मलेसिया ।
उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् । भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् । उही मुद्धामा उनीसँगै थुनामा रहेकी अर्की इन्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भएपनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो । आफुलाई रिहा नगर्ने अदालतको घोषणापछि ती महिलाको मुद्धाले निरन्तरता पाउने भएको छ ।

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भिएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा हौङ र अर्की इन्डोनेसियाकी महिला सिती अल्स्यानलाई थुनामा राखिएको थियो । अदालतको निर्णय सुनेपछि अदालत परिसारमा रुँदै हौङ्ले भन्नुभयो, “म तनावमा छु, म निर्दोष छु, मलाई यो घटनाका बारेमा थाहा छैन, मेरोलागि मेरो परिवारले प्रार्थना गरिदिउन् ।”

इन्डोनेसियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरूले एउटा टीभी कार्यक्रमका लागि आफूहरू त्यहाँ गएको दावी गरेका छन् । मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथि आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उहाँको मृत्यु भएको थियो । क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृश्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिला गएको देखिएको छ । त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरूले बताएका छन् ।
रासस

तपाईंको प्रतिकृया