[जनार्जन पौडेल] नेपाल सरकारको समृद्द नेपालको अभियानमा हामी ट्याक्सी मजदुर छुट्यौ कि ?  ? सरकार मैले सेवा चाहिं २०६९ सालको मुल्यमा दिनुपर्ने वस्तु खरिदचाहिं २०७५ सालको मुल्यमा गर्नुपर्ने यो त अन्याय भएन र  ? हिजोआज सडकमा यात्रा गर्ने जो कोहिले पनि यी नाराहरु देख्न सक्छन । हरेक ट्याक्सीको अगाडी र पछाडी लेखिएका छन यी नाराहरु । यी नारा पढेपछि सबैको मन चसक्क हुने गर्छ र यी माग जायज पो हुन कि झै पनि लाग्दछ । ट्याक्सी व्यवसायीका माग के कति जायज वा नाजायज आफ्नै ठाउँमा होला तर विरोध र आन्दोलनको शैलि भने एकदमै जायज लाग्दछ । आफ्ना जायज मागहरुलाई आम जनमानसमा पुर्याउन र सरकारको ध्यानाकर्षण गर्न टायर बालेर आन्दोलन नै गर्नुपर्छ भन्ने परिपाटीको अन्त्य गरेका छन उनीहरुले जुन एकदमै सराहनिय छ ।

नेपालमा विभिन्न संघ संगठनहरुले स साना माग राखेर कहिले सडक बन्द गराउँदै, कहिले जिन्दावाद मुर्दावादको नारा घन्काउँदै आएको हामिले देख्दै आएका छौं । यतिले मात्र नपुगेर विभिन्न निहँुमा नेपाल बन्दकै समेत आयोजना गरेर आम जनतालाई दुख दिने गरेका छन् । दुखका साथ भन्नुपर्ने हुन्छ नेपालमात्र यस्तो देश हो जहाँ चिकित्सकहरु बिरामी जाँच्न छाडेर,शिक्षकहरु विद्यालय बन्द गरेर,सरसफाइ गर्नेहरु फोहर नउठाएर आन्दोलनमा उत्रन्छन् । यतिमात्र नभइ अत्यावश्यकिय सेवा ग्यास,पेट्रोल बोक्ने देखि लिएर खानेपानी बोक्ने ट्यांकरले समेत आन्दोलन गरेर सेवा अवरुद्ध गरेका कयौ घटनाहरु हाम्रा सामु छन् । तर यहि देशमा ट्याक्सी व्यवसायिले यस्तो आन्दोलन गरेका छन जसको सराहना र समर्थन गर्न म मात्रै हैन तपाई पनि तयार हुनुहुन्छ । उनीहरुको आन्दोलनको शैलीले आज आम नेपालीको मन जितेको छ ।

प्रसंग ट्याक्सी व्यवसायीको आन्दोलनको, माथि उल्लेखित सवै वर्गको आन्दोलन भन्दा भिन्न किसिमको शिष्ट आन्दोलन गरेर श्रमजीबी मानिने ट्याक्सी व्यवसायी बढी मर्यादित र अनुशाशित देखिएका छन् । यसअघि ट्याक्सी व्यवसायीहरुले पनि सेवा अवरुद्ध नगरेका होइनन, सडकमै ट्याक्सी तेर्साएर पनि आन्दोलन गरेका थिए । तर यसपटकको उनीहरुको आन्दोलनको शैली हेर्दा उनीहरु डाक्टर,शिक्षक भन्दा पनि बुद्धिजीबी देखिएका छन् । उनीहरुका नारा देख्दा र पढ्दा जो कोहिको पनि मन छुन्छ  । उनीहरुको नारा पढ्दा बुझिन्छ कि व्यवसायीका पनि आफ्नै पिडा छन् । ट्याक्सी व्यवसायीहरुप्रति राज्यले विभेद गरेको हो भने तत्काले विभेदको अन्त्य गरिनु पर्दछ । यदि उनीहरुका मागलाई वेवास्था गरियो भने भोलिका दिनमा उनीहरुले पनि आन्दोलनको पुरानै शैली अपनाउन वाध्य हुनेछन् । यतिखेर ट्याक्सी चालकहरुले हामीलाई अन्याय भयो अत्याचार भयो भनेर माइतीघर घेर्ने, सडक जाम गर्ने, प्रहरीसंग मुडभेड गर्ने, नाराबाजी गर्ने, टायर बाल्ने जस्ता अराजक काम गरेका छैनन ।

केही समयअघि डा. केसीको अनसनको बेलामा अस्पतालका डाक्टरहरुले बिरामी जाँच्नै छाडेर आन्दोलन गरेको घटना हामीमाँझ ताजै छ । यतिखेर म ति तमाम डाक्टर साहेवहरुलाई भन्न चाहन्छु तपाइँहरुले ट्याक्सी व्यवयायिबाट केही सिक्ने कि ? अधिकार माग्नेले कर्तव्य पनि भुल्नहुन्न भन्ने कुरा यतिखेर ट्याक्सी व्यवसायिले सार्थक बनाएका छन् ।सडकमा टायर बाल्ने, आवतजावत नै प्रभावित हुने गरी नारा जुलुस लगाउने परिपाटी कत्तिपनि उपर्युक्त होईन भन्ने कुराको ज्वलन्त उदाहरण देखाएका छन् । समाजको शिक्षित भनिने चिकित्सक, शिक्षक लगायतले ट्याक्सी ड्राइभरबाट आन्दोलनको स्वरुप सिक्ने कि ?

ट्याक्सी ड्राइभरहरूका पनि थुप्रै कमि कमजोरी छन उनीहरु मिटरमा जान मान्दैनन यात्रुलाई मोलतोल गर्दछन् जसका कारण उनीहरुप्रति यात्रुहरु असन्तुष्ट पनि छन् । तसर्थ ट्याक्सी सेवालाई भरपर्दो बनाउन र भाडा दरको सधैंको किचलो समाधान गर्न सरकारले स्थायी समाधान निकाल्न ढिला भइसकेको छ ।भाडादर वैज्ञानिक भएन भन्ने ट्याक्सी चालकहरूको माग आफ्नो ठाउँमा सही नै होला ।यसका साथै उनीहरुले पनि आफ्ना बानी र व्यवहारमा सुधार्नुपर्ने कुरा पनि थुप्रै होला । तर पनि सरकारले समय अनुकुल भाडादर समायोजन गरिदिनु जरुरत भइसकेको छ । पार्टपुर्जा, तेलको भाउ तथा बजारका अन्य परिसूचकका आधारमा ट्याक्सी भाडादर बेलाबेलामा परिमार्जन पनि गर्नुपर्दछ । त्यसपछि उनीहरुलाई मिटरमा जान कडाइका साथ लागु गर्नुपर्ने हुन्छ । जे होस व्वयवसायी पनि मर्कामा पर्नु भएन र उपभोक्ता पनि ठगिनु भएन् । अन्तमा ट्याक्सी व्यवसायीको आन्दोलनको स्वरुप को पुन प्रशंसा गर्दै समस्या छिटो समाधान होस भन्न चाहन्छु ।

तपाईंको प्रतिकृया