काठमाडौं । तारागाउँ विकास समितिले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई जग्गा र सेयर गर्दा भएको अनियमितता छानबिन गर्न संसदीय समितिले निर्देशन गर्ने भएको छ । संसदीय समितिले करिब चार महिना लगाएर गरेको छानबिन प्रतिवेदनमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विभिन्न आठवटा पाटाबाट छानबिन गर्न निर्देशन दिएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गठित उपसमितिले तारागाउँ विकास समितिको जग्गा हस्तान्तरण, लिज, सेयर र भवन निर्माणमा अनियमितता भेटिएको भन्दै कारबाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिन सिफारिस गरेको छ । योजनाबद्ध रूपमै गैरकानुनी ढंगले सुरुमै तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडबीच जग्गा सम्झौता भएको उपसमितिको ठहर छ । सांसद अग्नि सापकोटा संयोजक रहेको उपसमितिले अनियमितता निष्कर्ष निकालेर प्रतिवेदन समितिलाई बुझाइसकेको छ । कम्पनीले बौद्धस्थित १ सय ४८ रोपनी भाडामा एवं सोही ठाउँको थप १ सय ५० रोपनी सेयरस्वरूप लिने सम्झौता गरेको थियो । कुल २ सय ९८ रोपनी यो जग्गाको वर्तमान बजार मूल्य २५ अर्बभन्दा बढी पर्छ । पर्यटन मन्त्रालयले तारागाउँ विकास समितिका अध्यक्षको संयोजकत्वमा गठन गरेको छानबिन समितिले पनि निजी साझेदारहरूले अस्वाभाविक नोक्सानी देखाएर चलखेल गरेको निष्कर्ष निकालेको थियो ।

छानबिन उपसमितिले अनुचित तबरले मालपोत ऐन, ०३४ प्रतिकूल हुने गरी तारागाउँ रिजेन्सी होटल लिमिटेडलाई तारागाउँ विकास समितिले हक हस्तान्तरण गरी दिएको १ सय ५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउनका लागि नेपाल सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने ठहर गरेको छ । २९ वर्षका लागि मात्र लिजमा दिनेगरी समितिको सञ्चालक समितिबाट निर्णय भएकोमा लगत्तै सो निर्णय संशोधन गरी ४९ वर्षका लागि लिजमा दिइएको बनाइएको थियो ।

तारागाउँ विकास समितिको १ सय ५४ रोपनी जग्गासमेत प्रतिरोपनी रु १० लाखकै दरले तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाममा हक हस्तान्तरण गरी दिने र सो रकमबाट होटलको हकप्रद सेयर खरिद गर्नेगरी गैरकानुनी सम्झौता गरी समितिको सम्पूर्ण जग्गा हडप्ने उद्देश्य राखी गरिएको गैरकानुनी लिज सम्झौता प्रक्रिया पु¥याइ रद्द गर्ने र यस क्रममा होटल र समितिका पदाधिकारीहरूले अख्तियारको दुरुपयोग गरेको देखिँदा यस विषयमा छानबिन गर्न पनि भनेको छ । यसैगरी, उपसमितिले सेयर स्वामित्व सुरु सम्झौतामा उल्लेख भएभन्दा घटाएको मितिमा छानबिन गर्नुपर्ने, होटल्स लिमिटेडकै नाममा जग्गा रजिस्ट्रेसन पास गरी दिएको विषयमा पनि छानबिन गर्न निर्देशन दिनुपर्ने सुझाब दिएको छ । वैदेशिक लगानीको विषयमा कुन–कुन बैंकमार्फत कुन–कुन मितिमा के–कति होटलको बैंक खातामा जम्मा भए नभएको विषयमा छानबिन गर्नुपर्ने ठहर गरेको छ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड निर्माणको लागत सुरु सम्झौता पत्रमा उल्लेख भएभन्दा अत्यधिक मात्रामा वृद्धि भएको विषयमा छानबिन गर्ने, कर र अन्य प्रयोजनका लागि छुट्टाछुट्टै लेखापरीक्षण प्रतिवेदन तयार गरे÷नगरेको विषयमा छानबिन गर्ने उल्लेख गरेको छ ।

४९ वर्षका लागि समितिको जग्गा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई लिजमा दिने, लिजमा दिएको जग्गासमेत तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको नाममा हस्तान्तरण गरी दिइए होटेलको हकप्रद सेयर खरिद गर्नेसमेत विषयको समितिको सञ्चालक समितिको निर्णय प्रमाणित नभएको विषयमा छानबिन गर्ने र सरकारको सेयर स्वामित्व भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई घाटामा गएको देखाइ सरकारलाई गैरकानुनी हानी नोक्सानी र आफूलाई गैरकानुनी लाभ पु¥याएको विषयमा छानबिन गर्न निर्देशन दिनुपर्ने उपसमितिले प्रतिवेदन समितिलाई बुझाएको छ ।

विवाद सल्टाउन नेकपाका नेता सक्रिय

पछिल्लो समय तारागाउँका विषयमा छानबिन संसदीय समितिमा पुगेपछि त्यो मिलाउन भन्दै नेपाल कम्युनिस्ट पार्टी एक नेता लागेका छन् । सरकारी सम्पत्ति हत्याउन लागेको आरोप लागिरहेको पाँचतारे होटल हायातको परामर्शदातामा नियुक्त नेकपाका नेता तथा पूर्वसामान्य प्रशासन राज्यमन्त्री जितु गौतम सक्रिय रहेका छन् ।

माधवकुमार नेपाल ०६६ सालमा प्रधानमन्त्री हुँदा सामान्य प्रशासन राज्यमन्त्री रहेका गौतम एमालेका पूर्वकेन्द्रीय सदस्य पनि हुन् । उनलाई परामर्शदाताका लागि भन्दै मासिक एक लाख ७० हजार रुपैयाँ तलब दिनेगरी होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल लिमिटेडले नियुक्त गरेको स्रोतले दाबी गरेको छ । होटल व्यवस्थापनप्रति खासै अनुभव नभएका उनलाई मासिक त्यति ठूलो रकम दिनेगरी नियुक्त गर्नु आफैँमा आश्चर्यजनक रहेको छ ।

होटलको स्रोतका अनुसार गएको भदौमा नियुक्त पाएका उनको मुख्य काम भनेको राजनीतिक लबिङ गरी मुद्दा सुल्टाउनु हो । उनी तत्कालीन एमालेको जनवर्गीय संगठन उत्पीडित जातीय मुक्ति मोर्चाको अध्यक्षसमेत भएका थिए । यद्यपि, गौतमले भने आपूm राजनीति छाडेर पेसा व्यवसायमा लागेको बताउँदै आएका छन् । आजको सौर्य दैनिक मा खबर छ । 

तपाईंको प्रतिकृया