शुकदेव थपलिया /काठमाण्डौ
किशोर लक्षित उपन्यास उडान बजारमा आएपछि यसबारे परिचर्चा हुन थालेको छ । ‘उडान सबै स्कुलका पाठ्य पुस्तकमा समावेश गर्न सकिन्छ ।’ समीक्षक राजकुमार बानियाँले मंगलबार काठमाण्डौमा आयोजित उडानको एक अन्तरक्रियामा भने । उनका अनुसार नेपाली साहित्यमा किशार साहित्यको खडेरी परिरहेकोबेला उडान उपन्यास आउनु निकै राम्रो र सुखद् कुरा हो । नेपाल पुलिस क्लबको सभाहलमा भइरहेको काठमाडौं पुस्तक मेलामा किशोर किशोरीलाई लक्षित गरी लेखिएको उपन्यास ‘उडान’ माथि अन्तरक्रिया भएको छ । नेपाली साहित्यमा बालबालिका र प्रौढहरुका लागि मात्रै साहित्य लेखिएको भन्ने बेलाबेलामा आइरहेको गुनासोलाई चिर्दै ‘उडान’ बजारमा आएको छ । तिनै उडानमाथि समीक्षक बानियाँले बोल्दै भनेका थिए, ‘उडान चाहिँ पढिनु पर्ने उपन्यास हो ।’


‘किशोर किशोरीको मनोभावना र उनीहरुमा आउने परिवर्तनको अवस्थाका बारे उडानले केही हदसम्म बोलेको छ । उडानमा आजका किशोरहरुले आफ्नै अनुहार भेट्ने छन् भने किशोरावस्थाबाट गुज्रिसकेकाहरुले आफूलाई पूनः किशोर अवस्थामा पुगेको महसुस गर्नेछन् ।’ अर्का बक्ता निबन्धकार दीपक सापकोटाले बताए । दीपक सापकोटाका अनुसार उडान किशोर किशोरीले मात्रै पढ्ने पुस्तकको रुपमा लिन नहुने र आम पाठकले पढ्दा हुने बताएका छन् ।
आफूमा आइरहेको परिवर्तनको समयमा किशोरहरु जिज्ञासु हुन्छन् र त्यहीबेला बढी स्वतन्त्र पनि हुन चाहन्छन् । किशोर किशोरीका लागि स्वतन्त्रता पनि आवश्यक छ । जसबारे अर्का बक्ता विभु लुइटेलले आफ्नो टिप्पणी गरे । किशोर साहित्यमा कमै काम भइरहेको बेला यसमाथि काम हुनु प्रसंसनीय रहेको सबैले बताए । कवि नरेन्द्र नगरकोटीले उडानको अवधारणा पत्र प्रस्तुत गरेका थिए भने कथाकार दिनमान गुर्मछानले वक्ताहरुसँग अन्तरक्रिया गरका थिए । काभ्रेका विजय सापकोटाको यस अघि ‘अनावरण’ कथासंग्रह निकै रुचाइएको थियो । कविता, निबन्ध र कथा लेख्ने विजय सापकोटाको किशोर उपन्यास उडानले फेरि पनि पाठकको मन जित्नेमा दुई मत छैन भन्ने विश्लेषण गरिएको छ । उडान शाब्दिक बुक्सले प्रकाशन गरेको हो ।

तपाईंको प्रतिकृया