउँछन् ।

ओठहरुलाई पनि छ
शुभकामना !
जहाँ मैले छापेको माया,
अब पुछिएझैं लाग्छ ।
जसरी मलाई
मेरो हर सपना,
चारैतिर,
लुछिएझैं लाग्छ ।

म इश्वर होइन
लाख गल्ती गर्न सक्छु
तर किन हो
चाहेर पनि,
तिमीलाई बिर्सिने गल्ती,
कहिल्यै हुन सकेन ।
मैले आफुलाई चोट दिएर पनि हेरें
तर कुनै पनि चोटले
मुटुभित्र बसेको तिम्रो मूर्तिलाई,
छुन सकेन ।

तिमिलाई शुभकामना दिंदा
यहि फरक देख्छु म
नयाँ वर्षले छोएर
अरुलाई त,
यसले झन युवा पार्छ
मुटुमा उन्माद-हरियाली उमार्छ
तर,
मलाई भने नछोएरै,
वृध्दतातिर घचेटीदिन्छ
बसन्तको जिन्दगीलाई
पिडै पिडाले रेटीदिन्छ ।

उनको फेसबुक पेजबाट साभार

तपाईंको प्रतिकृया