कैलाली। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राती चार पौने बजे बसमा आगजनी गरिएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको हो । यस्तै, सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिनुभयाे । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।

दुई ट्रकमा आगजनीको प्रयास

पश्चिम नवलपरासीमा विप्लव समूहले दुई वटा ट्रकमा आगजनीको प्रयास गरेको छ । नवलपरासीको सरावल गाँउपालिका वार्ड नं. १ बासा स्थित राजमार्ग छेउमा पार्किङ गरी राखिएको खाली ट्रकमा आगजनीको प्रयास भएको छ । राती साढे १ बजे ना ५ ख ७७४१ र ना ४ ख ६८२५ नम्बरका खाली ट्रकहरुमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । विप्लव समूहको बन्दले गर्दा काडमाडौं देखि धनगढीको लागि छुटेको खालि ट्रक बासा भन्ने स्थानमामा रोकेर राखिएको थियो । गाडी चालकहरुले बन्द खुलेपछि हिड्ने भनेर राती बासामै ट्रक रोकेर बास बासेका थिए । विप्लव समूहले आगजनी गर्न खोज्दा ट्रकहरुको टायरमात्रै जलेको छ । मानविय क्षति नभएको प्रहरीको भनाइ छ । नवलपरासीमा विहानै देखि बन्दले जनजीवन प्रभावित बनाएको छ ।

तपाईंको प्रतिकृया